News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कहाँ लुके निर्मलाका हत्यारा ? ‘भीआइपी’माथि स्थानीयको शंका

    हिमाली संचार संवाददाता
    ६७२ पटक

    कञ्चनपुर – १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे नयाँ टि्वस्ट सतहमा आएको छ ।

    घटना भएको २४ दिनसम्म कानमा तेल हालेर बसेको प्रहरीले भदौ ४ गते एकजना मानसिक रोगीलाई हत्याराका रुपमा सार्वजनिक गरेपछि स्थानीयवासीले किन पत्याएनन् ? के स्थानीयवासीले बलात्कारी र हत्यारा को हो भन्ने सुइँको पाएका छन् ? यसबारेमा अनलाइनखबरले प्रारम्भिक खोजी गर्दा केही अनौठा तथ्यहरु फेला पारेको छ ।

    यो घटनामा लामो समयसम्म प्रहरीले किन सफलता हात पारेन ? अनि स्थानीयवासीहरुले प्रहरीबाट बलात्कारीका रुपमा सार्वजनिक गरिएको व्यक्तिमाथि किन पत्यार गरेनन्, यी दुईवटा प्रश्नको वीचमा कुनै स्वयं प्रहरीबाटै गडबडी भइरहेको दाबी कञ्चनपुरवासीहरुको छ ।

    आउनुहोस् निर्मला पन्तको हत्या र बलात्कार प्रकरणबारे केही तथ्यहरु केलाऔं । सुरुमा चर्चा गरौं, निर्मला पन्तको परिचयबाट ।

    गरीबकी छोरी घर फर्किइनन्, प्रहरीले हत्यारा खोजेन

    गत साउन १० गते बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएकी निर्मला पन्त कञ्चनपुरको भीमदत्त पन्त नगरपालिका- २ स्थित खोल्टी भन्ने ठाउँकी बासिन्दा थिइन् । उनी स्थानीय सरस्वती माविमा कक्षा ९ मा पढ्दै थिइन् । उनी सामान्य एवं गरिब परिवारकी सदस्य थिइन् । उनका आमाबुबा ज्याला मजदुरी गर्ने वर्गका मानिस हुन् ।

    साउन १० गते निर्मला करिब २ किलोमिटर टाढा वडा नम्बर १८ मा रहेको साथीको घरमा होमवर्क गर्न र नोटबुक लिनका लागि साइकल चढेर निस्किइन् । समय दिउँसो ११ बजेतिरको थियो । उनी आफ्नी आमालाई जानकारी गराएर साथी आँचल भनिने रोशनी बमको घरमा गएकी थिइन् । तर, त्यहाँबाट उनी फर्किइनन् । बरु भोलिपल्ट बिहान ९ बजेतिर वडा नम्बर १८ र २ को सीमानामा पर्ने सडक छेउमा रहेको लोकेन्द्र भट्टको उखुबारीमा निर्मलाको शव भेटियो । अलि पर साइकल र किताबकापीहरु फेला परे ।

    जघन्य अपराधको घटना भएको तीन हप्तासम्म कञ्चनपुर जिल्ला प्रहरीले अपराधी पत्ता लगाउन तदरुकता देखाएन । स्थानीयवासीले प्रहरी प्रशासनलाई दबाव दिइरहे, आन्दोलन भयो, तैपनि प्रहरीले दोषीलाई पत्ता लगाएन । स्थानीयवासीको दाबी के छ भने शंकाको सुई भीआईपीहरुतिरै सोझिएका कारण प्रहरीले घटनाको जरोसम्म पुग्नै चाहेन ।

    घटना भएको २४ दिनपछि भदौ ४ गते मृतक निर्मला पन्तकै गाउँको एकजना मानसिक अवस्था ठीक नभएको ४१ वषर्ीय दीपकराज विष्टलाई प्रहरीले बलात्कारी एवं हत्यारा भन्दै सार्वजनिक गर्‍यो । प्रहरीको यो कार्यलाई स्थानीयवासीले पत्याएनन् । निर्मलाकै परिवारले पनि पत्याएनन् । र, स्वतःस्फूर्त आन्दोलन चर्कियो ।

    मानसिक अवस्था ठीक नभएको व्यक्तिलाई हत्याराका रुपमा प्रस्तुत गरेर एसपी डिल्लीराज बिष्टले वास्तविक अपराधीलाई जोगाउन खोजेको स्थानीयवासीले आरोप लगाए । वास्तविक अपराधी पत्ता लगाउन माग गर्दै विहीबारदेखि आन्दोलन चर्चियो ।

    आन्दोलनले उग्र रुप लिएपछि सरकारले विहीबार कञ्चनपुरका एसपी डिल्लीराज विष्ट, डीएसपी र सिडियो कुमारबहादुर खड्कालाई हटायो र उनीहरुका ठाउँमा एसपी कुबेर कठायत र तारानाथ अधिकारीलाई गृहमन्त्रालयले जिल्लामा पठायो । साथै गृहमन्त्रालयले एउटा छानविन समितिसमेत गठन गरेको घोषणा गर्‍यो ।

    विहीबारको सरकारको निर्णयपछि आन्दोलन लगभग मथ्थर जस्तै भइसकेको थियो । शुक्रबार बिहान स्थानीय व्यवसायीहरुले अब आन्दोलन नगर्ने र घटनाको छानविन गर्न दिने सहमति पनि गरेका थिए । तर, शुक्रबार साँझ फेरि आन्दोलन चर्कियो र प्रहरीको गोलीले एकजनाको मृत्यु हुनुका साथै केही व्यक्तिहरु घाइते बने । शुक्रबार साँझाको गोलीकाण्डपछि कञ्चनपुर फेरि तनावग्रस्त बनेको छ । र, जिल्लाको यो घटनाले सिंहदरबारमा समेत हलचल मच्चन थालेको छ । शुक्रबार साँझ नै नेकपा अध्यक्ष प्रचण्डले केपी ओलीलाई फोन गरेर यो घटनालाई गम्भीर रुपमा लिन भनेका छन् ।

    भीम रावलले ‘राजनीति’ घुसाए

    शुक्रबार बिहान महेन्द्रनगर लगभग शान्तजस्तै भइसकेको थियो । तर, नेकपाका नेता भीम रावलको एउटा राजनीतिक अन्तरवार्ता बाहिर आएपछि आन्दोलन भड्कियो । रावलले शुक्रबार बिहान ऋषि धमलासँगको अन्तरवार्तामा भने- ‘नेपाली कांग्रेसका केही मानिसहरुले जनतालाई उत्तेजित बनाएर अपराधमाथि ढाकछोप गर्न नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता, त्यहाँका जनप्रतिनिधिलाई आक्रमण गरिरहेका छन्, त्यो निन्दनीय छ ।’

    यद्यपि रावलले त्यो घटना निन्दनीय भएकाले दोषीमाथि हदैसम्मको कारवाही हुनुपर्ने र यसका लागि सरकारले छानविन समिति पनि बनाएको बताएका थिए । नेकपाले अपराधीलाई कारवाही गर्ने कुरामा रावलले प्रतिवद्धतासमेत व्यक्त गरेका थिए । तर, स्थानीयवासी रावलको विरोधमा सडकमा उत्रिए ।

    एक त स्थानीयवासीहरु यो बलात्कार र हत्याको घटनामा प्रहरी र नेकपाका नेताका परिवारजनमाथि नै छानविन हुनुपर्ने माग गरिरहेका थिए, त्यहीबेला रावलले कांग्रेसमाथि दोषारोपण गरेपछि यसले राजनीतिक आकार लियो । भलै, निर्मलाका हत्यारामाथि कारवाहीको माग कुनै एउटा पार्टीले गरेको नभएर सिंगै जिल्लाबासीहरुको स्वतस्फूर्त माग थियो ।

    नेकपा नेता भीम रावलको कांग्रेसविरोधी अभिव्यक्तिलाई लिएर शुक्रबार साँझ ५ बजेतिर नेविसंघका कार्यकर्तासमेतले जुलुस प्रदर्शन गर्दा झडप भयो । जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना र विरोध प्रदर्शन भयो । उनीहरु त्यहाँ टायर बालेर प्रदर्शन गरिरहेका थिए । प्रहरीले प्रदर्शन हटाउनका लागि बल प्रयोग गर्‍यो । प्रहरीको बल प्रयोगपछि झडपको स्थिति भयो । प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गर्‍यो । हवाई फायर गर्‍यो । त्यति गर्दा पनि भीड नियन्त्रणमा नआएपछि गोली चलायो । त्यसक्रममा एक बालकको मृत्यु भयो । अरु ४ जना गोली लागेर घाइते भए ।

    यसअघि पनि प्रहरीको लाठीचार्ज र गोलीबाट घाइते भएका मध्ये एक जनाको अहिले काठमाडौंमा उपचार भइरहेको छ भने एक जनाको जिल्लामै उपचार भइरहेको छ । शुक्रबारको घटनामा समेत गरी ६ जना अस्पतालमा छन् । अरु सामान्य घाइते बन्नेहरु धेरै छन् । प्रहरीले पनि आफ्नो तर्फ केही प्रहरीहरु घाइते भएको बताउँदै आएको छ ।

    शुक्रबारको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्ने र गोली नै चलाउनुपर्ने स्थिति नरहेको स्थानीय बताउँछन् । तर, प्रहरी प्रशासन निकै नै आत्तिएको र डराएको हुनाले यसले गोली चलाएको देखिन्छ । केही दिनयता चर्केको स्वतस्फूर्त आन्दोलनका कारण प्रहरीहरु निकै आत्तिएका देखिन्छन् । जिल्ला प्रशासनको गेटै अगाडि प्रदर्शन भएकाले पनि प्रहरीहरु बढी आत्तिएको देखिन्थे ।

    शुक्रबारको घटनापछि अब कञ्चनपुर झनै तनावग्रस्त हुने स्थिति देखिएको छ । कञ्चनपुरमात्रै होइन, शुक्रबार कैलालीमा समेत केही युवाले नाराजुलुस गरे । गोलीकाण्डपछि शनिबारदेखि झनै आन्दोलन चर्किने खतरा बढेको छ ।

    निर्मल प्रकरणसित जोडेर शुक्रबार स्थानीयले भीमदत्त नगरपालिकाका मेयरको घरमा पनि तोडफोडको प्रयास गरेका छन् ।

    त्यो रहस्यमय घर

    निर्मला पन्त किताव लिनका लागि जुन घरमा गइन् । तर, त्यो घरदेखि नै यो घटना एकदमै रहस्यमय छ । त्यो घर दुईतल्ले छ, त्यहाँ बम दिदीबहिनीमात्रै बस्थे । उनीहरुका बुबाआमा दार्चुला भन्ने ठाउँमा बस्ने गरेका थिए । घरमा उनका छोरीहरु रोशनी आँचल र बबिता मात्रै बस्थे । निर्मलाकी साथी रोशनी १८ वर्षकी छिन् भने उनकी दिदी बबिता अझै जवान भइसकेकी छिन् । उनीहरुको घर लगभग रित्तैजस्तो भए पनि भाडामा लगाइएको छैन ।

    स्थानीयका अनुसार त्यो घरमा दुईजना केटाहरु प्रायाः आवत-जावत गरिरहन्थे । पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन् । अर्काचाहिँ भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन् । स्थानीयका अनुसार दिदी बहिनीमात्रै भएको त्यो घरमा ती दुई युवकहरु बाक्लै आउने-जाने गर्थे ।

    स्थानीयबासीको माग के रहेछ भने निर्मलाको बलात्कार र हत्या प्रशरणपश्चात एसपीका छोरा र मेयरका भतिजालाई पनि प्रहरीले छानविनको दायरामा ल्याओस् र उनीहरु दोषी भए नभएको जनसमक्ष स्पष्ट पारोस् । निर्मला गएकी घरमा बस्ने आँचल र बबिता बममाथि पनि अनुसन्धान गरियोस् । तर, प्रहरीले २४/२५ दिनसम्म उनीहरुमाथि कुनै अनुसन्धान नगरी फ्याट्ट मानसिक रोगीलाई बलात्कारीको पगरी भिराएपछि स्थानीयवासी सडकमा उत्रिएको स्रोत बताउँछ ।

    त्यो रहस्यमय घरबाट निर्मला हराएपछि पाइएका केही तथ्यहरु झै रहस्यमय छन् । जस्तो- घटनास्थलमा निर्मलाका किताब कापी भेटिएका थिए । तर, किताब पानीले भिजेका थिएनन् । जबकि त्यहाँ रातभरि पानी परेको थियो ।

    निर्मलालाई अम्बा दिएर पठाएको भनिए पनि त्यहाँ अम्बाको बोट काटिएको छ । घरभित्र पनि भर्खरै रंग पेन्टिङ गरिएको स्थानीयले जानकारी दिएका छन् ।

    निर्मला उक्त घरमा होमवर्क गर्न राति गएकी पनि हैनन, बिहान ११ बजेतिर गएकी हुन् । बम दिदीबहिनीहरु निर्मला त्यहाँबाट २ बजे साइकल लिएर निस्किएको बताउँछन् । हामीले उनलाई अम्बा दिएर पठाएका हौं भन्छन् ।

    शंकास्पद वयान र वस्तुस्थिति

    साउन १० गते बेलुका ५ बजेसम्म पनि निर्मला घरमा नआउँदाखेरि उनकी आमा निर्मलालाई खोज्दै बम परिवारको घरमा पुगिन् ।

    निर्मलाकी आमालाई बबिताले छोरी अघि नै घर गईसकी, हामीले अम्बा दिएर पठाएका हौं भनेकी थिइन् । तर, अहिलेसम्म आइन त भन्दाखेरि ‘पोइल गई होली’ भन्ने जवाफ फर्काएको निर्मलाकी आमाको भनाइ छ ।

    छोरी नभेटिएपछि निर्मलाकी आमा नजिकैको प्रहरी कार्यालयमा पुगिन् । तर, प्रहरीले उनलाई ‘अब भोलि खोजौंला’ भन्ने जवाफ दियो । त्यति भन्दाभन्दै पनि उनी राति २ बजेसम्म त्यहीँ प्रहरी कार्यालय परिसरमै भौतारिइरहिन् । छोरी खोजिदिनुपर्‍यो भनेर उनले बारम्बार आग्रह गरिरहिन् । परिवारका सदस्यले रातिसम्म निर्मलालाई खोजिरहे । तर, प्रहरीले उनीहरुको आर्तनादलाई खासै ध्यान दिएन ।

    निर्मलाकी आमा भोलिपल्ट बिहान फेरि बम दिदीबहिनीका घरमा पुगिन् । निर्मला त आइन, कहाँ गई भन्दाखेरि त्यहीबेलामा कसैले उखुबारीमा साइकल फेला परेको जानकारी दियो । प्रहरीको भनाइ अनुसार घाँस काट्न जानेले निर्मलाको साइकल र शव फेला पारेका हुन् ।

    त्यतिबेला बबिता बमले ‘उसोभए लास पनि त्यहीँ होला’ भनेको निर्मलाका परिवारको दाबी छ । यो कुरा बबिताले सीआइबीसँग पनि स्वीकार गरेको पीडित परिवारको भनाइ छ ।

    प्रहरीले सुरुमा बबिता र उनकी बहिनी आँचल भनिने रोशनी बमलाई पक्रेको थिएन । तर, जब मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई सार्वजनिक गरेपछि फेरि आन्दोलन चर्कियो, त्यसपछि बल्ल बमको घरमा पनि आक्रमण हुन सक्छ भन्ने लागेर प्रहरीले उनीहरुलाई कार्यालयमा ल्याएर सुरक्षामा दियो । उनीहरुका बुबाआमा आएसकेपछि अहिले बुबाआमाको जिम्मा लगाइएको छ । र, उनीहरु अहिले त्यही दुईतल्ले घरमा बसिरहेका छन् ।

    केटीका बुबाआमासँग एसपी डिल्लीराज बिष्टको पुरानो चिनजान रहेको स्थानीयको भनाइ छ । बबिताकी आमासँग यसबारे कुरा गर्दा उनी ‘एसपी डिल्लीराज हाम्रा लागि भगवानसरह हुन्’ भन्छिन् ।

    तर, स्थानीयवासीहरु रुष्ट हुनुको कारण के छ भने यो घटनामा दोषी पत्ता नलाग्नुमा प्रहरीको, खासगरी एसपी विष्टकै केही भूमिका हुन सक्छ कि भन्ने आशंकाले काम गरेको देखिन्छ । तर, यतिका दिनसम्म स्थानीयले जसलाई शंकाको नजरले हेरे, निर्मलाको हत्यारा पत्रा लगाउने जिम्मेवारी उनैका काँधमा थियो, जसले अन्ततः एकजना मानसिक रोगीलाई अपराधीका रुपमा कञ्चनपुरवासी समक्ष प्रस्तुत गरे । न्याय माग्ने स्थानीयवासीमाथि गोली र लाठी बर्साए ।

    मानसिक रोगीको आफ्नै कथा

    प्रहरीले हत्यारा र बलात्कारी भन्दै पक्राउ गरेको ४१ वर्षीय दिलिपसिसंह बिष्टलाई मानसिक सन्तुलन गुमाएको ‘पागल’ मान्छे भनिएको छ । पत्रकार सम्मेलनमा प्रहरीले के भनेको थियो भने विष्टले महिलाहरुलाई जहाँ पायो त्यहीँ जिस्क्याउँदै हिँड्थ्यो, घरकै सदस्यलाई बलात्कार गर्न खोज्थ्यो । तर, यस्तो अभिव्यक्तिले प्रहरी झनै नैतिक संकटमा पर्‍यो । स्थानीयले प्रहरीको यो कार्यलाई ‘नाटकको संज्ञा’ दिए ।

    पक्राउ परेका विष्टको घर रहेको उल्टाखाम भन्ने गाउँमै पुगेर हामीले स्थानीयसँग बुझ्दाखेरि ती मानसिक सन्तुलन गुमाएका विष्ट त महिलामाथि आक्रमण गर्ने होइन कि महिलाहरु देख्दा बाटो छाडिदिने स्वाभावका रहेछन् । उनी महिलासँग नजिकै नआउने, महिलाले खाने कुरा दिए भने हातले नसमाएर भुइँमा राखिदिने गर्दारहेछन् ।

    पक्राउ परेका विष्टले पहिले पनि भिनाजु पर्नेलाई मारेर जेल परेको प्रहरीको भनाइ छ । तर, उनले भिनाजुलाई मार्छु भनेर हानेको नभई झगडा हुँदाखेरि चिर्पटले हान्दा मृत्यु भएकाले जेल परेको स्थानीयले सुनाए । त्यसरी करिब ९ वर्ष जेल परेपछि उनको मानसिक सन्तुलन गसमेको स्थानीयले अनलाइनखबरकर्मीलाई सुनाए ।

    तर, दिलिपसिंहका बुबाको भनाइ चाहिँ अलि बेग्लै छ । उनले हामीसँग गरेको दाबी के छ भने ८ कक्षामा पढ्दाखेरि उनलाई शिक्षकले निर्घात पिटेका थिए । त्यसपछि उपचारका लागि भारतको बरेलीमा लगिएको थियो । धेरै खर्च गरेर उपचार गर्दा पनि आफ्नो छोरो सञ्चो नभएको पिताको भनाइ छ ।

    तर, प्रहरीले भने उनी ८ कक्षा पढ्दा प्रेम वियोगमा परेको र केटीहरुलाई समाउँदै हिँड्ने गर्दा पिटाइ खाएको दाबी गरेको छ ।

    भिडियो खिचेको छ भन्दै जाहेरी दिन परिवारलाई दबाव

    यसैवीच मानसिक सन्तुलन बिगि्रएको व्यक्तिलाई पक्रिइसकेपछि मृतक निर्मला पन्तका बुबालाई प्रहरीले उनीविरुद्ध किटानी जाहेरी दिन दबाव दियो । तर, निर्मलाका बुबाले त्यो केटाले प्रहरीलाई कस्तो वयान दिएको छ, मलाई सुनाउनोस् अनिमात्रै जाहेरी दिउँला भन्ने अडान राखे । प्रहरीले ‘हामीले उसको भिडियो रेकर्ड नै गरेका छौं, तपाईलाई देखाउँछौं’ भने, तर देखाएनन् ।

    त्यसपछि निर्मलाका बुबाआमाले अहिलेसम्म ती मानसिक रोगीविरुद्ध जाहेरी दिएका छैनन् । उनीहरुले त्यो व्यक्ति आफ्नी छोरीको हत्यारा होला भनेर पत्याएका छैनन् ।

    प्रहरीले जसलाई पागल र हत्यारा भनेर देखायो, त्यो अपराधी हैन भन्ने स्थानीयको दाबी छ । बरु घटनास्थलको वस्तुस्थिति हेर्दाखेरि स्थानीय भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिजा र एसपी डिल्लीराज विष्टका छोरामाथि पनि छानविन हुनुपर्छ भनेर स्थानीयले माग गरिराखेको पाइयो ।

    एसपी विष्टसँग नजिकको सम्बन्ध रहेको भनिएको बमको परिवार सामान्यतः हुनेखाने नै मानिन्छन् । उनीहरु दुईतले घर र व्यवसाय भएका व्यक्तिहरु हुन् । उनीहरुले आफ्नो घरसमेत भाडामा नलगाई राखेका थिए । तर, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवार भने गरीब परिवार हो । यसरी एसपीसँग राम्रो सम्बन्ध रहेको परिवारको संरक्षणमा लागेर प्रहरी प्रशासनले एकजना गरीबकी छोरीलाई न्याय निसाफ दिलाउन अटेर गर्नु नै कञ्चनपुर घटनाको अन्तर्य रहेको स्थलगगत अध्ययनबाट पाइयो ।

    बलात्कार र हत्याका घटनामा कसको संलग्नता छ, अहिले नै किटेर कसैमाथि आरोप लगाइहाल्न मिल्दैन, तर वस्तुस्थितिले जोजोमाथि अनुसन्धानको माग गर्छ, तिनीहरुमाथि रौंचिरा अनुसन्धान नगर्दासम्म अपराधी पत्ता लाग्न मुस्किल छ । अपराधी भीआइपी होस् या अरु नै कोही होस्, वास्तविक दोषीलाई पत्तो लगाउनैपर्छ र निर्मलालाई न्याय दिलाउनैपर्छ ।

    तर, नेकपाका नेताहरुले आफ्नो पार्टीको मेयर वा प्रहरी अधिकारी वा अरु केही आधारमा घटनालाई ढाकछोप गर्नतिर लागे भने स्वाभिमानी कञ्चनपुरबासीहरुले एसपी र सिडियोकोमात्रै होइन, दुईतिहाईवाला सरकारका गृहमन्त्रीकै राजनीनामा पनि नगराउलान् भन्न सकिँदैन, घटनाको गम्भीरता हेर्दा ।

    त्यसैले यो घटनामा सरकार बेलैमा सम्वेदनशील होस् । शंकाको घेरामा रहेका व्यक्तिहरुमाथि तत्कालै छानविन थालियोस् । अनलाइनखबर

    प्रतिकृया दिनुहोस्

    असोज १३ गते आईतबारको तपाईको राशिफल

    आज मिति वि.सं.२०८१ असोज १३ गते आईतबार || ई.सं.२०२४ सेप्टेम्बर २९ || नेपाल सम्बत ११४४...

    अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

    काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य...

    कार्यालयमा बाढी पसेपछि एपीवन टेलिभिजनको प्रसारण बन्द

    काठमाडौं। कार्यालयमा बाढी पसेपछि एपीवन एचडी टेलिभिजनको प्रसारण रोकिएको छ। टेलिभिजनका प्रधान सम्पादक दीपेन्द्र बान्तावाले...

    हिजबुल्लाहको ‘हेटक्वाटर’मै इजरायली सेनाको हमला

    एजेन्सी। इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालय (हेटक्वाटर)मा आक्रमण गरेको दाबी गरेको छ।...

    असोज १२ गते शनिबारको तपाईको दैनिक राशिफल

    आज मिति वि.सं.२०८१ असोज १२ गते शनिबार || ई.सं.२०२४ सेप्टेम्बर २८ || नेपाल सम्बत ११४४...