News Portal

बझाङमा खानेपानीको अभावले स्थानीय चिन्तित !

हिमाली संचार संवाददाता
६७० पटक

वसन्तप्रताप सिंह
बझाङ : बुंगल नगरपालिका ६ झलकपुरकी अनिता जाग्री असोजयता राम्रोसँग निदाउन पाएकी छैनन् । कतिबेला झिसमिसे उज्यालो होला र पानी लिन जाऊँला भन्ने चिन्ताले उनको निद्रा खल्बलिन्छ ।

‘बाहिर कुकुर–बिरालो हिंडे पनि उज्यालो भइसक्यो होला भनेर झसंग हुन्छु,’ उनले भनिन्, ‘कहिले त रातमा ४/५ पटक निद्रा खुल्छ ।’

जब चराहरू चिर्बिर गर्न थाल्छन् । अनितामात्र होइन, झलकपुर गाउँ नै चनाखो हुन्छ । झिसमिसेमै हतारहतार गाग्री टिपेर गाउँबाट झन्डै आधा घण्टा टाढाको कुवामा पानी भर्ने प्रतिस्पर्धा चल्छ । ‘कहिलेकाहीँ त म नै पहिला पुग्छु । कहिले त पनेरी (पानी भर्न जाने महिला) को लर्काे लागिसकेको हुन्छ,’ उनले भनिन् ।

वर्षात छिटो सुरु भयो भने असार मध्यतिर गाउँ नजिकैका मुहान रसाउन थाल्छन् । तीन महिनाजति यो गाउँका बासिन्दालाई खानेपानी गाउँनजिकै उपलब्ध हुन्छ । जब बर्खा सकिन्छ । ढुक्कले निदाउने दिन पनि सकिन्छ । दु:खका दिन सुरु हुन्छ ।

कुवामा पानी भर्नेको संख्या बढी भयो भने भएको पानी सकिन्छ । अर्काे गाग्रो पानी जम्मा हुन १५/२० मिनेट कुर्नुपर्छ । ‘कहिले त बिहान ४ बजे कुवामा पुगे पनि ९/१० बजेतिर मात्र पानी भर्ने पालो आउँछ,’ स्थानीय पुनी गुर्धामीले भनिन्, ‘पानी लिएर फर्कंदा खाना पकाउन ढिला हुन्छ । केटाकेटीको स्कुल पनि छुट्छ ।’ पानी भर्न अधिकांश विद्यार्थीको सातामा ३/४ दिन स्कुल छुट्ने गरेको उनले बताइन् ।

वर्षाैंदेखि खानेपानी समस्या भोग्दै आएका यहाँका बासिन्दा कसैले गोरस (दूध, दही र मही) माग्दा दिन लोभ मान्दैनन् । पानी दिन भने लोभ लाग्ने गरेको बताउँछन् । ‘बाबुबाजेका पालादेखि नै यस्तो दु:ख हो,’ दीपेश गुर्धामीले भने, ‘पानीको लोभ गर्ने दिन कहिल्यै सकिएन ।’

पानीको अभावले सरसरफाइमा पनि समस्या भइरहेको छ । नुहाउन र लुगा धुन झन्डै एक घण्टा टाढाको खोला धाउनुपर्ने भएकाले समयमै सरसरफाइ गर्न नपाइने अञ्जना बोहराले बताइन् । ‘मान्छेलाई खान, बस्तुलाई खुवाउन, चर्पीमा हाल्न पनि पानीको जोहो गर्न हम्मे हुन्छ । सरसफाइ केले गर्नु ?’ उनले भनिन्, ‘कामको चाप नभएको समयमा सातामा दुई पटक सरसरफाइ गर्न खोला झर्छौं । खेतीपातीको काम चलेका बेला त महिना दिन कुर्नुपर्छ ।’

खानेपानीको समस्याबारे वर्षाैंदेखि विभिन्न निकायमा धाउँदा पनि कुनै सुनुवाइ नभएको यहाँका बासिन्दाको गुनासो छ । गाउँमा पानीको सहज उपलब्धता भइदिए आफूहरू वर्षाैंदेखिको दु:खबाट मुक्त हुने उनीहरू बताउँछन् । यहाँको खानेपानी समस्या समाधानका लागि नगरपालिकाले प्रयास गरिरहेको बुंगल नगरपालिका ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका प्राविधिक शिव विष्टको भनाइ छ ।

गाउँभन्दा माथि मुहान नभएकाले खानेपानी योजना निर्माणमा समस्या भएको उल्लेख गर्दै गाउँभन्दा ४५ मिनेट तल रहेको मुहानको पानीलाई सोलार लिफ्टिङ गरेर समस्या समाधानको पहल भइरहेको उनले बताए । कान्तिपुर

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...