
नवलपुर, वैशाख ३० — पूर्व–पश्चिम राजमार्गको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत नवलपुरको चोरमारास्थित गिरुवारी खोलामा रहेको पुल भाँचिएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। गए राति क्लिङ्कर बोकेको एउटा ट्रक पुल पार गर्ने क्रममा संरचना भत्किँदा नारायणगढ–बुटवल सडक खण्डमा आवतजावत ठप्प भएको हो।
पुल भाँचिएपछि तत्काल सवारी रोकिए पनि वैकल्पिक मार्ग प्रयोग गरी सवारी सञ्चालनको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो। उहाँका अनुसार पश्चिमतर्फ गएका सवारीसाधनहरू चोरमारा बजार हुँदै तम्सरिया गाउँ पार गरेर रानीटार, फूलबारी, भिउरान हुँदै अरुणखोलाको मुख्य राजमार्गमा पुगिरहेका छन्।
खोलामा पानीको बहाव नहुँदा वैकल्पिक बाटो सहज रूपमा प्रयोग गर्न सकिएको छ। यस्तै, पूर्वतर्फ जान चाहने सवारी चोरमाराको फूलबारी हुँदै दक्षिणतर्फ लागेर तम्सरिया गाउँ हुँदै पुनः राजमार्गमा फर्कन सक्ने व्यवस्था गरिएको छ।
तर, ती मार्गहरू साँघुरा र मोडयुक्त भएका कारण ठूला लरी तथा भारी सवारीसाधनहरूलाई भने वैकल्पिक बाटो प्रयोग गर्न दिइएको छैन। पुल पूर्ण रूपमा क्षतिग्रस्त भएकाले तत्काल सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको डीएसपी नेपालले बताउनुभयो।
स्थानीयवासी तथा सवारी चालकहरूलाई असुविधा भए पनि सुरक्षा निकाय र स्थानीय प्रशासनको समन्वयमा वैकल्पिक व्यवस्था लागू गरिएको छ। स्थायी समाधानका लागि सम्बन्धित निकायलाई जानकारी गराइएको जनाइएको छ।
