हामी सानो हुँदा हजुरआमाले बनाउनुहुने सुत्केरी मसलाको सुगन्धले भान्छा नै सुवासित हुन्थ्यो । हामी पनि घुटुक्क थुक निल्दै सुत्केरी मसला कहिले पाक्छ भनेर हेरिरहन्थ्याैं। पाकेपछि हजुरआमाले एक–एक चम्चामात्रै चाख्न दिनुहुन्थ्यो ।
‘केटीहरूले यस्तो मसला धेरै खानु हुँदैन, पेटमा टाँसिन्छ’, हजुरआमाले तर्साउनु पनि हुन्थ्यो । डरसँगै सुत्केरी मसलाको स्वाद लिइन्थ्यो । ‘सुत्केरी मसला’ भनेर महिलासँंग जोडिएका हुनाले होला, केटाहरूले यसको स्वाद लिएको चाहिँ मलाई थाहा छैन । पहिले–पहिले घरमा वा छिमेकी घरमा गर्भवती महिलाका लागि हजुरआमाले तयार पारेको सुत्केरी मसलाले महिलाको शरीरमा कति पौष्टिकता पर्दाेरहेछ भन्ने धेरैपछि मात्र थाहा भयो ।
मेरी हजुरआमालाई चाहिँ परम्परागत ज्ञान प्रचुर थियो । सुत्केरी मसलाले सुत्केरीको शरीर तङग्रिन मद्दत गर्छ । सुत्केरीको स्तनबाट दूध निकाल्न मद्दत गर्छ । यसमा मिसाएका पौष्टिक तत्त्वले रगतको कमी हुन दिँदैन । यस्ता कुरा आफ्नो हजुरआमाबाट थाहा पाउनुभएकै होला । अहिले चाहिँ धेरै युवती सुत्केरी मसला खान रुचाउँदैनन् । सायद त्यसैले घर–घरमा बन्न पनि छाडे । अहिलेका नवआमाहरू त बट्टाको खानेकुरा खान रुचाउँछन् । ‘बट्टाको खानाले महिलाको हड्डी बलियो हुन्छ, रगतको कमी हुन दिँदैन’ भन्नेजस्ता झुटा विज्ञापनमा विश्वास गर्छन् ।
१००–१५० रुपैयाँको १ किलो जौंको पिठो खानुको सट्टा १५०० किलो (१० गुणा महँंगो) बट्टाको खाना किनेर मुर्खतापूर्ण काम गर्छन् । यदि ती महिलाहरूले सुत्केरी मसला भनेको के हो ? यसमा कति पौष्टिक तत्त्व हुन्छ ? थाहा पाएका भए आफूमात्र होइन, सायद आफ्ना श्रीमानलाई पनि ख्वाउँथे होलान् । नाम सुत्केरी मसला भए पनि घरका सबै परिवारका लागि सूक्ष्म पौष्टिक प्रदान गर्ने वस्तु बन्थ्यो होला, सुत्केरी मसला । सायद पहिला–पहिला ‘सुत्केरी मसला’ नाम नदिएको भए घरका पुरुषले सबै खाइदिने डर थियो कि ? सुत्केरीले खाने भनेपछि त पुरुषले नछोओस् भनेर यो नाम दिइएको हो कि ?
सुत्केरी मसला वा सुत्केरी औषधि गुँद, दालचिनी, मरिच, सुकमेल, जाइफल, ल्वाङ, मेथी, ज्वानो, किसमिस, बत्तिसाको धुलो र ओखर, काजु, नरिवल, गाईको ध्यु, दूध आदि हालेर बनाइने मसला पौष्टिकताले भरिपूर्ण हुँदैन भनी कसले भन्न सक्छ ? बत्तिसाको धुलोबारे चाहिँ के–के मिसाइन्छ भनेर मलाई पनि थाहा छैन । असनमा पाइने बत्तिसा बत्तीसवटा जडीबुटी मिसाएर बनाइन्छ रे भन्नेचाहिँ सुनेको छु । आफैले चाहिँ प्रयोग गरेको छैन ।
गुँदमा पाइने कार्वोहाइड्रेड, दूध, काजु, नरिवल र खुवामा पनि शक्तिका स्रोत हुन्छन् । मेथीले आमाको दूध निकाल्न मद्दत गर्छ र रगतको कमीबाट बचाउँछ । ध्यु शरीरमा चाहिने नै भयो, किनभने बोसो नभई त शरीरमा भिटामिन ए, डी र के राम्रोसँंग घुल्दैन ।हेर्नोस् त हाम्रा पुर्खाहरू कति बुद्धिमान † भोजनलाई औषधि नै बनाइदिए । सायद आमालाई स्याहार गर्न उत्तम छ भनेर होला भोजनमा वास्ता नगरे पनि ‘औषधि’ भनेपछि घरका मान्छेले महिलालाई दिइहाल्छन् भनेर होला ।
सायद लैङ्गिक दृष्टिकोणले पनि सुत्केरी मसला बनाउन उत्प्रेरणा गरेका रहेछन् । यदि स्वादिष्ट र स्वस्थकर मात्रै भएको भए लोग्नेमानिसले नै खाइदिन्थे होलान्, तर उनीहरूले छोएनन्, सुत्केरी शब्द जोडिएपछि । सुत्केरीलाई चिसो लाग्ला भनेर मालिस गर्ने, तातो लुगा लगाइदिने, कपालमा तेल लगाइदिने र केही समय बाहिरै जान नदिने चलन पनि छ । यसले सुत्केरीलाई तङग्रिन मद्दत गर्छ ।
त्योसंँगै सुत्केरी मसला समय–समयमा दिएको भोजनले एक महिनामा सुत्केरी स्वस्थ हुन्छिन् । अपशोच, यस्तो राम्रो चलनको सट्टा सुत्केरीलाई छाउगोठमा राखेर रोटी र नुनमात्र खान दिने चलन छ, सुदूर पश्चिममा । हरेकपल्ट त्यहाँ जाँदा सुत्केरीहरूको खानाबारे सुनेर दिक्दार लाग्छ । पूर्वतिर र काठमाडौंतिर चाहिँ सुत्केरीले राम्रोसँंग नखाए स्याहार नभएपछि जीउ दुख्छ, शरीर बिग्रन्छ भन्ने चलन छ । सायद सुदूर पश्चिमका महिलाको स्वास्थ्य खराब भएको कारण पनि सुत्केरीलाई पौष्टिक खानेकुरा नदिएको हुनाले हो कि ?
सुत्केरी मसलाको घट्दै गइरहेको चलनले गर्दा परम्परागत स्वस्थकर खाना र त्योसंँग जोडिएको महिलाको स्वास्थ्यबारे अब फेरि सिंहावलोकन गर्नुपर्छ । नत्र त केही समयपछि ती विदेशीहरूले सुत्केरी खानाको प्याकेट गरेर हामीलाई नै बेच्न सक्छन्, योगलाई ‘योगा’ बनाएर हामीलाई सिकाएझैं ।
केही महिना अघि एक माओवादी नेतासंँग भेट भयो । पहिले मन्त्री भइसकेको मान्छे राजनीतिबाट दिक्क लागेर अहिले कृषिमा लागेको उनले खुलाए । आफूले उत्पादन गरेको ‘कालो चामल’ उपहार दिए । ‘कालो चामल’ कसरी खाने होला, विचार गर्दै थिएँ । सायद मेरो मनको कुरा बुझेर होला, उनले भने, यो ‘कालो चामल’ एक किलोको प्याकेट झन्डै ५ किलोको अन्य चामलमा मिसाएर पकाउनुहोस् ।
असाध्यै स्वस्थकर र स्वादिलो हुन्छ । एकचोटी चाखेर त हेर्नुस् भनी सल्लाह दिए । मैले उनलाई धन्यवाद दिई त्यो चामल लिएँ । लामो समयसम्म भान्छामा रहिरह्यो । एकदिन विदेशबाट आएका एक साथीकहाँ खान बोलाएका बेला कालो र सेतो चामल मिसाएर पकाएको पुलाउ खाएँ । उनले पनि कालो चामलबारे वर्णन गरे । उनले भने–‘१०० ग्राम कालो चामलको भातमा झन्डै ३४ ग्राम कार्वोहाइड्रेड, ८.५ ग्राम प्रोटिन, झन्डै ५ ग्राम रेशादार पदार्थ, ३.५ लौह तत्त्व र अन्य चामलको तुलनामा प्रोटिन, रेशादार पदार्थ बढी हुन्छ ।’
‘कालो चामल’बारे केही अध्ययनले देखाएको छ : यसले रोगसँग लड्ने शक्ति प्रदान गर्छ । साथै शरीरमा आउने बुढ्यौलीलाई केही हदसम्म रोक्न पनि मद्दत गर्छ । रेशादार पदार्थ पर्याप्त पाइने हुनाले यो खाँदा लामो समय भोक लाग्दैन । साथै कब्जियतको समस्या रोक्छ । कब्जियत पेटको समस्याको कारण हुनसक्ने भएकाले कब्जियत हुनेलाई तरकारी र फलफूलका साथै कालो चामलको प्रयोग राम्रो हुन्छ । रेशादार पदार्थ सेतो चामल वा मैदामा हुँदैन ।
त्यसैले मैदाबाट बनेका बिस्कुट, चाउचाउ, पाउरोटी आदिको प्रयोग गर्न छाड्नुपर्छ । कालो चामलमा ‘ग्लुटेन’ नहुने भएकाले गहुँको प्रयोग गर्दा पेट फुल्ने, दुख्ने समस्या भएकालाई पनि यो प्रयोग गर्न सकिन्छ भनी केही वैज्ञानिकले लेखेका छन् । अहिले अमेरिकातिर ‘ग्लुटेन’ नभएको खाना खाने चलन बढेको छ । सायद कालो चामलमा अध्ययन भएको कारण पनि यही होला ।
कालो चामलको एक रमाइलो इतिहास छ । हजारांै वर्षअघि प्राचीन चीनमा कालो चामल उच्च घरानाका मानिसहरूले मात्र खान पाउँथे । सामान्य मानिसलाई त कालो चामल नउब्जाउने आदेश थियो रे । सायद उच्च वर्गका मानिसहरूमात्र स्वस्थ हुन् भनेर हो कि ? अमेरिकामा पनि कालो चामल सन् १९९० तिर मात्र आयो । जबकि एसियामा यो लामो समयदेखि प्रयोग भइरहेको थियो ।
कालो चामल पकाउँदा ६/७ घन्टाचाहिँ भिजाउनुपर्छ । अन्य सेतो चामलभन्दा यसको बाहिरको बोक्रा कडा हुने भएकाले भिजाएपछि यो सहजसंँग पाक्छ । कालो चामललाई पिसेर सुपमा हालेर पनि खान सकिन्छ । आँटामा पनि मिसाउन सकिन्छ । पुलाउ बनाएर खान सकिन्छ ।
सायद सबैले कालो चामलमात्रै पचाउन सक्दैनन्, उनीहरूले एक भाग कालो चामल र ३ भाग साधारण चामल मिसाएर खाए हुन्छ । मार्सी चामलसँग कालो चामल मिसाए त झनै राम्रो ।