आज : २०२६-०७-११, शनिबार

माधव समूहको भेलामा राधाकृष्ण मैनाली उपस्थित

काठमाडौँ – नेकपा एमालेको माधव नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्‍युनिस्ट नेता राधाकृष्ण मैनाली पनि उपस्थित भएका छन् ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्‍युनिस्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइरालासँगै मञ्‍चमा मैनाली पनि उपस्थित भएका हुन् ।

राधाकृष्ण मैनाली पुराना कम्युनिस्ट नेता हुन् । विस २०२८ सालमा झापा विद्रोहपछि १४ वर्ष जेलजीवन बिताएका मैनाली बहुदल आएसँगै विस २०४७ सालमा वाममोर्चाको कार्यवाहक अध्यक्ष चयन भएका थिए। 

एमालेमा रहँदा दुईपटक र एमाले विभाजनपछि मालेबाट एकपटक मन्त्रीसमेत बनेका मैनालीले राजा ज्ञानेन्द्रले गठन गरेको मन्त्रिपरिषदमा पनि शिक्षामन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए।

एमालेले कारबाही गरेपछि माओवादीमा प्रवेश गरेका उनी त्यहाँ सम्मानजनक स्थान नपाएको भन्‍दै केही महिनाअघि फेरि एमालेमै फर्किएका थिए ।

मैनालीले एमालेका तीन ठूला नेता अध्यक्ष केपी ओली तथा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपालको राजनीतिक जीवनलाई नजिकबाट नियालेका पुराना कम्युनिष्ट नेता हुन्।