News Portal

  • कोरोना कहरले फेरियो एनआरएनए युएइको छवि

    हिमाली संचार संवाददाता
    ८४२ पटक
    २०२० मे ३०, शनिबार

    रामप्रसाद ढुंगेल/युएइ – कोरोना भाइरसको फैलावट र उत्पन्न त्रासका कारण अबुधाबीमा कार्यरत झापाका सन्दीप थपलियाको कम्पनीले काम र तलब रोक्का गरेपछि थपलियासहित अन्य नेपालीहरु पनि समस्यामा पर्नुभयो। साथमा भएको पैसा सकिएपछि आठ दिनसम्म पाउरोटी र पानी खाएर बस्ने बाध्यता आइपर्यो।

    त्यसैबेल सन्दिपले राहतको लागि एनआरएनलाई सम्झिनुभयो। सामाजिक सञ्जालमा नेपाली एसोसिएसन (एनआरएनए, युएइ)ले राहत वितरण गरेको देखेपछि उहाँले सम्बन्धित पदाधिकारीलाई सम्पर्क गर्नुभयो।

    अन्ततः एक चरणको राहत एनआरएनएबाट पाएपछि १५ दिनसम्म उहाँको खाने समस्या टर्यो। दोस्रो चरणको राहतको प्रतिक्षा गरिरहनुभएका थपलिया भन्नुहुन्छ, “परदेशमा समस्या पर्दा एनआरएले गरेको सहयोग आजीवन भुल्ने छैन।”

    यस्तै गत मार्च महिनामा भिजिट भिसामा युएइ पुग्नुभएका बुटवलका मिलन बस्नेत कोरोना भाइरसका सबैतिर लकडाउन भएपछि युएइमै अलपत्र पर्नभयो। आफुलाई भिजिट भिसामा ल्याउन झन्डै २ लाख ५० हजार रुपैयाँ लिएका एजेन्ट सम्पर्कविहीन भएपछि आफन्त र साथीभाइको सहयोग र आश्रयमा बस्नुभएका बस्नेतले पनि एनआरएनए युएइबाट दाल, चामल जस्ता खाद्य वस्तु पाएपछि केही राहत मिलेको बताउनुभयो।

    तीन महिना अघिसम्म एनआरएनए भन्ने बित्तिकै युएइमा नाक खुम्च्याउनेहरु पनि अहिले एनआरएनएको प्रशंसा गरिरहेका भेटिन्छन्। विश्वका ८० भन्दा धेरै देशहरुमा सञ्जाल रहेको गैर आवासीय नेपाली संघलाई मानिसहरुले एनआरएनए शब्दले चिन्ने गरे पनि युएइमा यो संस्था नेपाली एशोसिएसन नामबाट दर्ता छ।

    युएइ सरकारले मान्यता दिएका दुई वटा नेपाली संस्थाहरुमा एउटा हामी नेपाली र अर्को नेपाली एशोसियसन मात्रै हो। अरु सामान्य बेलामा विभिन्न जिल्लाहरुका नामबाट गठन भएका सेवा समिति वा जातिका नामबाट चिनिने संघ, संस्थाहरुले भित्रभित्रै केही सामाजिक गतिविधिहरु संचालन गरिरहेका भए पनि कोरोनाको चपेटामा परेका बेला युएइमा रहेका नेपालीहरुलाई सहयोग गर्न सक्रिय रुपमा एनआरएनए अर्थात् नेपाली एशोसियसन नै अग्रपंक्तिमा छ।

    युएइ सरकारका विभिन्न नियम तथा निषेधका बेला दर्ता नभएका संस्थाहरु राहत वितरणमा प्रत्यक्ष निस्कनु सहज नभएका कारण एनआरएनका लागि एकमात्र चुनौती र अवसरका रुपमा यो अवस्था आइपर्यो। अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पाको नेतृत्वमा एनआरएनएका अन्य पदाधिकारी र विभिन्न प्रान्तीय वा क्षेत्रीय इकाइहरु पनि सक्रिय भएर लागे। नतिजास्वरुप युएइमा रहेका झन्डै ४००० जना नेपालीहरुले एनआरएनएमार्फत राहत सहयोग प्राप्त गरेका छन्।

    योसंगै अर्को एउटा समूह, नेपाली समाज, राजनीतिक दलका भातृसंगठन र विभिन्न संघसंस्था आवद्ध भएको संयुक्त समूहले कोभिड १९ सुचना संकलन तथा राहत उद्दार समिति बनाएर युएइमा रहेका नेपालीहरुलाई राहत वितरण गरिरहेको छ। यो समूहले अहिलेसम्म २००० भन्दा धेरै नेपालीहरुलाई झन्डै ४० हजार दिराम बराबरको सहयोग गरिसकेको छ। खाद्यान्नका अलावा कतिपय नेपालीलाई बस्ने भाडा, भिसा सकिएकाहरुको भिसा नवीकरण शुल्कसँगै अति आवश्यकत परेकाहरुलाई टिकटको रकमसमेत उपलब्ध गराइको छ।

    एनआरएनए अर्थात् नेपाली एशोसियसनले पनि आफ्नो स्थापनादेखि नै गर्दै आएको यो कार्यलाई कोरोनाको चपेटामा अझ तीव्रताका साथ बढाएको छ। खाद्यान्न, अति आवश्यक परेका केहीलाई बस्ने सुविधा, भिसा सकिएकाहरुका लागि नवीकरण शुल्क र टिकट जस्ता कुरामा सहयोगका साथै कोरोना कहरका बीच कोभिड १९ बाटै वा अन्य कारणबाट निधन भएकाहरुको पुष्टि गर्ने वा मृतकका सद्गद् अथवा परिवार र दूतावासको संयोजन गराइदिने जस्ता कार्यमा पनि एनआरइनए उत्तिकै सक्रिय छ।

    एनआरएनए युएको राहत वृतान्त !

    मे महिनाको अन्तिमसम्म एनआरएनले २ लाख २५ हजार दिराम अर्थात् झन्डै ७० लाख नेपाली रुपैयाँ बराबरको सहयोग युएइका ७ वटै प्रान्तमा बसेका नेपालीहरुलाई गरेको छ। यो सहयोगबाट ४ हजार जना भन्दा बढी नेपालीहरु लाभान्वित भएका छन्।

    यो मध्ये २० हजार दिराम एनआरएनए आइसीसीबाट प्राप्त रकम हो भने अर्को २० हजार दिराम युएइकै नेपाली एसोशियसनको आफ्नो खाताबाट प्रयोग गरिएको रकम हो।

    यसबाहेक नेपाली राजदूतावासले वितरण गरेको एक हजार प्याकेट खाद्यान्न मध्ये ४ सय प्याकेट नेपाली एसोसियनले र ३ सय प्याकेट कोभिड १९ सुचना संकलन तथा राहत उद्दार समितिका माध्यमबाट वितरण गरिएको छ। अप्ठेरोमा परेर अबुधाबीस्थित दूतावासमा पुगेका नेपालीहरुलाई दिने गरिएको दूतावासले जानकारी गराएको छ।

    एनआरएनएलाई उसको आफ्नो कोषबाहेक नै पनि ठूलो संख्यामा राहत रकम वा खाद्यान्न सहयोग गर्ने थुप्रै संघ, संस्था वा व्यक्तिहरु पनि छन्। अन्तर्राष्ट्रिय कम्पनी डाबरले एक चरणमा ३० हजार र दोस्रो चरणमा ८० हजार दिराम बराबरको च्यवनप्रास, दाँत माझ्ने मञ्जन, ब्रस वा इम्युनिटी पावर बढाउने भनिएका आफ्ना उत्पादनहरु नेपालीहरुमा वितरण गर्नका लागि एनआरएनएलाई जिम्मा दिएको छ।

    व्याक्तिगत सहयोग अतुलनीय !

    एनआरएनए युएइको राहत अभियानमा विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सहयोग गरेका छन्। नेपाली राजदूतावासकी प्रथम सचिव सिवानी बस्नेतले कोरोनाको चपेटामा परेका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यले आफ्नो व्यक्तितग तर्फबाट एनआरएनएलाई १५ सय दिराम सहयोग गर्नुभएको छ।

    एनआरएनएले सक्रियतापूर्वक नेपालीहरुमा सहयोग गरिरहेको देखेर यसको विश्वनसनीयताका कारण उहाँले सो रकम एनआरएनएका अबुधाबी प्रतिनिधि फडिन्द्र ढकाललाई हस्तान्तरण गर्नुभएको हो।

    यो बाहेक संघको राहत वितरण अभियानमा व्यक्तिगतरूपमा पाइलट रक्षा जोशी, साहित्यकार टकबहादुर गुरुङ, कृष्ण आचार्य, अर्जुन बहादुर गौली, कृष्णप्रसाद भट्टराई, प्रदीप पौडेल, प्रमिशा निशिन, रमेश अधिकारी, युबलाल सापकोटा, मञ्जु मल्ल, रवीन्द्र पौडेललगायतले सहयोग गर्नुभएको संघका उपाध्यक्ष पासाङ शेर्पाले जानकारी दिनुभएको छ।

    राहत वितरणको चटारोका कारण अन्य क्षेत्रीय इकाइहरुमा उठेको विवरणहरु प्राप्त हुन बाँकी रहेको पनि उपाध्यक्ष शेर्पाले बताउनुभयो।

    युएइका सामाजिक संस्थाहरु पनि सहयोगी !

    साथै नेपाल मगर संघ, शाखा युएइ, नेपाल आदिवासी जनजाति युवा महासंघ, युएइ, मोरङ–सुनसरी सेवा समाज, यूएई, तनहुँ सेवा समाज, सर्लाही सेवा समाज, कास्की आदर्श सेवा समाज, यूएई, लुम्बिनी वेलफायर सोसाइटी, ठकुरी सहयोग सञ्जाल, नेपाली सेफ सोसाइटी, थारु कल्याणकारी सभा, लार्ज ग्यांग सामूहिक बचत तथा ऋण कोष, रुपन्देही सेवा समाज, गुल्मी सेवा समाज, अन्तर्रा्ष्ट्रिय कलाकार संघ (इनास), आरकान सेक्युरिटी सोलुशन म्यानेजमेण्ट नेपाली ग्रुप, रासलखेमा युवा ग्रुप, न्यू जागृति नेपाली मण्डली, डाबर इन्टरनेसनल, युएइ, प्रवासी नेपाली एकता समाज, लमजुङ समाज, देवदह समाज र नेपाली जनसम्पर्क समितिलगायत युएइमा रहेका विभिन्न संघ-संस्थाहरुले एनआरएनएलाई राहतमा सघाएका छन्।

    संस्थागत २५ हजार दिराम (झन्डै ८ लाख नेपाली रुपैयाँ) भन्दा बढी र व्यक्तिगत सहयोग २० हजार दिराम (झन्डै साढे ६ लाख रुपैयाँ) भन्दा बढी रकम प्राप्त गरेको एनआरएनए, युएइका सहकोषाध्यक्ष फडिन्द्र ढकालले जानकारी दिनुभएको छ।

    कोरोना भाइरसको संक्रमण बढिरहेका बेला युएइमा हजारौं नेपाली विभिन्न समस्याबाट पीडित छन्। यस्तो बेला नेपाली राजदूतावासको सीमित जनशक्ति र श्रोतबाट मात्रै युएइका सातवटै क्षेत्रमा रहेका नेपालीहरुसम्म राहत पुर्याउन सम्भव छैन।

    तर दूतावासले आफूले सकेसम्म कोही नेपाली समस्यामा नपरुन् भनेर आफ्नो क्षमताले भ्याएसम्म पहल गरिरहेको छ। यति हुँदाहुँदै पनि ३ लाख नेपाली रहेको युएइमा दिनप्रतिदिन नेपालीहरुका समस्या बढेको बढ्यै छन्।

    यही विपत् र रिक्तताको परिपूर्ति गर्दै युएइको नेपाली समुदायमा आशाको केन्द्र बनेको छ गैर आवासीय नेपाली संघ, एनआरएनए अर्थात् नेपाली एशोसिएसन। दूतावाससंगको सहकार्यमा अन्य थुप्रै मानवीय सहयोगहरुमा पनि उत्तिकै सक्रियताका साथ काम गरिरहेको एनआरएनए अहिले अहिलेको कोरोनाको महामारीमा उद्दार तथा राहत वितरणमा अग्रपंक्तिमा देखिएको छ।

    विपतका बेला यसका कार्यकारी र अन्य सदस्यहरुले देखाएको ऐक्यबद्धता र सक्रियताकै कारण यसअघि धनीहरुका लागि मात्रै कामलाग्दो भन्ने आरोप बोकिरहेको एनआरएनए आम मानिसका लागि पनि सहयोगी बन्न सकेको सन्देश अहिले युएइमा रहेका नेपालीहरुमा यो संस्थाले पुर्याइरहेको छ।

    युएइमा अहिलेसम्म ३२००० भन्दा धेरैलाई कोरोना संक्रमण भइसकेको छ भने २५० भन्दा धेरै संख्यामा कोरोनाबाट मानिसहरुले ज्यान गुमाएका छन्। यस्तो महामारीका बेला दिनदिनै सहयोगको अभियान बोकेर युएइका सातै क्षेत्रमा सक्रिय भई राहत वितरणमा खटिइरहेको एनआरएनएका सदस्यहरुको यो काम सह्रानिय छ।

    एनआरएनए एउटा सामाजिक संस्था हो। यसले विपत्तिमा परेका जोकोहीलाई मानवीय, आर्थिक, भौतिक र कानुनी सेवा पनि प्रदान गर्ने गरेको छ।


                       (प्रकाश कोइराला अध्यक्ष, एनआरएनए (नेपाली एशोसिएसन) युएइ।)

    युएइमा कसरी राहत वितरण अभियान शुरु गर्नुभयो यो कस्तो हुँदैछ ?

    आज ५० दिन (मे ३० तारिख, शनिबार) पुगिसक्दा पनि झन्डै हाम्रा १ सय जना सदस्यहरुले स्वयंसेवकका रुपमा दिनदिनै नेपालीहरुको विवरण बटुल्दै कोरोनाका कारण खान समेत नपाएको अवस्थाका नेपालीहरुमा राहत वितरण गरिरहेका छौं। अप्रिल ५ को दिन शुरुमा हामीले हाम्रै संस्थाभित्र सक्रिय केही साथीहरुको पहलमा हामीले दुबइको प्रहरीसंगको समन्वयमा क्वीक रेस्क्यु फोर्स (क्युआरएफ) बनायौं र त्यसै माध्यमबाट राहत वितरण गर्न थाल्यौं।

    आफ्नै कोषको २० हजार दिराम र केही साथीहरुबाट उठाएको ८ हजार दिराम गरी वितरण गर्न शुरु गरिएको राहत साँच्चिकै समस्यामा परेकाहरुमा पुगोस् भन्नेमा हामी सचेत छौं। यही शुरुको रकमबाट हामीले ९ हजार दिराम बराबरको पीपीइ किनेर समेत नेपालमा पठायौं। देश र ठाउँ अनुसार हामी चल्नुपर्छ। युएइमा हरेक व्यक्ति वा संस्थाहरुले गरिरहेको काम सरकारले हेरिरहेको हुन्छ।

    यहाँको सरकारको सहयोग नलिई राहत वितरण नै गर्न पनि संभव हुन्न। यहाँको कम्युनिटी डिभेलप्मेन्ट अथोरिटी (सीडीए) बाट पनि यो कामका लागि हामीले अनुमति लिएका छौं। हाम्रो सक्रियतालाई हेरेर नै हामीलाई सहयोग गर्ने व्यक्ति र संघ संस्थाहरु थपिंदै गएका छन्।

    यहाँका ७ वटै क्षेत्रमा संयोजक तोकेर, हरेकमा मूल समिति बनाएर क्षेत्रगत एनआरए साथीहरुलाई खटाएर हामीले काम गरेका छौं। अबुधाबीमा नरेश सेन, शारजाहमा पासाङ शेर्पा, दुबइमा निरञ्जन सिलवाल, आजमानमा राजन खतिवडा, राकमा टीएन शर्मा, फुजेराहमा सुजन शर्मा र अल ऐनमा राजन अधिकारी संयोजक हुनुहुन्छ।

    यी मूल समिति अन्तर्गत भौगोलिक रुपमा क्षेत्रको आकार हेरेर वा नेपालीहरुको बसोबासको संख्याको आधारमा अन्य साना साना कमिटीहरु बनाएका छौं। यसरी हामीले काम गर्दा युएइमै रहेका भारत वा फिलिपिन्स लगायत अन्य देशहरुका समितिहरुले भन्दा पनि हाम्रो नेपालीहरुको समितिले व्यवस्थित रुपमा काम गरिरहेका छौं भन्ने मेरो बुझाई छ।

    म त अझ कतिसम्म भन्न सक्छु भने रकमका हिसाबले वा सहयोगका हिसाबले हामीले भन्दा ठूलो सहयोग अन्य देशहरुमा अरुहरुले गरेका होलान् तर हाम्रो जति व्यवस्थित र गुणात्मक तरिका कमैले अपनाउन सकेका होलान् जस्तो लाग्दैन।

    अहिलेसम्मको विवरण कस्तो छ र आउँदा दिनहरुमा राहत वितरण कतिको निरन्तर रहनेछ ?

    मैले माथि भनेजस्तै शुरुमा हामीले २८ हजार दिरामबाट शुरु गरेको राहत कोषमा पछि एनआरएनए आइसीसीले आफ्नो कोषबाट ५ हजार डलर अर्थात् झन्डै १९ हजार दिराम सहयोग गर्यो। त्यसैगरी आजसम्म २१ वटा संस्थाबाट २१ हजार दिराम बराबरको सहयोग प्राप्त भएको छ। त्यस्तै विभिन्न मनकारी व्यक्तिहरुबाट अर्को २० हजार दिराम उठेको छ।

    त्यस्तै यहाँको लुलु कम्पनीको सहयोगमा नेपाली राजदूतावासबाट ७० हजार दिराम बराबरको खाद्यान्न सहयोग प्राप्त भयो। यो बाहेक १ लाख १० हजार बराबरको सहयोग डाबर इन्टरनेशनले आफ्ना उत्पादनहरु सहयोगका रुपमा हामीलाई दिएको छ।

    सरसरती हेर्दा हामीले ३८ टन त सामग्री नै सहयोगका रुपमा पाएका थियौं र तिनीहरुको समुचित वितरण गरिरहेका छौं। त्यसमध्ये ११ टन डाबरका उत्पादनहरु थिए भने २७ टन खाद्यान्न नै थिए। हामीले झन्डै ५ हजार नेपालीहरुमा १५ दिनका लागि पुग्ने गरी खाद्यान्न वितरण गरेका छौं।

    अझै अन्य केही सहयोगहरुको विवरण आउन बाँकी छ। कतिपय क्षेत्रगत सहयोगहरुको विवरण हाम्रा क्षेत्रका साथीहरुले संकलन गरेर केन्द्रसम्म पठाउने क्रम बाँकी नै भएकाले अझै यो सहयोग रकम बढ्न सक्छ।

    अहिले सहयोगको क्रम यति तीव्र भइसक्यो कि हामीले झन्डै नेपाली रकम करोड बरोबरको सहयोग गरिसक्दा हामीसंग अहिले अलि अभाव भएको अवस्था छ। यसकारण हामी फेरि पनि आइसीसीबाट थप रकम मागिरहका छौं र हाम्रो एसोशिएसनको कोषबाट पनि केही रकम निकाल्दै छौं।

    आर्थिक काम गर्दा पूर्ण रुपमा पारदर्शी देखिएन भने भोलि विभिन्न खालका आरोपहरु पनि आउन सक्छ। तपाईंहरुले पारदर्शिताको लागि के के उपाय अपनाउनुभएको छ त ?

    हामी यसमा पूर्ण जिम्मेवार छौं र यसका लागि शुरुदेखि नै सचेत पनि छौं। त्यसैले हामीलाई प्राप्त भएका १० दिराम दिनेहरुको पनि हिसाब लेखेर राखेका छौं। भोलिका दिनमा यो कोरोनाको महामारी मथ्थर भएपछि हामीले एनआरएनए आइसीसी अर्थात् केन्द्रका प्रतिनिधि बोलाएर हामी यहाँ एउटा सार्वनजनिक कार्यक्रम गर्ने सोचमा छौं।

    जसमा हामीलाई आज सहयोग गर्ने सबैका लागि टोकन अप लभ वा प्रशंसापत्र वितरण गर्ने योजना छौं। त्यतिबेला सहयोग गर्नेहरुको नामावली कतै छुट्न गयो भने उहाँहरुले हामीलाई औंल्याउन सक्नुहुन्छ। यसरी आम्दानीको रेकर्ड हामीले चुस्त राखिरहेका छौं भने खर्चको विवरण पनि कुन ठाउँमा कति खर्च के शीर्षकमा भएको छ भन्ने पूरै विवरण हामीले पेश गर्नेछौं।

    हाम्रो उपाध्यक्ष पासाङ शेर्पा आफैं दुबई प्रहरीसंग समन्वयमा हुनुहुन्छ। हामीले सबै हाम्रो विवरण युएइको सरकारी निकाय वा प्रहरीसमक्ष बुझाउने गरेका छौं। हाम्रो क्रियाकलाप र काम गर्ने ढंगबाट दुबइ प्रहरी नै खुशी छ। यसर्थमा पनि हामी पारदर्शी छौं भन्नेमा म प्रष्ट छु।

    प्रतिकृया दिनुहोस्

    पुराना सम्झनाहरु आज पनि ताजै लाग्छ

    काठमाण्डौ। ०४६ सालमा प्रजातन्त्र आएपछि पहिलो स्थानिय निर्वाचन ०४९ सालमा भयो। गाउँबस्ती सबै हराभरा थियो।...

    सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

    काठमाडौं। राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी सांसद गीता बस्नेतमाथि छानबिन गर्न...

    आज बैशाख-२१ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २१ गते शुक्रबार इश्वी सन २०२४ मे ३...

    प्रमुख प्रशासकीय अधिकृत एक सातामै सरुवा भएपछि निसीखोलामा एमालेको तालाबन्दी

    बागलुङ। नेकपा एमालेले बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा तालबन्दी गरेको छ। एमाले निसीखोला गाउँ कमिटीले गाउँपालिकाका...

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal