News Portal

  • प्रवासबाट आमालाई छोराको चिठी !

    उज्ज्वल दाहाल
    ९३६ पटक

    मेरो प्राण भन्दा प्यारी मामु,
    सादर प्रणाम।

    हजुरको हातले लगाइदिएको तोरीको तेलले मजबुत बनेको मेरो शिरले हजुरका चरण स्पर्श गर्न नपाए पनि प्रवासी भूमिबाट उही इज्जत र सम्मानका साथ सेवा ढोग अर्पण गर्न चाहन्छु।

    विश्वव्यापी रूपमा फैलिएको यस महामारीमा हजुरहरू सम्पुर्ण सुरक्षित र स्वस्थ रहनुहोस भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछु। नेपालमा दिनदिनै कोरोनाका संक्रमित बढिरहेको अवस्था छ, आफ्नो र परिवारको ख्याल गर्नुहोला।

    युएईमा त कोरोनाको भय लगभग हटिसकेको छ। कोरोना विरुद्ध लड्ने देशहरू मध्य युएई विश्वमा तेस्रो नम्बरमा सूचीकृत भएको छ। यहाँ धेरै व्यवस्थित तरिका अपनाएर कोरोना विरुद्ध सबै एकजुट भएर काम गरिरहेका छन्।

    यहाँका जनताले पनि उत्तिकै साथ सहयोग गरिरहेका छन्। महिनौदेखि बन्द भएका सपिङ मलहरू, होटेलहरू र पार्कहरू सुचारु हुन थालिसकेका छन्। यहाँको अवस्था सामान्य बन्दै छ। यताको चिन्ता नलिनु होला।

    संक्रमित हुनेहरुको संख्या भन्दा निको भएर फर्कनेहरुको संख्या धेरै भएको छ यता। कोरोनाका कारण विभिन्न शक्तिशाली देशहरू आर्थिक र सामाजिक रूपमा थला परिसकेका छन्। यसको असर यहाँ रहेका नेपालीहरूमा पनि परेको छ।

    धेरैले रोजगार गुमाएका छन्। कोही बेतलवी विदामा बसेका छन। कोही संक्रमित भएर बसेका छन्। केहीको मृत्युसम्म भएको छ। मेरो बारेमा तपाईं धेरै चिन्ता लिनुहुन्छ। तपाईंको अपार माया पाएर हुर्केको म सानातिना समस्यालाई पार लाउन सक्ने भएको छु। चार चोटी गरेर एकतीस दिन क्वारेन्टिनमा बसे पनि यो भाईरसले मलाई छुन सकेन।

    हजुरको आशीर्वाद र प्रार्थनाको अगाडि यो निर्दयी भाइरसले हार्यो। अहिलेसम्म हारिरहेकै छ। तर, दु:खको कुरा त के भने नी मामु, कोरोनाको कारणले मृत्यु भएकाहरूको अन्त्येष्टि यही गर्नुपर्ने बाध्यता छ।

    मृतकको लाससम्म परिवारले देख्न नपाउने कस्तो रोग होला है ! यो आफनै परिवारका सदस्य संक्रमित हुँदा सम्म छुन नपाईने, साथ बस्न नपाईने ! खैर, सबै ठीक होला।

    हजुरले राजकुमार झै हुर्काएको छोरा आफ्नो भाग्य खोजदै भविष्य बनाउन प्रदेसिएको यतिका वर्ष बितिसक्दा पनि न त भाग्यले नै साथ दियो, न त आफ्नो भविष्य नै बनाउन सकेँ। न त परिवारलाई खुसी राख्न सकेँ।

    आफ्नो भविष्य बनाउन नसक्दा नसक्दै अरुको दुःखको सारथी बन्छु भनी समाजसेवामा होमिएको छु म।
    विश्व व्यापीरूपमा फैलिएको कोरोना भाईरसका कारण यो मरुभूमिमा अलपत्र परेका नेपाली दाजुभाइ र दिदीबहिनीहरूलाई केही हदसम्म सहयोग गर्न पाउदा र साथ दिन पाउदा खुसी छु।

    युएईमा केही महिनादेखि रोजगार गुमाएर बसेका, बेतलवी बिदामा बसेका, भिजीटमा आएर अलपत्र परेका दाजुभाइ दिदीबहिनीहरूको साहारा बन्न पाउदा, उहाँहरूको दुखमा, “हामी छौ नि पिर नगर्नुस” भन्दा उहाँहरूको अनुहारमा देखिने खुसी नै अहिलेसम्मको सच्चा कमाइ भएको छ।

