आज : २०२६-०८-०१, शनिबार

मकवानपुरमा बृहद् सद्भाव र्‍याली सम्पन्न, शान्ति र राष्ट्रिय एकताको सन्देश प्रवाह

हेटौंडा, – जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको संयुक्त अगुवाइमा शुक्रबार हेटौंडामा बृहद् सद्भाव र्‍याली सम्पन्न भएको छ।

सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकता तथा आपसी भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित र्‍यालीमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक, विभिन्न धर्मका धर्मगुरु, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्था, सञ्चारकर्मी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

हुप्राचौरबाट सुरु भएको र्‍यालीले हेटौंडाका प्रमुख सडकहरूको परिक्रमा गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सन्देश फैलाएको थियो। र्‍याली संगमचोकमा पुगेर सम्पन्न भएको थियो, जहाँ विभिन्न धर्मका धर्मगुरुको उपस्थितिमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो।

दीप प्रज्वलनमार्फत शान्ति, सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्दै कार्यक्रमको समापन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा वक्ताहरूले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक देश भएकाले सबै समुदायबीच आपसी सम्मान, सहिष्णुता र भाइचारा कायम राख्दै शान्तिपूर्ण समाज निर्माणमा सबैको साझा भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए।

आयोजकका अनुसार यस्ता कार्यक्रमले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।