News Portal

  • जाजरकोटमा खेतीयोग्य जमिन अभावमा बेरोजगारी

    हिमाली संचार संवाददाता
    ५०३ पटक

    भीमबहादुर सिंह
    जाजरकोट १४, २०७६ माघ : बारेकोट गाउँपालिका-५ नायकबाडाका परे सार्कीको परिवार बर्सेनि दसैं मनाउन मात्र घरमा आइपुग्छ। उनको परिवारका ७ सदस्यको अधिकांश समय भारतीय सहर कालापहाडमै बित्ने गरेको छ।

    उनका छिमेकी सुरेन्द्र सार्की पनि कामका लागि भारतमै भौतारिरहन्छन। गरिबी र बेरोजगारीका कारण दुर्गमका स्थानीयलाई बर्सेनि मजदुरीका लागि भारतका विभिन्न सहर जानुको विकल्प छैन।

    खेतीयोग्य जमिनको अभाव र बेरोजगारी समस्याका कारण जाजरकोटका विभिन्न गाउँबाट भारत जाने युवाको लर्को नै लाग्छ।

    रोजगारीको खोजीमा यसरी भारत पस्नेमा धेरैजसो युवायुवती छन। जिल्लाका करिब ४० हजार बासिन्दा रोजगारीका लागि भारत पुग्ने गरेको जिल्ला समन्वय समितिको तथ्यांक छ।

    ६ महिना भारतमा मजदुरी गरेर कमाएको रकमले घरपरिवारको गुजारा धान्न कठिन हुने बारेकोट–५ नायकबाडाका दानबहादुर सार्कीको गुनासो छ।

    उनका अनुसार अधिकांश पुरुष मजदुरी गर्न भारत जाने गरेकाले गाउँमा महिला र बालबालिका मात्र भेटिन्छन। यस वर्ष नायकबाडाका मात्रै करिब २ सय पुरुष रोजगारीका लागि भारत गएको उनले जनाए।

    दसैं–तिहारजस्ता पर्वबाहेक विपन्नको अधिकांश समय भारतमै बित्छ,’ उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले भने, ‘अन्य विकल्प नहुँदा बालबालिकादेखि वृद्धसम्म भारत पस्न बाध्य छन।

    पछिल्लो समय केही युवा मजदुरीका लागि काठमाडौं, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, धादिङ, गोरखा, डोल्पा, जुम्लालगायत जिल्लामा जान थालेका छन। मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरबलगायत खाडी मुलुक जानेको संख्या पनि बर्सेनि बढिरहेको छ।

    ‘रोजगारीका लागि अधिकांश युवा बाहिर जाँदा गाउँहरू युवाविहीन बन्न थालेका छन्,’ खत्रीले भने, ‘अधिकांश परिवारमा आकाशे खेतीका भरमा उत्पादन हुने अन्नबालीले ३ महिना खान पुग्दैन।

    उनका अनुसार डोल्पाका पाटनमा यार्सालगायत जडीबुटी संकलन गर्ने, गोरखामा गिट्टी कुट्ने, भारतमा स्याउका पेटी बोक्नेदेखि साउदी अरबमा उँटको गोठालो लाग्नेसम्मका काममा जाजरकोटका अधिकांश युवा संलग्न छन।

    नायकबाडाका सुमन सिंहले स्नातक उत्तीर्ण गरेका छन। रोजगारी नपाउँदा ६ महिनादेखि भारतमा मजदुरी गरिरहेको उनले टेलिफोनमा बताए।

    भारतमा मजदुरी नगरे श्रीमतीसहित ६ जनाको परिवार कसरी पाल्ने ?’ उनले भने, ‘गाउँमा रोजगारी पाइँदैन, जग्गाजमिनको उत्पादनले खान, लाउन पुग्दैन।

    महिनामा १०/१५ हजार रुपैयाँ आम्दानी गर्न पनि भारत जानुपर्ने बाध्यता रहेको नलगाड नगरपालिका–५ रघुनाथका गोपाल ओलीले गुनासो गरे।

    ३ महिना सिन्धुपाल्चोकमा सडक निर्माणको काम गरेर फर्किएका उनी भारत जाने तयारीमा छन। गाउँका सबै युवा बेरोजगार हुँदा देश छोड्न बाध्य भएको उनले दुःखेसो पोखे।

    रोजगारी खोज्न घर छाड्नुपर्ने गाउँलेको नियति नै भएको स्थानीय अगुवा सुरेन्द्र उपाध्यायले बताए। उनका अनुसार गरिबीका कारण उच्च शिक्षा हासिल गरेका युवासमेत मजदुरी गर्न भारत धाउन बाध्य छन।

    महिलाको भरमा गाउँ !

    पुरुष कमाइ गर्न भारत जाँदा महिलाले घर व्यवहार चलाउने, बालबालिकाको हेरचाह गर्नेदेखि विकास निर्माणको काम धान्दै आएका छन। अधिकांश गाउँ पुरुषविहीन बनेपछि विकास निर्माणका कामसमेत प्रभावित छन।

    पति भारतबाट फर्केर नआएसम्म सबै काम आफैंले गर्ने कुशे–८ की पम्फा विकले बताइन। भारतमा पतिले करिब ९ महिना मजदुरी गरेको रकमले घरखर्च चल्ने गरेको उनको भनाइ छ।

    ‘पुरुषजति भारत गएपछि गाउँमा मलामी जाने मान्छे पाउनसमेत मुस्किल छ,’ उनले भनिन। सिँचाइ सुविधा र काम गर्ने युवा नहुँदा अधिकांश जमिन बाँझिंदै गएको कुशे–८ जिन्तालाकी धना सिंहले बताइन।

    प्रधानमन्त्री रोजगार कार्यक्रम, भौतिक संरचना निर्माण, कृषि तथा पशु, वनलगायत सरकारी कार्यक्रमले विपन्नलाई राहत दिन नसकेको उनी बताउँछिन। ‘अनुदानका कार्यक्रममा पहुँचवालाकै हालीमुहाली हुन्छ,’ उनले भनिन्,‘२ छाक टार्न गाह्रो हुनेलाई भारत जानुको विकल्प छैन।

    विभिन्न सहकारी, समूह, उपभोक्ता समितिलगायतमा हुने खाने र टाठाबाठाकै हालीमुहाली हुँदा बेरोजगारी समस्या बढिरहेको नागरिक अगुवा केशवजंग शाह बताउँछन।

    गाउँमै सरकार आएपछि सबैले रोजगारी पाउने आस थियो,’ उनले भने, ‘स्थानीय सरकारको मनोमानी कर र मूल्य वृद्धिले गरिबलाई गुजारा चलाउन झन् मुस्किल भएको छ।

    डोजरले खोसियो रोजगारी !

    गाउँ/नगरका अधिकांश विकास निर्माणमा डोजरको प्रयोग बढेपछि बेरोजगारी समस्या झन् चुलिएको छ। घरछेउमा सडक बनाउने, कुलो खन्नेलगायत सामान्य काममा पनि रोजगारी नपाउँदा भारत जानेको संख्या झ्न बढेको छ।

    जिल्लाका सबैजसो वडामा सडक खन्ने कामले तीव्रता पाएको छ। अधिकांश डोजर (एक्स्काभेटर) मा जनप्रतिनिधिकै अप्रत्यक्ष संलग्नता देखिएपछि रोजगारी पाउन मुस्किल हुन थालेको भेरी नगरपालिका–३ का बुद्धिबहादुर खत्रीले बताए।

    ‘जनप्रतिनिधिले धमाधम डोजर ल्याएर विकास निर्माणमा प्रयोग गरिरहेका छन्,’ उनले भने, ‘योजनामा डोजर लगाउने प्रतिस्पर्धा चल्दा युवासँग बिदेसिनुको विकल्प छैन। उनका अनुसार यो वर्ष मात्र जाजरकोटमा ३ दर्जन डोजर भित्रिएका छन।

    कागजमै सीमित रोजगार कार्यक्रम !

    बेरोजगार र विपन्नका लागि ७ स्थानीय तहमा लागू गरिएको प्र्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी छैन। बेरोजगारलाई वर्षमा सय दिन रोजगारी दिने उद्देश्यले सञ्चालन भएको कार्यक्रमबाट गत वर्ष बेरोजगारहरूले एक साता पनि रोजगारी पाएनन।

    स्थानीय तहले गत वर्ष तामझामका साथ आरम्भ गरेको कार्यक्रमले वास्तविक बेरोजगारलाई समेट्न नसकेको स्थानीय कमल केसीले गुनासो गरे।

    ‘रोजगारी दिने निहुँमा जनप्रतिनिधिका आफन्त र कार्यकर्तालाई मात्र गोरेटो बाटो, सरसफाइ, भवन, खानेपानीलगायत काममा रकम बाँडियो,’ उनले भने, ‘बजेट पहुँचवालाको पोल्टामा जाँदा कार्यक्रम झाराटाराइमै सकियो।

    कार्यक्रमका लागि चालु आर्थिक वर्षमा पनि बजेट नआएको स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ।

    कार्यक्रमका लागि गत वर्ष भेरीमा ५३ लाख, नलगाडमा ४२ लाख, कुशेमा ३६ लाख, शिवालयमा २९ लाख र बारेकोट गाउँपालिकामा ३३ लाख रुपैयाँ खर्च भएको थियो।

    गत वर्ष रोजगारीका ७ स्थानीय तहमा ३० हजारको संख्यामा आवेदन परेका थिए तर ३ हजारले पनि रोजगारी पाउन सकेनन।

    जिल्लाका २ लाख जनसंख्यामध्ये आधा बेरोजगार रहेको जिल्ला समन्वय समितिको तथ्यांक छ। समितिका अनुसार सरकारी सेवामा करिब ३ हजार, गैरसरकारी क्षेत्रमा २ हजार र व्यापार/व्यवसायमा २ हजार व्यक्ति मात्र संलग्न छन।

    जिल्ला समन्वय अधिकारी बालाराम शर्माले अधिकांशले भारतमा मजदुरी गरेरै जीविकोपार्जन गर्दै आएको जनाए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    कुलिङ पिरियड प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने गगन थापाको माग

    काठमाडौं, असार १७ – निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको विवादका कारण प्रतिनिधिसभाको गरिमा र सांसदहरूको...

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो...

    कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

    काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल...

    तीन बालिका तस्करीको प्रयासमा चार जना पक्राउ

    बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान...

    मकवानपुरमा कोइला लोड भएको ट्रक पल्टिँदा चालकको ज्यान गयो, सहचालक अस्पतालमा उपचाररत

    मकवानपुर, असार १७ — पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे नजिकै मंगलबार बिहान कोइला...