आज : २०२६-०९-२२, मङ्गलबार

विपत्तिमा युवा शक्ति कुवेतको साथ : बाढी प्रभावितका लागि १ लाख ६७ हजार सहयोग

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित श्री शहीद जगत प्रकाश जंग शाह संस्कृत माध्यमिक विद्यालयका बाढी प्रभावित विद्यार्थीलाई युवा शक्ति कुवेतले शैक्षिक सामग्री वितरण गरेको छ।

प्राकृतिक विपत्तिका कारण बालबालिकाको पठनपाठन प्रभावित नहोस् र कठिन परिस्थितिमा पनि शिक्षाको निरन्तरता कायम रहोस् भन्ने उद्देश्यले युवा शक्ति कुवेतले विद्यालयमा अध्ययनरत कक्षा ७ सम्मका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो।

विद्यालयमा ८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। सहयोगअन्तर्गत विद्यार्थीहरूलाई कापी, पेन्सिल र बलपेन लगायतका शैक्षिक सामग्री वितरण गरिएको छ। उक्त शैक्षिक सामग्रीको मूल्य रु. ७६ हजार २५८ रहेको बताईकाे छ।

बाढी प्रभावित क्षेत्रका लागि युवा शक्ति कुवेतले विभिन्न माध्यमबाट रु. १ लाख ६७ हजार ७३२ बराबरको सहयोग गरेको जनाएको छ। त्यसमध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ९१ हजार ४७४ जम्मा गरिएको छ।

विद्यालयमा शैक्षिक सामग्री वितरणका लागि नुवाकोट जाने क्रममा यातायात व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाकी महिला उपाध्यक्ष रुबी महर्जनले व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेकाे छ।

प्राकृतिक विपत्तिले भौतिक संरचनामा मात्र नभई विद्यार्थीको नियमित पठनपाठनमा समेत प्रत्यक्ष असर पार्ने भएकाले प्रभावित क्षेत्रमा शिक्षाको निरन्तरताका लागि आवश्यक सहयोगमा ध्यान दिनुपर्ने युवा शक्ति कुवेतको भनाई छ।

युवा शक्ति कुवेतले नेपालमा होस् वा विदेशमा, विभिन्न समयमा समस्या तथा विपत्तिमा परेका व्यक्ति, पीडित तथा असहाय समुदायलाई आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको जनाएको छ। विपत्तिको समयमा तत्काल आवश्यक सहयोग उपलब्ध गराउने, प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन सहजीकरण गर्ने तथा समस्यामा परेका नेपालीलाई साथ दिने उद्देश्यले संस्थाले विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

संस्थाका अनुसार आगामी दिनमा पनि आवश्यकता र परिस्थितिको पहिचान गरी बाढी, प्राकृतिक विपत्ति तथा अन्य समस्याबाट प्रभावित व्यक्ति तथा समुदायलाई उपलब्ध स्रोत–साधनअनुसार सहयोगलाई निरन्तरता दिइनेछ।
शैक्षिक सामग्री वितरणको लागि युवा शक्ति कुवेतका तीनजना सल्लाहकारको उपस्थिति थियो।