
काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर रहेको बताएका छन्। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सवमा बोल्दै उनले चार्जिङ स्टेशनको नीति सुधार गर्न र सोलार प्रवद्र्धनका लागि नयाँ कार्ययोजना बनाइरहेको जानकारी दिए।
उनका अनुसार विद्युतीय गाडीको प्रयोग बढिरहेको छ र परम्परागत ग्यासको सट्टा इन्डक्सन र अन्य वैकल्पिक ऊर्जाको प्रयोगलाई अझ बढाउन आवश्यक छ। हावाबाट बिजुली उत्पादन गर्ने प्रविधिमा निजी क्षेत्रले अझै चासो नदेखाएको र यसमा लगानी गर्न आह्वान गरिएको उनले बताए।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले सौर्य ऊर्जा, सिँचाइ, खानेपानी र सुधारिएको चुलोजस्ता क्षेत्रमा काम गर्दै आएको बताए। उनले आठ कार्बन उत्सर्जन कटौती परियोजनाबाट ३६ मिलियन अमेरिकी डलर आम्दानी भएको र ४० हजार रोजगारी सिर्जना भएको जानकारी दिए।
ढकालले आगामी पाँच वर्षमा १० लाख घरधुरीमा पहुँच पुर्याउने लक्ष्य रहेको र ३७ लाख घरधुरीमा विभिन्न प्रविधिमार्फत विद्युत सेवा पुर्याउने योजना रहेको बताए। कार्यक्रममा मन्त्री घिसिङले सौर्य तापीय मार्गचित्र तथा कार्यान्वयन योजना विमोचन गरे। वार्षिकोत्सवकै अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो।