News Portal

सहरबाट गाउँ फर्केर कुखुरापालनमा खिमलाल !

हिमाली संचार संवाददाता
५३२ पटक

प्रकाश बराल
बागलुङ, २७ चैत : ‘फागुन पहिलो साता खोरमा चल्ला हुलेका थिएँ । चैत दोस्रो साता धमाधम बिक्री भए । आफ्नो लागत उठाएर पनि एक लाख रुपैयाँ बचाएँ ।’ निसीखोला–३ झिवाखोलाका खिमलाल कँडेलले दानापानी, चल्ला किन्दाको खर्च र आफ्नो मिहिनेतको पारिश्रमिक कटाएर कमाएको पैसाले गाउँमै रमाउन सकेको बताएका छन् ।

वर्षमा उनले ६ पटक कुखराको चल्ला ल्याएर हुर्काएपछि बिक्री गर्छन् । यसरी उनले वार्षिक ६ लाख कमाइ गर्न सकेको बताए । नारायणगढको मण्डीमा बसेर उनले १५ वर्ष काम गरेका थिए । छोराछोरी हुर्काएपछि त्यस्तै काम आफ्नै घरमा गर्ने चाहना राखेर तीन वर्षअघि गाउँ फर्किए ।

खेतीपाती नगरेकाले बाँझिएको जग्गा उनले आवाद गरे । अहिले बारीमा तरकारी लटरम्म छ । श्रीमती र छोराछोरीले पनि उनको कामलाई सघाएका छन् । उनकै देखासिकी गरेर भाइ जोगलाल कँडेलले पनि व्यावसायिक रूपमै कुखुरापालनमा लागेका छन् । उनले पनि वार्षिक ४ लाख रुपैयाँसम्म कमाइ गर्न सकेको बताए ।

मध्यपहाडी लोकमार्गमा पर्ने झिवाखोलासहित झिम्पा, निसी, भलकोट र देविस्थानलगायत गाउँ बजार बनेका छन् । ती स्थानमा दर्जनौं रेस्टुरेन्ट र होटल खुलेका छन् । दैनिक बस, जिपलगायतका सवारी चल्न थालेकाले कँडेल दाजुभाइले उत्पादन गर्ने तरकारी र कुखुरा सहजै खपत हुने गरेको छ ।

‘हामीले उत्पादन गरेका कुखुरा त निसीका दुई जना व्यापारीले लैजाँदा सकिन्छ,’ खिमलाल कँडेलले भने, ‘अझै लगानी बढाए पनि खासै फरक पर्दैन ।’ मासिक १ हजारभन्दा बढी कुखुरा निसीखोला गाउँपालिकाभित्रको सडक आसपासमै खपत भइरहेको उनले बताए । लामो समय काम गरेको अनुभवले कँडेल दाजुभाइ कच्चा सामान ल्याएर दाना बनाउने गर्छन् । कच्चा सामानबाट दाना बनाउँदा खर्च कम लाग्ने गरेको उनले सुनाए । गाउँ फर्केपछिको कमाइबाटै उनले पुरानो घर भत्काएर नयाँ बनाएका छन् ।

लोकमार्गको छेवैमा भएकाले कृषि र पशुपालनको फाइदा उनीहरूले लिन सकेको बताए । ‘पहिला बस चढ्न पाल्पा पुग्नुपर्थ्यो, अहिले घरछेउमै गुडेको छ,’ कँडेलले भने, ‘गाउँमा विकास आएकोले सहरमा बस्न छाडेर फर्केका हौं ।’ बालबालिका पढाउन र रोजगारीको खोजीमा चितवन झरेका कँडेलले सडक, शिक्षा र स्वास्थ्य गाउँमा आएकोले फर्केको बताए ।

सहरमा बसेका अरू धेरै युवालाई पनि फर्कन उनले आग्रह गरेका छन् । कृषि र पशुपालनबाटै विकास र समृद्धि सम्भव छ भनेर उनले सिकाउन थालेका छन् । ‘अर्काको ठाउँमा काम गरेर भन्दा आफ्नै घरमा विकास गर्नुपर्छ,’ उनले भने, ‘विदेश जान खोज्नेलाई पनि कृषिमा लाग्न सुझाव दिन्छन् ।’

यहाँको निसीखोलाबाट सिंचाइ गर्न सकिने भएकाले बोहोरागाउँ, झिम्पा, निसीलगायतका स्थानमा कृषि उपज सजिलै उत्पादन गर्न सकिने उनले बताए । उनीहरूकै अगुवाइमा केही समयअघि कृषि सहकारी पनि खोलेका छन् । सहकारीमा धेरै जसोले अझै बचत र ऋणकै काम गर्छन् । कँडेललगायतका केही सदस्यले सबैलाई कृषि पेसामा लाग्न सुझाव दिने गरेको प्रबन्धक मीना हमालले बताइन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...