    हामीप्रति उहाँहरूको भरोसा देख्दा करोडौको आलिशान महलभित्र चिसो एसीको हावा खाँदै आरामदायी किंग साइज बेडमा ढल्केको अनुभुति हुन्छ। हजुरले भन्नु हुन्थियो नि “गाँस छोडनु तर साथ नछोडनु”। हो, त्यही कुरालाई आत्मासाथ गरी हमेशा अगाडि बढे।

    पुर्व मेचीदेखि पश्चिम महाकाली सम्मका साथीहरू बनाएँ। आफ्नो तर्फबाट सक्दो मित्रता नि निभाएकै हो तर पनि यो उराठ लाग्दो मरुभुमीमा बसेर हो कि, प्रायको मुखमा राम राम बगलीमा छुरा गर्ने आदतले थकित भई सकेको छु।

    मैले काँधमा चढाएर माथि पुर्याएका मान्छेहरूले केही माथि पुगिसके पछी मलाई नै लात्ती हान्दा पनि सहेकै छु। ज़िन्दगीमा मलाई कति पिडा छ, कति समस्याहरूसँग झुधिरहेको छु भन्ने कुरा हजुर बाहेक कस्ले बुझेको होला र ?

    हजुरले भन्नुभएको, “मनमा जति पिडा भए पनि सबैको सामु हास्न नछोड़नु, महान वाक्यलाई अवलम्बन गर्ने कोसिस मेरो जारी छ। तपाईंले यो पनि बारम्बार सम्झाएको वाक्य “मान्छेहरूले तिम्रो बाहिरी आवरण हेरेर जज गर्छन।

    त्यही कुरालाई आफ्नो ज़िन्दगीमा लागु गरी सबैलाई कन्फ्युजमा राखी अघि बढिरहेको छु। हो, मलाई पनि सुख छैन, खुसी छैन तर यस मरुभुमीमा भेटिने दाजुभाइ दिदीबहिनीहरूको पिडा र दु:खको अगाडि आफुलाई फेरि हजुरले भने झै राजकुमार हुँ झै लाग्छ।

    कोही ७/८ महिनादेखि काम नगरी बिना तलब बसेका भेटिन्छन्, कोही ७/८ महिनादेखि कामको खोजीमा कहिले कस्को कोठा त कहिले कस्को कोठा सर्दै भौतारिरहेका छन्।

    कोही दलालले पैसा खाएर पास्पोर्ट सम्म नभएका पनि छन्। कोही चेलीहरू महिनौदेखि एकसरो कपडा लगाएर बन्द कोठामा थुनिएर बसेका छन्। कोही कोठाको भाडा दिन नसकेका कारण कोठाबाट निकालिएका छन्।

    कोही बिरामी पर्दा नि हस्पिटल सम्म जान नसकेर बसेका भेटिन्छन्। यी सबै पिडितहरूको अगाडि म धेरै सुखमा छु भन्ने अनुभुति हुन्छ।
    म सुखमा छु भनेर खुसी भएको चाही बिल्कुल होईन है मामु। म उहाँहरूको दुख सेयर गरिरहेको छु।

    उहाँहरूको दु:खमा केही हदसम्म मलम पट्टी गर्ने कोसिस गरिरहेको छु। आफ्नो र आवद्ध संस्थाको मद्दतले केही हद सम्म खुसी छर्ने प्रयास गरिरहेको छु।

    आज सम्म एनआरएनए,युएईको मातहतमा रहेर क्षेत्रीय अध्यक्षको हैसियतले यस महामारीमा कोही पनि भोकै बस्न नपरोस भन्ने एनआरएनए,युएईको उदेश्यलाई शिरोपर गर्दै बिना काम, बिना तलव बसेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूको घरदैलोसम्म खाद्य सामग्री पुर्याएर सहयोग गरिरहेका छौं।

    बिरामीहरूलाई हस्पिटल पुर्याउने, विभिन्न कुराहरूमा परामर्श पनि गरिरहेका छौं। यहाँ(अलऐन)बस्ने नेपाली दाजुभाइ-दिदीबहिनीहरूले पनि उत्तिकै साथ सहयोग गर्नु भएको छ।

    यो विषम परिस्थितिमा कसैले खाद्यान्न खरिद गर्न आर्थिक सहयोग गर्नु भएको छ भने कसैले वितरण गर्न। मेडिकल फिल्डमा काम गर्ने नेपालीहरूले स्वास्थ्य सम्बन्धी सल्लाह र परामर्श दिएर सहयोग गर्नु भएको छ।

    अग्रज र बुद्धिजिवी वर्गहरूले सही मार्ग देखाएर हौसला बढाई नडगमगाइ अगाडि बड्न प्रेरित गरिरहनु भएको छ। केहि पत्रकार मित्रहरूले आफ्नो कलमलाई सम्मानजनक ढंगले प्रयोग गरी राजदुतावास र सरकार समक्ष पिडितको आवाज पुर्याउन मद्दत गर्नु भएको छ। एउटा नेपालीलाई पिडा हुदा अर्कोलाई दुख्छ भन्ने कुरा अहिले आएर प्रमाणित भएको छ।

    जुन साथ सहयोग देखेर हृदय नै प्रफुल्लित हुन्छ। हुन त युएईको हरित नगरी अलऐनका नेपालीहरूले नेपालीहरुको समस्या समाधान गर्न हमेशा हाम्रो साथ दिनुभएको छ।

    यसरी नै सबै जना एकजुट हुनु भने जस्तो परिस्थितिमा पनि सहज ढंगले लड़न सकिने रहेछ भन्ने पनि प्रमाणित भएको छ। यहाँको(युएई) सरकारले नि धेरै सहयोग गरेको छ। बाह्य देशका नागरिकहरूलाई पनि आफनै देशको नागरिक सरह बिना भेदभाव उपचार दिइरहेको छ।

    राहत सहयोग पनि गरिरहेको छ। आफ्नो कानुन नै परिमार्जित गरेको छ। पहिले युएईको अध्यागमनबाट बहिरिएको छ महिना भित्र युएई प्रवेश गरिसक्नु पर्थ्यो हाल त्यसतो व्यवस्था छैन।

    यो विषम परिस्थितीलाई मध्य नजर गर्दै नीति र नियमहरु नै परिमार्जित गरेको छ। १ मार्च २०२० भन्दा पहिले भिसा सकिएकाहरूलाई ऐम्नेस्टी (आम माफी) जारी गरी बिना जरिवाना १८-अगस्ट-२०२० भन्दा पहिले युएई छोडन सुचित गरेको छ।

    अवैध रुपमा बसेका विदेशीहरुलाई अहिले युएई सरकारले सहज रूपमा आफ्नो देश फर्कने अवसर दिएको छ। १ मार्च भन्दा पछाडि भिसा सकिएकाहरूलाई ३१ डिसेम्बर २०२० सम्म स्वतः नवीकरण हुने प्रावधान लागु गरेको छ। समग्रमा यता मेरो र अन्य नेपालीहरुको पिर नलिनुहोला।

    साच्ची नि मामु, तल्लाघरे माईला काकाको छोरा नि छुट्टीबाट फ़ेरि युएई फर्किने होला। यता फर्किनलाई पनि युएई सरकारले एउटा फर्म भर्नु भनी सूचना जारी गरेको छ। युएई सरकारले २ लाख प्रवासीहरू फर्काउने तयारी गरिरहेको छ।

    यो सब सुनाउदा केही हदसम्म खुसी मिल्यो होला है मामु तर दु:खको कुरा के छ भने नी मामु हाम्रो नेपाल सरकार र राजदुतावासले दु:खी र पिडित नेपालीहरूको पिडा र तडपलाई समयमै सम्बोधन गर्न सकेको छैन।

    भोक र बिरामीले थलिएका नेपालीहरूको उद्धार गर्न ढिलाई भएको छ। ढिलै भए पनि उद्धार गर्ने सरकारको निर्णयले हर्षित नेपालीहरू स्तब्ध भए जब सरकारले भाडा दर पाँच सय डल्लर तोक्यो।

    हजारौ मेसेजहरू र फोन कलहरू आउन थाले अनि दु:ख पोख्न थाले, “हजुरहरूले दिएको रासन खाएर बसेका हामीले कसरी ५०० डल्लर तिरेर जानु? कोठा बाट निकालिदा हजुरहरूले नै कोठा मिलाईदिनु भएको थियो सर हामी कसरी ५०० डल्लर तिरेर जानु ?” यस्तै यस्तै बिभिन्न प्रश्नहरू आउन थाले।

    हामीसँग उत्तर नै थिएन किनकि हामीले प्रत्यक्ष भेटेका थियौ पिडितहरूलाई। दु:ख देखेका थियौ र पिडा महसुस गरेका थियौं। ५० डिग्रीको गर्मीमा काम गरेर पठाएको रेमिट्यान्सले धानेको देश चलाउने नेताहरू जो आलिशान महलमा बस्छन, चिल्ला कारमा चिसो एसीको हावा खाएर खोक्रा भाषण गर्ने ती भ्रष्टहरूलाई के थाहा प्रवासी नेपालीहरुका दु:ख ?

    आफ्नो देश फर्किने आशमा मरूभुमीमा तडपिएका नेपालीहरूको पिडा, पिडितहरूको क्रन्दन कसैले नबुझ्ने रहेछ आमा !

    वैदेशिक रोजगार विभागमा पूरअभिलेखिकरण भएका लाखौं नेपालीले प्रवासमा केही समस्या पर्ला भनी कल्याणकारी कोषमा जम्मा गरेको ६ खर्ब रुपैयाँमा नेताहरु मोजमस्ती गरिरहने अनि प्रवासमा नेपालीहरू महिनौदेखि बेरोजगार भएर भोकसँग लडदै उद्धारको आशमा बसेका नेपालीहरु कतिन्जेलसम्म हातमा दही जमाएर बसिरहनु ?

    हामीप्रति गैरजिम्मेवार बनेका सरकार र सरोकारवालाहरूको यो चाला नामर्दीपन होईन त मामु ? एनआरएनए र विभिन्न संघ संस्थाहरू तथा चौतर्फी बिरोध र दवाबमा ३०% भाडा कम गरी नेपाल फर्काउने तयारी त भयो।

    प्राथमिकताका आधारमा नेपाल फर्काउने तय भएअनुसार यताबाट पनि गर्भवती महिलाहरू, बिरामीहरू र आफन्त गुमाएकाहरू पहिलो चरणमा जान तयार गरियो। सबैले हवाई टिकट लिए एयरपोर्ट जानलाई गाडी रिजर्भ गरे। घर फर्किन पाईने खुसीले मख्ख भएका नेपालीहरू केही क्षण बित्न नपाउदै उडान रद्द भएको सुचना जारी गर्यो राजदुतावासले।

    त्यही सुचनाले चकनाचुर पार्यो युएईका नेपालीहरुको घर फर्कने सपना। फेरि फोन कल र मेसेजहरूको बर्षात हुन थाल्यो। राजदुतावासको कार्यशैली र क्षमतामा शंका उत्पन्न भएको अवस्था छ। फोनसम्म उठाउन नसक्ने राजदुताबासका कर्मचारीहरू देखी रुष्ट नेपाली दाजुभाईदिदीबहिनीहरूलाई समझाई बुझाई छिट्टै उड़ान खोल्ने आश्वासन दिएर राखिएको छ।

    फ़ेरि उड़ान सुरू हुनेवाला छ। आशा गरौ अब चाहि पक्कै घर फर्कने छन। करिब २० हजार भन्दा ज्यादा नेपालीहरू युएईबाट तत्काल नेपाल फर्कन चाहन्छ्न। यीमध्ये केहीलाई फर्काउने तयारी भई रहेको छ।

    जस्मा गर्भवती महिलाहरू, बिरामीहरू, नेपालमा आफन्त गुमाएकाहरू, विद्यार्थी, भिजिटमा आएर अलपत्र भएकाहरू, कम्पनी बन्द भएर रोजगार गुमाएकाहरू, बेतलवी बिदामा बसेकाहरू आदि।

    यत्रो २० हजार भन्दाज्यादा नेपाल फर्किन लाग्दा पनि हजुरको छोरा फर्किन सकेन, दुख नमान्नु होला।
    म चाँडै आउनेछु, सधै हजुरहरूसँगै बस्न, बर्षौदेखि मिस गरिरहेको हजुरको हातले पकाएको माम खानलाई म आफ्नै गाउँ आउनेछु। आफ्नै बारीमा सुन फलाउनेछु।

    उज्ज्वल दाहाल
    हाल: युएई

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal