आज : २०२६-०९-२१, सोमबार

गङ्गाजमुना कांग्रेस सभापतिमा मीनबहादुर बानियाँको उम्मेदवारी

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङको गङ्गाजमुना गाउँपालिका कार्यसमितिको सभापति पदका लागि मीनबहादुर बानियाँले उम्मेदवारी प्रस्तुत गरेका छन्।
स्थानीय तहमा लामो समयदेखि पार्टी संगठन तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका बानियाँले आफ्नो अनुभवलाई संगठन सुदृढीकरणमा उपयोग गर्ने उद्देश्यसहित सभापति पदमा दाबी अघि सारेका हुन्।
बानियाँ यसअघि गङ्गाजमुना गाउँपालिका कांग्रेस उपसभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
स्थानीय तहमा रहेर संगठन निर्माण तथा सामाजिक कार्यमा निरन्तर सक्रिय रहेका उनी पार्टीभित्रको सांगठनिक अनुभव भएका नेताका रूपमा आफ्नो उम्मेदवारी अघि बढाइरहेका छन्।
सभापति पदमा उम्मेदवारी घोषणा गर्दै बानियाँले पार्टीभित्र सबै पक्षलाई समेटेर अघि बढ्ने, संगठनलाई थप व्यवस्थित र चलायमान बनाउने तथा कार्यकर्ताबीचको एकता मजबुत बनाउने बताएका छन्। उनका अनुसार पार्टी संगठन कुनै व्यक्ति विशेषमा सीमित नभई सबै क्रियाशील सदस्य, अग्रज, युवा तथा शुभेच्छुकको साझा प्रयासबाट बलियो बन्नुपर्छ।
गङ्गाजमुना गाउँपालिकामा सभापति पदका लागि मीन बहादुर बानियाँले आफ्नो दाबी सार्वजनिक गरिसकेका छन्।