एउटै थालमा खाएका साथीहरु टाढाटाढा हुनुपर्ने बाध्यताले ‘सबै साथी गए ’ भन्ने गीत गाएको छु
गायक डम्बर नेपाली नेपाली गीतसङ्गीतमा चर्चित नाम हो । यसै क्षेत्रमा गायक नेपालीले नाम र दाम कमाइरहेका छन् । अथक मिहिनेत र प्रयासले सङ्गीत साधानाबाट खारिएका गायक नेपाली गीतसङ्गीतमा स्थापित हुनुमा निरन्तर उत्कृष्ट प्रस्तुति दिनु नै हो भन्छन् । आमा सरिता नेपाली र बुवा बलबहादुर नेपालीका सुपुत्र गायक डम्बर दुई दशक देखि गीतसङ्गीतमा साधनारत छन् । उनले यहाँ सम्म आइपुग्दा ४ वटा नेपाली गीति एल्बम पस्किसकेका छन् ।
आफ्नो पहिलो एल्बम ‘मेलोडी’ बाट ‘हिट’ भएका गायक डम्बरले ‘मलाई’, ‘मात्र’ र ‘मेरो’ एल्बम स्रोता माझ ल्याइसकेका छन् । एल्मबले व्यावसायिक रुपमा पनि उनलाई सफल बनायो । ‘मलाई’ एल्बममा समाविष्ट ‘मेरो जीवनबाट जाने भए जाउ तर अन्तिम पल्ट भेट्न आउ’ बोलको गीतले डम्बरलाई गायक भनेर सर्वत्र चिनायो । जिरोबाटबाट एकाएक हिरो भए उनी ।
मोरङको राजघाट—८ भोटेपुल उनको जन्मथलो हो । हाल उर्लाबारीमा घर बनाएका डम्बर काठमाडौंमा बसेर सांगीतित्र यात्रामा दौडिरहेका छन् । काठमाडौंबाट उर्लाबारी आएका उनको ‘संगीत यात्राको आरोह अवरोह’
सानैदेखी गीतसंगीत भनेपछि हुरुक्कै हुने । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा भाग लिइरहने । अग्रज गायक अरुण थापाको ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’ भन्ने गीत विद्यालयमा गाउथेँ । सबैले राम्रो छ भनेर तारिफ गर्थे । पुरस्कृत भएर अबिर निदारमा लाएर कपिडट बोकेर घर आउथेँ ।
परिवार सबै खुसी हुन्थे । त्यसले मलाई थप उर्जा दिलायो । सगीतलाई नै निरन्तरता दिइरहेँ । स्कुलमा गीत गाउँदा सबैले चाख मानेर मेरा गीत सुन्थे । मैले हरेक कार्यक्रममा गीत गाउनै पर्ने हुन्थ्यो । साथीहरुले डम्बरलाई गीत गाउन लगाउनु भनेर सरमिसलाई अनुरोध गर्थे ।
‘सन्त’ सरको प्रेरणा
गीतसङ्गीतमा लागेर यहाँसम्म आइपुग्न साथीभाइ, बालसखा, सञ्चारकर्मी सबैको साथ सहयोग छ । किनकि प्रतिभा भएर मात्र हुँदैन यो क्षेत्रमा । आर्थिकरुपमा सबल नहुनेलाई गाह्रो छ । मेरो अनुभवमा ‘फलामको चिउरा’ चबाए सरह नै भयो । बालसखा र राजघाटबाट हङकङ गएका शुभेच्छुकबाट पाएको सहयोगले पनि यहाँ सम्म आइपुगेँ ।
सन्त सर (सन्तकुमार आङबुहाङ) को प्रेरणाले गर्दा म यो क्षेत्रमा छु । प्रभात प्राथामिक विद्यालयमा पढ्थेँ त्यतिबेला । तर गाउँको नाम खोपिडाँडा भएर सबैले खोपिडाँडा स्कुल भन्थे । अहिले पनि भन्छन् । त्यतिबेला कक्षा कोठमा मलाई विद्यार्थी साथीभाई माझ सन्त सरले गीत गाउन लगाउनु हुन्थ्यो । सर आफैँ पनि राम्रो गीत गाउनु हुन्थ्यो ।
‘हेर केटा तेरो स्वर राम्रो छ, तँ मा मैले ठूलो सम्भावना देखेको छु ।’ सरले मलाई भन्नुहुन्थ्यो । गीतसङ्गीतलाई निरन्तरता दिइस भने ठूलो मान्छे हुन्छस ।’ मलाई एकदमै मन पर्ने सर सन्त सर । मेरो स्वरको प्रशंशा गर्नुभयो भनेर भनेको होइन । किनकि सर आफैँ राम्रो गीत गाउने रोइरहेको विद्यार्थीलाई खुशी पार्ने हसाउँने ।
कथा सुनाउने, हसाँउदै, नचाँउदै विद्यार्थी पढाउने । उहाँ विद्यार्थीमा भएको प्रतिभा उजागर गराउनुहुन्छ । सरसँग पढ्दा समय गएको पत्तै हुँदैन थियो । विद्यार्थी जीवनमा सरको हातको १ छडी पनि कहिले भेटिएन् ।
आज उहाँ यो संसारमा हुनुहुन्न तर सधै मिस गर्छु ।
निम्न आर्थिक अवस्थाको परिवारमा जन्मेको छोरा म । घरमा बुवाआमा कपडा सिलाउने तर म भने पुरानै कपडा लगाएर स्कुल जान्थेँ । आमाबुवालाई नयाँ कपडा लगाइदिन त परै जाओस टिफिन खर्च ५ रुपैयाँ दिन पनि मुस्किल थियो, त्यतिबेला ।
‘ब्याण्ड फुट्यो’ हिट भएँ
दिन बित्दै गयो । म निरन्तर गीत गाउँदै गएँ । मेरो स्वरको चर्चा स्थानीय स्तरमा चुलिँदै गयो । म पछि ‘द रेज ब्याण्ड’मा अनुबन्धित भएँ । ‘शून्य आकाश’ नामक पहिलो एल्बम बजारमा ल्यायौँ । गीत पनि राम्रै चल्यो ।
साथीभाई लाखापाखा हुँदा पछि हाम्रो व्याण्ड फुट्यो । म एक्लै साङ्गीतिक यात्रामा होमिएँ । २०६३ मा मेलोडी एल्बम ल्याएँ । एल्बमले आर्थिक उन्नति नगरेपनि गायकका रुपमा मलाई चिनायो । ‘कन्फिडेण्ट्स’ पनि बढायो । एल्बमको शीर्ष गीत ‘आज आकाशमा’ त्यसताका धेरै हिट भयो ।
साङ्गीतिक यात्रालाई निरन्तरता दिइरहेँ । त्यसपछि दोस्रो ‘एल्बम’ ‘मलाई’ ल्याएँ । शीर्ष गीत ‘मलाई रुने मन थिएन’ भन्ने बोलको गीतबाट आशा राखेको थिएँ । तर भइदियो उल्टो, रातारात ‘तर अन्तिम पल्ट भेट्न आउ’ बोलको गीत ‘सुपर डुपर हिट’ भयो । स्रोताहरुको फर्माइसमा मेरो गीत एउटै एफएममा दिनमै दर्जन चोटी पनि गुन्जियो ।
यस गीतले मलाई गायकका रुपमा स्थापित मात्र गराएन, धेरै ठाउँबाट पुरस्कार दिलायो । छिन्नलता पुरस्कारबाट सम्मानित भएँ । ‘कन्सर्ट’मा अफर धैरै दिलायो । आज पनि त्यही गीतले चिनाएको कारण म पनि आयोजकको रोजाइमा परेको छु ।
फुटबल खेल्न छाडेँ,
गीतसङ्गीत लगायत मेरो खेलकुदमा पनि रुचि छ । तर गायनका कारण फुटवललाई अघि बढाउन सकिनँ । यद्यपि, फिजिकल फिटनेशको लागि फुटबल खेल्ने गर्छु । कलाकारहरुको टिमबाट फुटबल खेलमा प्रतिनिधित्व जनाउने गर्छु । म मात्र होईन, अर्का गायक पनि डम्बर नेपाली हुनुहुन्छ । तर उहाँ दोहोरी गाउनु हुन्छ ।
मिडियामा उहाँको गीत बज्दा मलाई मेरा स्रोता तथा फ्यानले पप गीतमा चलेका डम्बरले किन लोक गीत गाएको होला ? भनेर कुरा काट्नु भएछ । पछि दोहोरी गाउने र म बेग्लै हो भन्ने भ्रम चिरिँदै गयो । बिस्तारै उहाँहरुले बुझ्दै जानुभयो ।
रेडियो नेपाल जाँदा
गाउँका अग्रज दाइहरुले स्वर माझिएको छ भनेपछि रेडियो नेपालमा स्वरको परीक्षा दिन गएँ । ०५३–५४ सालतिरको कुरा हो यो । म १५–१६ वर्षको थिएँ । रेडियो नेपालमा स्वरपरीक्षण गराउन काठमाडौँ जाने योजना बनाएँ । मेरो पेवा कुखुराको भाले बेचेँ । भाले बेच्दा तीन सय रुपैयाँ भयो । त्यही पैसा लिएर मोरङबाट काठमाडौँका लागि गाडी चढेँ ।
मोरङ–काठमाडौंको भाडा त्यतिवेला एक सय पचास रुपैयाँ थियो । बुझ्दै बुझ्दै सिंहदरबारभित्र रेडियो नेपालको कार्यालय पुगेँ । अनि बल्ल थाहा पाएँ– फर्म भरेर नाम सार्वजनिक भएपछि मात्रै स्वरपरीक्षा दिन पाइने रहेछ । म काठमाडौँ आउनु व्यर्थ भयो । निराश भएँ । धेरैले ‘डम्बरे असफल भयो’ भने । तर हरेस खाइनँ निरन्तर सङ्गीत साधनामा तल्लिन रहिरहेँ ।
साथीभाइले विदेश गएर कमाएर आएर गीतसङ्गीतमा लाग्न सुझाव पनि दिए । तर म एकोहोरो स्वदेशमै बसेर संगीतमै लागिरहेँ,लागिरहेँ ।
स्लो भर्सनबाट फास्ट नम्बरमा मैले प्राय सबै खाल्का गीतसङगीत गरिसकेको छु । ‘स्लो भर्सन’मा मिलन र बिछोडका गीत गाएँ । त्यसले पनि चर्चा दिलायो । मेरा ‘फास्ट नम्बर’ हरुले पनि स्रोताहरुको मन जित्यो ।
ठेट नेपाली लोपोउन्मुख उखानलाई आफ्नो गीतमा ढालेर गाएको ‘बिग्रेको मान्छे म भत्केको घर’ र ‘कि यो जंगे रेलमा’ पनि अत्याधिक स्रोताले रुचाइ दिनु भयो ।
साथीहरुको यादमा गीत
मसँगैका साथीहरु कोही विदेशमा छन् । कोही लाहुर छन् । कोही सरकारी जागिरको उच्च पदमा रहेर काम गरिरहेका छन् । काम र ‘करिअर’को शिलशिलामा सँगै हिँडेका उटै थालमा खाएका डुलेका साथीहरु टाढाटाढा हुनुपर्ने बाध्यताले साथीहरुको सम्झनामा ‘सबै साथी गए आफ्नो भाग्य खोजेर’ भन्ने गीत साथीहरुप्रति समर्पित गर्दै गाएको छु ।
गीतको कमाइले आमाको उपचार
पहिलो पटक कन्सर्टमा गीत गाउँदा ५ रुपैयाँ पाएको थिएँ । पछि गीत चल्दै जाँदा पूरै व्यवसायिक बनायो । गीतको कमाइले आमाको पाठेघरको अपरेसन गर्न सफल भएँ । उर्लाबारीमा जेनतेन घर बनाएको छु । घरमा आमा र घर परिवार छन् । थुप्रै वटा कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिइसकेको छु । कार्यक्रमको शिलशिलामा दुवई, कतार, ओमन, इजरायल, कोरिया, थाइलेण्ड, हङकङ लगायतका देश पुगेको छु ।
अझै राम्रा गीत दिन्छु
नेपाली संगीत क्षेत्रमा अझै उत्कृष्ट गीत पस्की नै रहनेछु । अझै नयाँ ‘टेस्ट’हरु पस्कन बाँकी छ । मैले संघर्ष गर्दाताका नेपाली गीत सङ्गीत ‘रयाप’ र ‘रिमिक्स’मा अलमलिएको थियो । त्यतिबेला ‘अन्तिम पल्ट भेट्न आउ’ ले पुनर्ताजगी दिएको थियो ।
पाश्र्व गायन, गीति लेखन र सङ्गीतमा अभ्यस्त रहिरहने छु । मेरो जिवीकोपार्जनको माध्यम नै गीतसङ्गीत हो । अहिले स्विटर फाटेको गीतको राम्रै प्रतिक्रिया आईरहेको छ । अझै राम्रो गीत ल्याउछु, तर श्रोताको छनौट हो मेरो गीत राम्रो नराम्रो छुट्टीयाउने, बजारमा अहिले थाहा छ कस्तो गीत चल्छ म त्यहा जान सक्दिन्, सरी । डम्बर अरु बन्ने हैन, डम्बर कै ब्रान्ड बनाउन चाहान्छ ।