हेटौंडा–१६ मा श्रम संस्कृति पार्टीको बृहत् भेला, धिरेन्द्र मुक्तानको नेतृत्वमा १३ सदस्यीय वडा कमिटी गठन

हेटौंडा, मकवानपुर । श्रम संस्कृति पार्टी जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा हेटौंडा उपमहानगरपालिका–१६ स्थित शक्तिश्वरी मन्दिरको प्राङ्गणमा बृहत् वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा हेटौंडा हाटिया चोकबाट र्यालीसहित सहभागीहरू कार्यक्रमस्थल पुगेका थिए। वडा संगठन विस्तार तथा पार्टी प्रवेशलाई मुख्य केन्द्रमा राखिएको कार्यक्रममा स्थानीय नागरिक तथा पार्टीका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।
भेलाले धिरेन्द्र मुक्तानको नेतृत्वमा १३ सदस्यीय हेटौंडा–१६ वडा कमिटी गठन गरेको छ। नवगठित कमिटीले स्थानीयस्तरमा संगठन विस्तारलाई तीव्रता दिँदै जनताका समस्या र आवश्यकतासँग जोडिएर श्रम, सेवा तथा सामाजिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमको सभाध्यक्षता ध्रुवप्रसाद दाहालले गर्नुभएको थियो। कार्यक्रममा श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य मन्दिरा मुक्तान प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै, बागमती प्रदेश उपाध्यक्ष किशोर राना विशिष्ट अतिथि तथा प्रदेश सदस्यहरू गणेश लामा, मणि शाही, गङ्गाबल र कृष्ण थिङलगायतका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण जिल्ला सचिव युवराज राईले गर्नुभएको थियो।
कार्यक्रमका क्रममा विभिन्न व्यक्तिहरू श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए। नवप्रवेशीहरूलाई पार्टीका नेताहरूले स्वागत गर्दै वडा तहदेखि संगठनलाई सुदृढ बनाउँदै श्रम, सेवा र सामाजिक अभियानमार्फत देश निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका थिए।
नयाँ वडा कमिटी गठनसँगै हेटौंडा–१६ मा श्रम संस्कृति पार्टीको संगठनात्मक गतिविधिले थप गति लिने पार्टीका नेताहरूले विश्वास व्यक्त गरेका छन्।


















