News Portal

बझाङमा खानेपानीको अभावले स्थानीय चिन्तित !

हिमाली संचार संवाददाता
६३७ पटक

वसन्तप्रताप सिंह
बझाङ : बुंगल नगरपालिका ६ झलकपुरकी अनिता जाग्री असोजयता राम्रोसँग निदाउन पाएकी छैनन् । कतिबेला झिसमिसे उज्यालो होला र पानी लिन जाऊँला भन्ने चिन्ताले उनको निद्रा खल्बलिन्छ ।

‘बाहिर कुकुर–बिरालो हिंडे पनि उज्यालो भइसक्यो होला भनेर झसंग हुन्छु,’ उनले भनिन्, ‘कहिले त रातमा ४/५ पटक निद्रा खुल्छ ।’

जब चराहरू चिर्बिर गर्न थाल्छन् । अनितामात्र होइन, झलकपुर गाउँ नै चनाखो हुन्छ । झिसमिसेमै हतारहतार गाग्री टिपेर गाउँबाट झन्डै आधा घण्टा टाढाको कुवामा पानी भर्ने प्रतिस्पर्धा चल्छ । ‘कहिलेकाहीँ त म नै पहिला पुग्छु । कहिले त पनेरी (पानी भर्न जाने महिला) को लर्काे लागिसकेको हुन्छ,’ उनले भनिन् ।

वर्षात छिटो सुरु भयो भने असार मध्यतिर गाउँ नजिकैका मुहान रसाउन थाल्छन् । तीन महिनाजति यो गाउँका बासिन्दालाई खानेपानी गाउँनजिकै उपलब्ध हुन्छ । जब बर्खा सकिन्छ । ढुक्कले निदाउने दिन पनि सकिन्छ । दु:खका दिन सुरु हुन्छ ।

कुवामा पानी भर्नेको संख्या बढी भयो भने भएको पानी सकिन्छ । अर्काे गाग्रो पानी जम्मा हुन १५/२० मिनेट कुर्नुपर्छ । ‘कहिले त बिहान ४ बजे कुवामा पुगे पनि ९/१० बजेतिर मात्र पानी भर्ने पालो आउँछ,’ स्थानीय पुनी गुर्धामीले भनिन्, ‘पानी लिएर फर्कंदा खाना पकाउन ढिला हुन्छ । केटाकेटीको स्कुल पनि छुट्छ ।’ पानी भर्न अधिकांश विद्यार्थीको सातामा ३/४ दिन स्कुल छुट्ने गरेको उनले बताइन् ।

वर्षाैंदेखि खानेपानी समस्या भोग्दै आएका यहाँका बासिन्दा कसैले गोरस (दूध, दही र मही) माग्दा दिन लोभ मान्दैनन् । पानी दिन भने लोभ लाग्ने गरेको बताउँछन् । ‘बाबुबाजेका पालादेखि नै यस्तो दु:ख हो,’ दीपेश गुर्धामीले भने, ‘पानीको लोभ गर्ने दिन कहिल्यै सकिएन ।’

पानीको अभावले सरसरफाइमा पनि समस्या भइरहेको छ । नुहाउन र लुगा धुन झन्डै एक घण्टा टाढाको खोला धाउनुपर्ने भएकाले समयमै सरसरफाइ गर्न नपाइने अञ्जना बोहराले बताइन् । ‘मान्छेलाई खान, बस्तुलाई खुवाउन, चर्पीमा हाल्न पनि पानीको जोहो गर्न हम्मे हुन्छ । सरसफाइ केले गर्नु ?’ उनले भनिन्, ‘कामको चाप नभएको समयमा सातामा दुई पटक सरसरफाइ गर्न खोला झर्छौं । खेतीपातीको काम चलेका बेला त महिना दिन कुर्नुपर्छ ।’

खानेपानीको समस्याबारे वर्षाैंदेखि विभिन्न निकायमा धाउँदा पनि कुनै सुनुवाइ नभएको यहाँका बासिन्दाको गुनासो छ । गाउँमा पानीको सहज उपलब्धता भइदिए आफूहरू वर्षाैंदेखिको दु:खबाट मुक्त हुने उनीहरू बताउँछन् । यहाँको खानेपानी समस्या समाधानका लागि नगरपालिकाले प्रयास गरिरहेको बुंगल नगरपालिका ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका प्राविधिक शिव विष्टको भनाइ छ ।

गाउँभन्दा माथि मुहान नभएकाले खानेपानी योजना निर्माणमा समस्या भएको उल्लेख गर्दै गाउँभन्दा ४५ मिनेट तल रहेको मुहानको पानीलाई सोलार लिफ्टिङ गरेर समस्या समाधानको पहल भइरहेको उनले बताए । कान्तिपुर

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...