
हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका छन्। बैँकले कोर बैङ्किङ सफ्टवेयर स्तरोन्नति गर्ने भन्दै केही दिन सेवा अवरुद्ध हुने सूचना जारी गरेको भएपनि लाखौँ ग्राहकको दैनिक कारोबार महिना दिनसम्म प्रभावित भएको हो।
बैँकले ३० असोजमा एक सूचना जारी गर्दै बैङ्किङ सेवा ३ देखि १० कात्तिकसम्म अवरुद्ध हुने जानकारी दिएको थियो। प्रयोगमा रहेको कोर बैङ्किङ सफ्टवेयरलाई टी२४ बाट आर२३ मा स्तरोन्नति गर्न लागिएकाले सेवा अवरुद्ध हुने भनिएको थियो। तोकिएको १० कात्तिकभित्र सेवा सञ्चालनमा नआएपछि बैँकले १३ कात्तिकमा अर्को सूचना जारी गर्दै ११ कात्तिकदेखि नै कारोबार सञ्चालनमा आएको जानकारी दियो। उक्त सूचनामा मोबाइल बैङ्किङ र इन्टरनेट बैङ्किङ सेवा ‘समय सापेक्ष सुरक्षित, गुणस्तरीय तथा उच्चस्तरीय’ बनाउने उद्देश्यले गरिएको स्तरोन्नतिमा केही समय ढिलो हुन गएको भन्दै ग्राहकहरूसँग क्षमायाचना समेत मागिएको थियो।
तर, ११ कात्तिकदेखि सञ्चालन भएको भनिए पनि बैँकको सेवा प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको थिएन। सेवा सहज नभएपछि ग्राहकले बैँकको सामाजिक सञ्जालमा गुनासो पोख्न खोज्दा बैँकले कमेन्ट नै लिमिट गरेको थियो। सेवाग्राहीको गुनासो आउने क्रम जारी रहेपछि बैँकले २० कात्तिकमा पुन: एक पोस्ट राख्दै नयाँ सफ्टवेयर भएकाले भनेकै समयमा पूर्ण रूपमा सञ्चालन गर्न नसकिएको जानकारी दियो।
२० कात्तिकमा जारी गरिएको अर्को सूचनामा भनियो, “हिमालयन बैँक लिमिटेडले हाल प्रदान गर्दै आइरहेको भन्दा अझ सुदृढ, सुरक्षित र उच्चस्तरको सेवा प्रदान गर्ने उद्देश्यले मिति २०८२ कार्तिक ०३ देखि १० गते सम्म आफ्नो Core Banking Software T24 Release R19 लाई T24 Release R23 मा स्तरोन्नति गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरी मिति २०८२ कार्तिक ११ गतेबाट मुख्य बैङ्किङ कारोबार नियमित रूपमा सञ्चालन भइरहेको जानकारी गराउँदछौँ। तथापि नयाँ सफ्टवेयर भएकोले शाखाहरूबाट सेवा प्रदानमा अपेक्षितभन्दा केही बढी समय लाग्ने गरेको भन्ने गुनासोप्रति बैँक संवेदनशील रहेको तथा सम्पूर्ण सेवा प्रभावकारी रूपमा प्रदान गर्ने तर्फ प्राथमिकताका साथ काम भइरहेको समेत जानकारी गराउँदछौँ।”
बैँकले आफ्नो कोर बैङ्किङ सफ्टवेयरका साथै मोबाइल बैङ्किङ र अनलाइन बैङ्किङ पनि एकै पटक स्तरोन्नति गर्ने प्रक्रियामा रहेकाले त्यसमा केही प्राविधिक समस्या आएको बताएको थियो। यद्यपि प्रभावकारी रूपमा यही दिनदेखि सञ्चालनमा आउँछ भन्ने खुलाएको थिएन। सामाजिक सञ्जाल प्रयोगकर्ताले राखेको गुनासो र विभिन्न सञ्चार माध्यमले राखेका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै बैँकले त्यस्ता सूचनामा विश्वास नगर्न आग्रह गरेको थियो।
बैँकको प्रणाली अवरोधबारे नेपाल राष्ट्र बैँकले पनि आफ्नो जानकारीमा राखेको जनाएको छ। राष्ट्र बैँकका प्रवक्ता गुरुप्रसाद पौडेलले यसबारेमा नियामक निकाय संवेदनशील रहेको बताए। उनले भने, “सामान्यतः बैँकले २४ घण्टाभन्दा बढी समयका लागि सिस्टम अपग्रेड गर्नुपर्यो र सेवाहरू बन्द गर्नुपर्ने भयो भने राष्ट्र बैँकलाई पूर्व जानकारी गराएर मात्र गर्नुपर्छ। बैँकले हामीलाई त्यो प्रक्रिया पुर्याएको थियो। उनीहरूले पुरै सिस्टम अपग्रेड गर्ने क्रममा जति दिनको समय लाग्छ भनेका थिए, त्यो भन्दा अलि बढी समय लाग्यो।”
उनले अगाडि भने, “सबै सेवा होइनन्, तर आंशिक कामहरू सहज रूपमा भएको छैन भनेर उनीहरूले जानकारी दिएका थिए। हामी यसबारे जानकारी लिन्छौँ।”
यस विषयमा अन्य बैङ्किङ विज्ञले पनि बैँकको तयारीमा कमजोरी देखिएको टिप्पणी गरेका छन्। एक बैङ्किङ उद्योगका जानकारका अनुसार कोर बैङ्किङ सफ्टवेयरमा नै समस्या आएका कारण स्टेटमेन्ट दिने लगायतका सहायक सेवा समेत प्रभावित भएका छन्। उनले बैँकले प्रयोग गरेको नयाँ प्रणाली अर्को एक कम्पनीले हेरिरहेको र यो समस्या प्रणालीको पूर्वाधार वा इम्प्लिमेन्टेसन पक्षमा हुन सक्ने आशङ्का व्यक्त गरे।
नाम नखुलाउने सर्तमा कुरा गरेका एक साइबर सुरक्षा विज्ञले यसमा कुनै पनि सुरक्षा वा ह्याकिङसम्बन्धी समस्या नदेखिएको बताए। उनले भने, “यो साइबर सेक्युरिटीको कुरा भएन। हामीलाई यस विषयमा खासै जानकारी पनि छैन। डार्क वेबतिर पनि बैँक ह्याक भएको भन्ने जानकारी छैन। यो सेक्युरिटीको समस्या चाहिँ होइन।”
बैँकले सुरुमै घोषणा गरेको ३ देखि १० कात्तिकको समय नै लामो भएको उनले बताए। त्यसमाथि २२ औँ दिन हुँदा बैँकमा गम्भीर त्रुटि निम्तिएको हुनसक्ने औँल्याए। यसका पछाडि आन्तरिक परीक्षणमा बैँकको कमजोरी भएको वा विभिन्न डिभाइस र पब्लिक सिस्टमबिच नयाँ प्रणालीको कम्प्याटिबिलिटी मिलाउन समस्या आएको हुन सक्ने उनको आशङ्का छ।
विज्ञहरूका अनुसार कोर बैङ्किङ प्रणाली अपग्रेडका लागि सात दिनको समय धेरै लामो मानिन्छ। हिमालयन बैँकको २२ दिनभन्दा लामो समयसम्मको अवरोधले ग्राहकलाई बैङ्किङ कारोबारका लागि शाखामै जानुपर्ने बाध्यता खडा गरिदिएको छ। बैँकको डिजिटल सेवाप्रतिको विश्वसनीयतामा पनि प्रश्न उठेको छ। हाल बैँकले आफ्ना अवरुद्ध सेवाहरू (मोबाइल बैंकिङ / अनलाइन बैंकिङ) यथासीघ्र चाँडो सुरक्षित रूपमा सञ्चालन गर्न विज्ञबाट प्रयास जारी भइरहेको बताएको छ।