News Portal

अर्को देशको आसमा सकिन्छ खाडीको कमाइ

७२१ पटक

जनकराज सापकोटा/काठमाडौँ — खाडीमा श्रम गरेर कमाएको पैसा अलि सुविस्ताको काम र धेरै तलब पाउने आशमा तस्करलाई बुझाएर फस्नेको संख्या बढेको छ । साउदी, कतार, मलेसियामा ५–१० वर्ष काम गरेपछि टर्की, ग्रिस वा मकाउजस्ता ‘राम्रो कमाइ हुने’ देश पस्ने लोभमा युवा फस्ने गरेका हुन् ।

यी ठाउँमा गतिलो काम पाइने आशमा वैदेशिक रोजगारीमा रहेका युवाले तस्करलाई २ लाख ५० हजारदेखि ७ लाखसम्म बुझाउने गरेका छन् । तर, पैसा बुझाइसकेपछि ती ठाउँमा जान नपाएका वा अवैध तरिकाले पुगेर फर्किनेको संख्या बढेको प्रहरीको भनाइ छ । प्रहरीमा आएका उजुरीले पनि त्यही देखाउँछ ।

कृष्ण घलेले दुबईमा ५ वर्ष पसिना बगाएर कमाएको पैसा मकाउ जाने आशमा गुमाए । लमजुङको दोर्दी गाउँपालिका ४ का उनले दुबईमा सँगै काम गरेका सफलराज कुँवरको भर परेर झन्डै ७ लाख रुपैयाँ बुझाएका थिए । गाउँका ४ साथीसँग पनि जनही ६ लाख ७५ हजारका दरले एकमुष्ट साढे २६ लाख रुपैयाँ संकलन गरेर सफलले भनेको मान्छेलाई दिए । तर न उनी मकाउ जान पाए, न उनका साथीहरू । यतिबेला कृष्ण फसेको पैसा उठाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो धाइरहेका छन् । ‘दुबईमा कमाएको सबै गयो, दु:खले कमाएको धन फस्यो,’ उनले भने ।

नवलपरासी, कावासोतीका टीकाराम भट्टराईले १० वर्ष मलेसिया र साउदी अरबमा बिताए । ५ वर्ष मलेसियामा काम गरेर फर्केलगत्तै साउदी गएका उनले त्यहाँ २ वर्ष बिताए । फेरि मलेसिया गएर ३ वर्ष काम गरे । अघिल्लो वर्ष माघमा उनी नेपाल फर्के । दशक लामो विदेश बसाइबाट जोगाएको रकम खर्चेर मंसिरमा फेरि टर्की लागे । पर्यटक भिसामा पुगेका उनले त्यहाँ भनेजस्तो काम पाएनन् ।

सोचेजस्तो कमाइ नहुने देखेपछि मानव तस्करको सहयोगमा अवैध रूपमा ग्रिस छिर्ने प्रयत्नमा उनी लागे । त्यही बेला पक्राउ परे । तीन दिन थुनामा बसेपछि नेपाल फर्किए । मनग्गे कमाउने लोभमा उनले मलेसिया र साउदी अरबमा पसिना बगाएर कमाएको करिब ६ लाख गुमाए । लामो प्रयास र झन्झटपछि उनले एजेन्टबाट साढे चार लाख मात्र फिर्ता पाए ।

साढे ६ वर्ष कतार बसेका पाल्पा, रामपुरका नारायण सुनुवारको व्यथा पनि यस्तै छ । डेढ वर्षअघि घर फर्केका उनले कमाएको पैसा कहाँ लगाउने भन्नेमै वर्ष दिन गुजारे । आफन्तको सल्लाहमा उनले पनि टर्की जाने प्रक्रिया सुरु गरे । दिल्ली हुँदै पर्यटक भिसामा टर्की पुगेका उनले भनेजस्तो काम त पाएनन् नै, आवासीय अनुमतिको कानुनी आधार पनि भेटेनन् । त्यसपछि उनी पनि मानव तस्कर गिरोहलाई पैसा बुझाएर ग्रिस जाने तयारीमा जुटे । त्यहीबेला पक्राउ परे । चार दिन थुनामा बसेपछि नेपाल फर्के । उनको पनि साढे ६ लाख रुपैयाँ गुम्यो । ‘कतारको कमाइ स्वाहा भयो,’ नारायण थक्थकाउँछन् । यतिबेला नारायणसहितका व्यक्तिले फसेको रकम उठाउन र अवैध रूपमा विदेश पठाउन संलग्नलाई कारबाही माग्दै केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दिएका छन् ।

इटहरीका उमेश विष्टको भोगाइ पनि उस्तै छ । पाँच वर्ष दुबई बसेर झन्डै दुई वर्षअघि फर्केका उनलाई लाग्यो– अब नेपालमै केही गर्नुपर्छ । के गर्ने भन्ने सोच्दासोच्दै केही महिना बित्यो । छटपटीका तिनै दिनमा उनको सम्पर्क दुबईमा सँगै काम गरेका पुराना साथी सफलराज कुँवरसँग भयो । मकाउ पुगेका सफलले आशा देखाएर भने, ‘मकाउ आउने भए चाँजो मिलाइदिन्छु । भनेजस्तो कमाइन्छ ।’

सफलले भनेअनुसार उनले ४ लाख ५० हजार रुपैयाँ सन्तबहादुर गुरुङको खातामा हालिदिए । उनले गाउँले, छिमेकी र नातेदार गरी सात जनासँग पनि पैसा उठाए । २५ लाख रुपैयाँ सफललाई दिने गरी सन्तको खातामा हालिदिए तर न उमेश मकाउ जान पाए न त गाउँले र आफन्त । उनले दु:खेसो पोखे, ‘खाडीको कमाइ मकाउ सपनाले डुबायो । साथीभाइ र आफन्तको पैसा पनि डुब्यो ।’

वैदेशिक रोजगारीबारे अध्ययन/अनुसन्धानमा संलग्न गणेश गुरुङ खाडी र मलेसियाबाट कमाएर फर्केकाहरू मानव तस्करको चंगुलमा परेर बिल्लीबाठ हुने प्रवृत्ति बढदै गएको बताउँछन् । गुरुङको बुझाइमा स्वदेशभित्रै लगानीको उचित वातावरण र केही रकमसहित फर्किएका कामदारको पैसा सदुपयोग गर्ने नीति नहुँदा यस्ता घटनाले निरन्तरता पाइरहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले साउन १३ मा मकाउ लैजाने आश्वासन दिएर ठगी गरेको आरोपमा सुनसरी, धरानका बालकृष्ण भण्डारीलाई पक्राउ गर्‍यो ।

उनीमाथि २३ जनाबाट प्रतिव्यक्ति २ लाख ७५ हजारका दरले रकम उठाएको आरोप थियो । यही अभियोगमा ब्युरोले काठमाडौं सरस्वतीनगरबाट सन्तबहादुर कुँवरलाई पनि पक्राउ गरेको छ । (कान्तिपुर)

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...