विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूले चढ्ने गाडी कति मूल्यको हो भन्ने आफूलाई नै थाहा नभएको जिकिर गरेका छन् । प्रदेशसभाको २१ औ बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका विषयको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले आफू सवार गाडी कति मूल्यको हो भनेर आफूलाई जानकारी नभएको भन्दै अब भने मूल्यको बारेमा जानकारी लिने जवाफ फर्काए ।
मुख्यमन्त्री राईले सरकारले बनाएको कार्यविधिलाई लत्याउँदै महँगो मूल्यको गाडी खरिद गरेको भन्दै प्रदेशसभा बैठकमा सभासद्ले मुख्यमन्त्रीसँग जवाफ माग गरेका थिए । मुख्यमन्त्री राईले प्रदेश सरकारले सवारी साधन खरिद गर्दा गाडी मोह भने देखाउन नहुने बताए । तर उनले नै प्रदेश सरकारले बनाएको कार्यविधिलाई लत्याउँदै ३ करोड १९ लाख ७३ हजार रुपैयाँको टोयोटा ‘प्राडो’ खरिद गरेका छन् ।
प्रदेश सरकारले तयार पारेको कार्यविधिले मुख्यमन्त्री वा समानस्तरका पदाधिकारीलाई १ करोड मूल्य बराबरको सवारी साधन खरिद गर्ने मापदण्ड तोकेको थियो । यसबाहेक मुख्यमन्त्री शेरधन राईले आफू चढ्नका लागि निसान कम्पनीको ३८ लाख २५ हजारको कारसमेत किनेका छन् ।