आज : २०२६-०९-१९, शनिबार

राष्ट्रिय शिक्षा दिवस २०८३ : वडा स्तरीय शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

धादिङ । राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा गङ्गाजमुना गाउँपालिका–५ मा वडा स्तरीय शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ।

गङ्गाजमुना गाउँपालिका–५ वडा शिक्षा समितिको आयोजनामा भएको कार्यक्रम वडा शिक्षा समिति संयोजक तथा वडा अध्यक्ष कुमारबहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख नवराज अधिकारी रहेका थिए। कार्यक्रममा गङ्गाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामा, उपाध्यक्ष रामेश्वर सिंखडा तथा प्रमुख प्रशासकीय अधिकृत सुदीप ढुङ्गाना विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

त्यस्तै, गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्ष तथा वडा सदस्य, पूर्व वडा अध्यक्ष रामचन्द्र अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा वडा शिक्षा समिति सदस्य मीनबहादुर बानियाँले स्वागत मन्तव्य राखेका थिए। मण्डली माध्यमिक विद्यालय परिवारको तर्फबाट स्वागत नृत्य प्रस्तुत गरिएको थियो भने हिलेपोखरी आधारभूत विद्यालयका विद्यार्थीहरूले समेत सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा वडा शिक्षा समिति संयोजक तथा वडा अध्यक्ष कुमारबहादुर अधिकारीले वडा नम्बर ५ को शैक्षिक प्रगति तथा शैक्षिक गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रमका अवसरमा वडा नम्बर ५ मा अध्ययनरत विद्यार्थीमध्ये उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत तथा सम्मान गरिएको थियो। उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई अध्यापन गराउने शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रमका क्रममा विभिन्न विद्यालयका विद्यार्थी तथा विद्यालय परिवारले प्रस्तुत गरेका सांस्कृतिक तथा स्वागत नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। सहभागी अतिथि तथा उपस्थित महानुभावहरूका लागि खाजाको समेत व्यवस्था गरिएको थियो।

यसै क्रममा स्थानीय एक व्यक्तिसँग गरिएको कुराकानीमा उनले पछिल्लो समय गङ्गाजमुना गाउँपालिका–५ मा शैक्षिक क्षेत्रमा उल्लेखनीय सुधार तथा प्रगति हुँदै गएको बताए। विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकको निरन्तर प्रयासका कारण वडाको शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन देखिन थालेको उनको भनाइ थियो।कार्यक्रमको सञ्चालन मण्डली माध्यमिक विद्यालयका शिक्षक ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए।