News Portal

  • कांग्रेस नेता उदयशम्शेरकाे सालिन राजनीतिक यात्रा !

    हिमाली संचार संवाददाता
    ८६९ पटक

    काठमाडौं – नेपाली कांग्रेसमा सक्रिय राजनीति गरीरहेका  व्यक्तिकाे सूचिमा पर्ने नाम हाे, उदयशम्शेर राणा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इतिहास तथा राजनीतिक अध्ययनबाट खारिएका उदयशम्शेरकाे निष्ठा र सालिन राजनीति उदाहरणीय छन् । उही उद्देश्यमा अडीग भइ राजनीति गर्न रूचाउने उनकाे राजनीतिक छवि पनि उत्तिकै अब्बल छ । उनलार्इ पार्टीभित्र वा बाहिर पनि एक विज्ञका रूपमा चिन्ने गरिन्छ ।

    तर, उनकाे राजनीतिक परिचय कुनै सामान्य स्तरबाट भने पक्कै भएकाे हाेइन । अाफ्नाे बाल्यकालबाट राजनीति र दर्शनलार्इ प्रत्यक्ष, पराेक्ष सुन्ने र बुझ्ने माैका उनले अाफ्नै बुबा र परिवारबाट पाएका हुन्। उनै उदयशम्शेरकाे राजनीतिक यात्रा तथा उनका विगत र वर्तमानका जीवन भाेगाइ पाठक, शुभेच्छुकसामू ल्याउने प्रयत्नका साथ नयाँ पाइला डटकमले उनकाे निवास ललितपुर हाइटमा पुगी भलाकुसारी गरेकाे हाे ।

    उदयशम्शेरकाे बाल्यकाल, अध्ययन र स्वभाव

    विक्रम सम्बत् २०२६ साल फागुन १३ गते बुवा सागरशम्शेर राणा र आमा बृन्दा राणाको कोखबाट कान्छा सुपुत्रको रुपमा ललितपुरमा उदयशम्शेरको जन्म भएको हो । उच्च खानदान अनि बृहत परिवारमा जन्मिएका उनी राणा परिवारका नातिहरुमा कनिष्ठ सदस्य भएकाले परिवारभित्र धेरै कुराकाे साथ संगतमा भने उनी निकट हुन पाएनन् ।

    प्रारम्भिक शिक्षा आरम्भ नेपालमै भएपनि दार्जिलिङको सेन्ट जोसेफ स्कूल नर्थ पोइन्टमा कक्षा ४ बाट उनले अध्ययन शुरु गरेका थिए । राम्रो स्कुलको रुपमा स्थापित सो विद्यालयमा राजा ज्ञानेन्द्रले पनि अध्ययन गरेका हुन् । नेपालबाट हुने खाने र घरानीया परिवारका छोराछोरी त्यस विद्यालयमा अध्ययन गर्थे, गर्छन् ।

    त्यहाँ पढ्ने बेला नेपालमा जनमत संग्रह हुँदैथियो । स्कूलमा छोरालाई भेट गर्न जाँदा नेपालमा के भइरहेको छ भन्ने बारेमा उनलार्इ बुबाले नै सुनाउँथे। उनका बुवा कांग्रेसमा सक्रिय भएर लागेको कुरा उनले त्यही बेला थाहा पाएका हुन् । नेपालमा बहुदल कि निर्दलको विषय उत्कर्षमा थियो, आफू सानै भए पनि त्यति बेलाको नेपालको राजनीतिक अवस्थाबाट जानकार हुने मौका उनलाई बुवाले नै गराउँदै अाएका थिए।

    उनीसँगै राजदरबारको नजिकका अधिकांश साथीपनि संगै पढ्थे । त्यो बेलाको समय उदार थिएन, हुने खाने वर्गका भएपनि, बोल्न सक्ने क्षमताका भएपनि, मनमा लागेका कुरा केहि बोल्न नसक्ने परिस्थिति थियाे , सबैमा एक प्रकारको कुण्ठा हुन्थ्यो । २०३६ सालमा जनमत संग्रहको नतिजा आयो, जनमतको परिणाम स्कुलका फादरले सबैलार्इ सुनाए ।

    सबैले जनमतकाे ताली बजाए तर उनले बजाएनन् । उनले फादरलाई गाली गरे त्यही विषयलाई लिएर फादरले उनलाई कारबाही पनि गरे । उनको हठ र त्यो बेलाको फरक सोंचको प्रभावलाई देखेर फादरले धेरै कुरा सम्झाउने, बुझाउने काम गरेछन् । उनको परिवारको हैसियत लगायतका सबै कुरा उनलाई बताउँदै आफू पनि लोकतन्त्रको पक्षधर हो भनेर करिब १ घण्टा सम्झाएपछि उनको मनमा शान्ति महसुस भएको थियो ।

    स्कुलमा नेपालको जनमत संहग्रको बारेमा सबैले राजा भने तर उनले हुदैन, नेपालमा बहुदल हुनुपर्छ भने, तर उनको कुरा सुन्ने कोही थिएन । जनमतको नतिजा आएपछि निर्वाचनको समयमा केहि पत्रपत्रिकाहरुमा बम पड्काउने लगायतका समाचार आउँथे, उनी भन्छन्- म त्यो समय धेरै चिन्तित भएकाे थिएँ, किन कि नेपालमा उनको परिवार थियो, त्यसमा पनि कांग्रेस भएर लागेकाे ।

    त्यसकारण केहि भइहाल्छ कि भन्ने डर निकै थियो । त्यस समयमा उनको घरमा २ वटा पेट्रोल बम पनि हानिएको थियो । त्यसले गर्दापनि उनलाई अलि बढी तनाव हुन्थ्यो । उनले पहिलो पटक आफु समावेश नभएपनि राजनीति के रैछ भन्ने अनुभुति त्यही बेला गरेका थिए, जुन कुराको महशुस अहिलेपनि उनी गर्छन् ।

    राती सुतेको समयमा बुवाको कुरा उनको मनमा सँधै खेल्ने गर्थ्याे । राजनीतिमा लागेर बुवा सुरक्षित हुनुहुन्छ कि हुदैन ? बहुदलमा लागेको मान्छे, केही भयो कसो होला के होला ? भन्ने जस्ता विविध प्रश्नहरु उनको मानसपटलमा सँधै रहन्थ्यो । समय अघि बढ्दै गयाे, उनी दार्जीलिङको पढाइ सकाएर सिम्लामा पढ्न गए । त्यहाँको अध्ययन पुरा गरेर दिल्ली विश्वविद्यालयमा स्नातक अध्ययनका लागि साेझिए ।

    नेविसंघ दिल्ली इकार्इ सभापति बनेर जाँदा

    त्यो समय उनलाई राजनीतिमा खासै चासो थिएन तर, पारिवारिक पृष्ठभूमि नै राजनीतिक भएकाले इच्छा भने केहि पक्कै थियो । संयोग भनौ या के , उनी दिल्लीबाट केही दिनका लागि घर फर्किएका थिए । बुवासँग जमल गएका बेला पहिलो पटक केहि नेपाली कांग्रेसका नेताहरुसँग उनको भेट भयो । २०४६ सालको जनआन्दोलनको तयारी हुँदै थियो । त्यही बेला नेविसंघको कार्यकक्षमा उनका बुवाले ‘यो मेरो छोरा’ भनेर सबैलाई परिचय गराइदिए ।

    उनले त्यहाँ उपस्थित नेता कसैलाई चिनेनन्, पछि कुरा हुँदैजादा ती नेताहरु तत्कालीन नेविसंघका सभापति बालकृष्ण खाँण, महासचिव नविन्द्रराज जोशी, र विदेश विभाग प्रमुख केन्द्रीय सदस्य अर्जुन थापा रहेछन्  भन्ने थाहा पाए । केही दिनपछि फेरि त्यही पुग्दा सबै जना मिलेर उनलाई राजनीतिमा आउन आग्रह गरे, धेरै सम्झाए । उनीहरुले- ‘दिल्लीमा नेविसंघ इकाइ छैन तिमीले गठन गर्नुपर्यो’ भनेर ती नेताहरुले उनलाई आग्रह गरे ।

    छलफल भएको केही समयमै त्यहाँबाट निस्कँदा उनलाई दिल्ली विश्वविद्यालयको नेविसंघ इकाई सभापति भनेर पत्र थमाइयो, उनी त्यही पत्र बोकेर दिल्ली हिँडे । उनी माथि त्यहीँबाट विद्यार्थीकालीन राजनीतिक जिम्मेवारी थपियो, नेविसंघमार्फत उनले प्रारम्भिक राजनीतिक जीवनयात्रा प्रारम्भ गर्न पुगे ।

    दिल्लीमा राजनीति गर्न सजिलाे थियाे….

    त्यो समय दिल्लीमा (एनएसए) नेपाली विद्यार्थी समाजको ठुलो समूह थियो । उनले नेविसंघको पत्र बोकेर हिँडेपछि त्यहाँ विभाजनको स्थिति पनि आयो । उती बेलामा, ‘यो उदयशम्शेरले के राजनीति गरेको’ भन्दै धेरैले हपारे, तर उनले होइन- ‘अब नेविसंघ गठन गरेर जानुपर्छ’ भनेर काम अघि बढाए । दिल्लीमा नेविसंघ गठन गरे पछि उनी जयपुर र चण्डीगढ गए त्यहाँपनि नेविसंघ गठन भयो । त्यो बेलामा चण्डीगढमा झगडा नै भएको सम्झना गर्छन् ।

    त्यसपछि उनी विभिन्न विद्यार्थी आन्दोलनमा लागे, त्यहाँ काँग्रेस नेता चक्र बास्तोलासँग पनि भेट भयो, उनीसँग पछि विभिन्न कार्यक्रमका विषयमा छलफल पनि गर्थे । दिल्लीमा नेविसंघको नेतृत्वमा भव्य जुलुश पनि निकाले । विभिन्न पत्रिकामा फोटोसहित समाचार छापियो । ‘लौ उदय त नेता भएछ’ भन्ने खबर नेपालमा उनका परिवारसम्म अाइ पुगेछ ।

    इन्डीया एस्प्रेश र टाइम्स अफ इन्डीयाले  उनीहरूकाे समाचार प्रकाशनमा सघाएका थिए । त्यही आन्दोलनमा लागेर ‘हाम्रा छोरा छोरी उदयले बिगार्यो, नेपालमा पनि हामीलाई गाह्रो भयो’ भन्ने सम्मका कुरा उनको बुवालाई कतिपय अभिभावकले गुनासो गरेछन् । त्यो कुराले उनलाई राजनीतिमा लाग्न अझै इच्छा जागृत गरेको थियो, उनी अझै सशक्त भएर अब राजनीति गर्नु पर्छ भन्नेमा पुगे ।

    त्यो समयमा दिल्लीमा बसेर विद्यार्थी राजनीति गर्न घेरै सजिलो भएको उनी बताउँछन् । त्यहि मौकाको फाइदा उनले लिए, त्यहाँ राजदरबारसँग नजिक भएका साथीहरु भएपनि उनलाई सबैले सहयोग गरेका थिए । पञ्चायत व्यवस्था प्रति सबै दिक्क भइसकेकाले पनि हुन सक्छ जनआन्दोलन भयो र त्यो सफल पनि भयो । त्यो समय नेपालमा पत्रपत्रिका बन्द थिए, लुकाई छुपाई लिएर आएका पत्रिकामा आन्दोलनको फोटो हेर्दै नेताहरुले ‘यो त सागर शम्शेरको छोरो उदय शम्शेर होइन र’ ? भन्दा उनलाई औधी आनन्द लाग्थ्यो ।

    नेपाल फर्किने कि अमेरिका मै बस्नेमा भएकाे अन्याैल ?

    केहि वर्षको दिल्ली बसाईपछि उनी अमेरिका पढ्न गए । पढाइ र आफ्नो जीवन कसरी अघि बढाउने भन्ने सोंचमा उनी निकै घोतलिए । पढाइमा अब्बल उनलाई अमेरिकाको पढाइपछि जागीर खानलाई कुनै समस्या थिएन । दिल्लीमा इतिहास शास्त्रमा स्नातक गरेका उनले अन्तर्राष्ट्रिय सम्बन्धविषयमा अमेरिकाको कर्नेल युनिभर्सिटीबाट स्नातकोत्तर अध्ययन पूरा गरे । त्यो बेलामा उनलाई नेपाल फर्किने कि उतै बस्ने दोधार भयाे । नेपालमा रहँदा गरेकाे राजनीतिकाे नशा उनमा चढिसकेकाे थियाे, जसका कारण अमेरिका उनलार्इ निरस लाग्थ्याे, तै पनि के गर्रने भन्नेमा उनी पुग्न सकेका थिएनन् ।

    त्याे बेला बुवासँग सुझाव मागे, ‘बुवाले राजनीति गर्ने हो भने नेपाल आउनु, होइन भने त्यहाँ राम्रो हुन सक्छ भन्नुभएको थियो तर म साधारण जीवनशैली रुचाउने भएकाले त्यहाँको जीवन भोगाइ मनाई मन नपरेकाले नेपालमै अव केही गर्नु पर्छ भनेर यतै आएँ’- उनी भन्छन् ।

    आफ्नो मार्ग निर्देश गर्ने विषयमा सधैभर उनलाई परिवारकै साथ सहयोग थियो, रह्याे , त्यसैले पनि उनका लागि आमा बुवा दुवै समान लाग्छन् । उनले बुवाबाट सिकेको सबैभन्दा ठूला कुरा इमान्दारीता नै थियो, हो पनि । राणा परिवारमा जन्मिएको भएपनि सबैलाई हेर्ने नजर समान हुनुपर्छ भन्ने थियो, जो व्यहारमा पनि देखिंदै आएको छ । उनी भन्छन्-‘मेरो शरीरमा बगेको रगत अहिले पनि चन्द्र शम्शेरकै हो तर पनि हामीमा कुनै घमण्ड छैन, बुवाले सिकाएको बाटोमा छु।’

    दिल्लीमा  अन्तर्राष्ट्रिय युवा सञ्जाल थियो, त्यहाँ उनलाई अध्यक्ष बनाउने मध्यका अर्जुन थापा थिए, उनी अहिले फोरममा छन् । थापा अन्तर्राष्ट्रिय युवा सञ्चालको उपाध्यक्ष थिए । अन्तर्राष्ट्रिय युवा सञ्जाल यूसिको अधिवेशन इटलीमा हुँदै थियो । त्यो समय कृष्णप्रसाद भट्टराई (किसुन जी) अध्यक्ष थिए । मैले राम्राे अंग्रेजी बोल्ने र जान्ने भएकाले अर्जुनले आफूलाई सिफारिस गरेको उनी बताउँछन् । त्यो सम्मेलनमा उनी सहभागी भए । त्यहाँ पुग्दा उनलाई उपाध्यक्ष बनाइयो तर नेपाल आएपछि विरोध पनि भयो उनले सबै असमझदारीलाई मिलाएर अघि बढे ।

    तरूण दलबाट राजनीतिमा धमाकेदार प्रवेश

    उदयको यूसीमा कार्यकाल सकिन लाग्दा नेपालमा तरुण दल गठन हुन लागेको थियो । तत्कालका लागि बालकृष्ण खाँण अध्यक्षमा मनोनित भएकाले उनले उदयशम्शेरलाई अन्तर्राष्ट्रिय सञ्जालमा दिल्लीको तरुण दलमा समावेश गर्न लगाए । त्यसपछि खाँणले तत्काल सभापतिबाट चिट्ठी बनाएर निवेदनसहित सिफारिस गरे । उनी नेपाल आउँदा तरुण दलको कार्यसमिति चयन भइसकेको थियो । उनलाई केन्द्रीय सदस्य बन्न आग्रह थियो तर उनलाई आफै राजनीति गर्ने कि नगर्ने दोधार मन थियो । उनले त्यो बेला अस्विकार गरे किनभने, उनलाई ललितपुरको जिल्ला अध्यक्ष बन्ने इच्छा थियो ।

    भए जिल्ला अध्यक्ष होइन भने ठिकै छ भन्ने थियो । पछि बालकृष्ण खाँण लगायतका नेताहरुले विरोधका बाबजुद पनि उनलाई जिल्ला अध्यक्ष बनाए । २०५६ सालमा त्यहीँबाट नै उनको पार्टी राजनीति शुरुवात भयो । उनलार्इ अाफ्नाे क्षेत्र ललितपुर, गोदावरीसम्म हो जस्तो लागेको रहेछ तर पछि राजनीतिक तवरबाट घुम्दै जाँदा सबै बुझे । उनले राजनीति कै क्रममा देशका ७२ जिल्लामा पुगेर त्यहाँका अवस्थितिलाई नजिकबाट नियाल्ने अवसर पनि पाए । अझ भनौं सिंङगो नेपालको भौगोलिक अवस्थालाई बुझ्ने काम गरे ।

    तरुण दलको जिल्ला अध्यक्ष भइसकेपछि विभिन्न वडा, स्थानमा कार्यक्रम गर्दै आफ्नो पक्षमा मत जुटाउँदै गए । जसले गर्दा उनलाई राजनीतिक जग बलियो बनाउन आधार मिल्यो, उनी तरुणदलको जिल्ला निर्वाचनमा भारी मतले विजय पनि भए । ललितपुरको कांग्रेस राजनीतिक सोंच अहिलेको जस्तो उतिबेला नरहेको उनको बुझाइ छ।

    ललितपुरमा कांग्रेसले जीत हासिल गर्न नसकिरहेको अवस्था पार्टी विभाजन भएको थियो, त्यो समयमा उनी शेरबहादुर देउवाको पार्टीमा पसे । जिल्लामा रहेर उनले सक्रियरुपमा काम गर्न थाले । बालकृष्ण खाँडलाई संगठनमा सचिव चाहिएको थियो, उनले खाँणको आग्रहमा सचिवको काम पनि गरे ।

    त्यसपछि तरुण दलको चितवनमा भएको निर्वाचनबाट उनी महासचिवमा विजय भए । त्यो संगै विभाजित पार्टी पनि एक हुँदै थियो । पछि उनलाई तरुण अध्यक्ष महेन्द्र यादवले महामन्त्री छोडेर उपाध्यक्षमा आउन आग्रह गरे पनि उनले मानेको थिएनन् तर, पछि पार्टी मिलाउनलाई भएपनि उनले पद छोडे भाग्यवश उदय प्रथम उपाध्यक्ष हुन पुगे । जुन अध्यक्षको विकल्पमा जिम्मेवारी लिने थियो त्यो बेलामा पनि उनलाई न चाहँदा नचाहँदै फाइदा भयो ।

    पार्टी राजनीतिबाट नेता बनेर सरकारमा पुग्दा

    २०६४ सालमा उनलाई ललितपुर- १ बाट पार्टीले टिकट दिएको थियो । माओवादी भर्खर राष्ट्रिय राजनीतिमा आएकाले उनलाई आफूले नै चुनाव जित्छु भन्ने लागेका रहेछ तर वर्षमान पुन उनको ठाउँमा चुनाव लड्न गए । त्यो बेलामा वर्षमानको निकै चर्चा भयो । माओवादी लडाकु कमाण्डर भनेर पुन परिचित थिए । तर पनि आफुले जनताका लागि काम गरेकाे हुँदा आफ्नै पक्षमा जनमत आउनेमा उनी ढुक्क थिए यद्दपि उनी ५-६ सय मत अन्तरले चुनाव हारे ।

    तर पनि माओवादीका चर्चित नेतालाई हम्मेहम्मे पारेकोमा त्यो बेला उनकाे निकै चर्चा भयाे । त्यसपछि २०७० को निर्वाचनमा ललितपुुरबाट पहिलो पटक सजिलै जिते । जसका कारण उनी सरकारमा अर्थ राज्यमन्त्रीका रुपमा पनि काम गर्ने अवसर प्राप्त गरे । अर्थ राज्यमन्त्री भएका बेला उनले विभिन्न महत्वपूर्ण काम पनि गर्न भ्याए । जुन याेगदानलार्इ धेरैले सम्झना गर्छन् ।

    विश्वास गरिएका नवराजले नै ढाँटेपछि……

    नेपालमा संविधान जारी भएपछि त्यसकाे कार्यान्वयन प्रकृया स्वरूप २०७४ मा संघीय निर्वाचनमा उनी ललितपुरबाटै उठे । त्याे निर्वाचन उदयशम्शेरले जित्ने भन्ने लगभग पक्का जस्तै थियो  । पहिलेपनि उनी आफ्नो क्षेत्रका जनतासँग साक्षात्कार गर्दै अाएकाे, चुनाव जिति सकेकाले सबै गतिविधि थाहा थियाे । सरकारमा छँदा पनि जनतासँगकाे भेटघाटलाई निरन्तरता दिँदै आएका थिए ।

    त्यहीबेला प्रहरीकाे जागीर छाडेपछि नवराज सिलवालले एमालेबाट टिकट लिइ चुनाव लड्ने भन्ने हल्ला थियो । उनै नवराजलाई आईजी बनाउन उदयशम्शेरले निकै कसरत पनि गरेको थिए । आफ्नै क्षेत्रको मान्छे त्यसमा पनि लाइनमा रहेकाले अाइजी हुनुपर्छ भन्ने उनको प्रयास थियो । क्षेत्र एउटै अनि पारिवारिक सम्बन्ध पनि राम्रो भएकाले सबै कुरामा सहयोग आदान प्रदान पनि भएको उनी बताउँछन् । नवराजको चर्चा चलेपछि उदयशम्शेरले उनलाई साधेको पनि रहेछन्, ‘दाई मिडियामा नाम आइरकेको छ,चुनाव लड्ने हो’ ? भनेर ।

    उनले ‘भाई म हजुरको विपक्षमा कसरी लड्न सक्नु’ भनेछन् । बाहिर पनि उदयको विरुद्धमा नजाने भन्ने सुनेको तर पछि त्यो भएन उनी एमालेबाट चुनावमा उठे । त्यो कुरामा नवराजले उदयशम्शेरलार्इ धोका दिए, उनी भन्छन्, ‘नवराजले मलार्इ ढाट्नु हुदैनथ्यो’,  त्यो समय नवराजप्रति एमालेको सहानुभुति हुँदै गयो । यसैपनि माओवादीसँग मिलेर चुनाव लडेकाले पनि नवराजलाई जित्न धेरै बल पुगेको उनको बुझाइ छ ।

    तर पनि अहिलेसम्मको राजनीतिक यात्रा तय गर्दा उनलाई परिवारका सबै सदस्यहरुले उत्तिकै साथ र हौसला दिएका छन्, उनका शुभेच्छु, अाफन्तकाे साथ र सहयाेग हमेशा उनीसँगै छ । राजनीतिमा हार या जीत भन्दा पनि निष्ठाकाे राजनीति अहम् हुने कुरा उनका सिद्धान्त हुन् ।सबैकाे निरन्तरको साथ र हौसलाले उनलाई यस क्षेत्रमा लाग्न थप उर्जा मिलेको हो ।

    सरकार काम छाडेर कुरातिर केन्द्रित भयाे………

    अहिलेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्री भएकाले उनले चाहेको खण्डमा जे पनि गर्न सक्ने सरकार नेपालीले पाएको उनी ठान्छन् । सरकारले गरेका राम्रा कामहरुको मुल्याङकन र सहयोग गर्नुपर्छ भन्नेमा उनी छन् । तर, अहिलेको सरकार काम गर्नुु भन्दा सस्तो लोकप्रियतामा रमाइ रहेको उनलाई लागेकाे छ।

    जुन विषय सरकारको आयस्रोत र पहुँचले नधान्ने हुँदा त्यही कुरालार्इ सरकारले आफ्नो पहिलो प्राथमिक्तामा राखेर अघि बढेको उनको बुझाइ छ । मेलम्चीको पानी उपत्यकामा ल्याउन दशकौ कुनु पर्ने, सवारी लाइसेन्स लिन वर्षदिन कुर्नु पर्ने, ठेकेदारहरु देशको विकास निर्माणको पहरेदार हुने, सुशासन हराउँदै जाने, भ्रष्टाचार माैलाउँदै जाने प्रवृत्तिले गर्दा देश उभो लाग्ने छाँटकाँट उनी देख्दैनन् । विदेशीले बनाउँदै गरेको विकास पूर्वाधार के भइरहेका छन् , महंगी बढेर कहाँ पुग्यो ? सुशासनमा राज्यकाे उपस्थिति खाेइ ? उनी प्रश्न गर्छन् ।

    देशमा बलात्कार र अपराधका घटना बढ्नुले राज्यको उपस्थिति कमजोर बनेकोमा उनी आक्रोश पोख्छन् । स्थानीय तहमा जनताले पाउनुपर्ने अधिकार अझै पुगेको छैन । काठमाडौंको स्थानीय तह सञ्चालन र जुम्लाको स्थानीतह सञ्चालनको अवस्था समान हुनै सक्दैन, कस्ले बुझ्ने ? आज भोलि यी र यस्तै कुराले उनलाई बेचैनी बनाएको छ ।

    गर्नु पर्ने काममा ध्यान दिएर जनभावना अनुरुप सरकारले परिणाम देखिने गरी काम गरोस् भन्ने उनको आग्रह हो । उनलाई लाग्छ, देश अब जसरी पनि बन्नु पर्छ, बनाइनु पर्छ, सुशासन कायम हुनु पर्छ । उनी भन्छन् – ‘जनताले सरकारलार्इ काम गर्ने सुनौलो अवसर दिएका छन्, अझै पनि यो वा त्यो भन्दै काम नगर्ने तर कुरा ठूलामात्रै गर्ने हो भने सरकार इतिहासको कंलक बन्न कुनै बेर लाग्ने छैन ।’ नयाँपाइलाबाट

    प्रतिकृया दिनुहोस्

    सद्भाव बचतद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

    बैशाख-१५, शनिबार/मोरङ – कहिले पनि न अस्ताउने सूर्य को सहर गाउँ सर उज्यालो बनाउने सद्भावको...

    ब्रह्म कुमारी उपशाखा रङ्गेलीको २१औं वार्षिक उत्सव सम्पन्न

    बैसाख-१५, शनिबार/मोरङ –   माेरङकाे  रंगेली नगरपालिका ७ स्थित बस पार्कमा रहेको ब्रहृमा कुमारी उपशाखा केन्द्र...

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुबेतमा ४ जना नयाँ पत्रकारको प्रवेश

    कुवेत – नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको दोस्रो बैठकबाट कुवेतको विभिन्न मिडियामा आबद्ध भएका...

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal