कैलाश मानसरोवर यात्रामा गएका गंगाजमुना–५ का ६ जना सम्पर्कविहीन

धादिङ । कैलाश मानसरोवर यात्राका क्रममा तिब्बततर्फ गएका धादिङको गंगाजमुना गाउँपालिका–५ का गोकर्ण थापासहित ६ जना नेपाली सम्पर्कविहीन भएका छन्।
फुलखर्क कल्याणकारी समाजका अनुसार संस्थाका वर्तमान कार्यसमिति सदस्य तथा पर्यटन व्यवसायमा आबद्ध गोकर्ण थापा, आजीवन सदस्य विकास बस्नेत तथा हरिचन्द्र नेपाल, राजेश तिमल्सिना, नारायण बानियाँ र संगम रिमाल हिजो बिहान करिब ८ः४० बजेदेखि सम्पर्कविहीन भएका हुन्।
नेपाल–तिब्बत सीमा क्षेत्रमा रहेका बेला अचानक आएको बाढी तथा पहिरोका कारण उनीहरूसँग सम्पर्क विच्छेद भएको बताइएको छ। उनीहरूबारे हालसम्म ठोस जानकारी प्राप्त हुन नसकेपछि परिवार, आफन्त तथा शुभेच्छुकहरू चिन्तित बनेका छन्।
उनीहरूको अवस्था यकिन गरी तत्काल खोजी तथा सुरक्षित उद्धारका लागि सम्बन्धित सरकारी निकाय, सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग समन्वय भइरहेको फुलखर्क कल्याणकारी समाजले जनाएको छ।
समाजले सम्पर्कविहीन ६ जनाको तत्काल खोजी तथा उद्धारलाई तीव्र बनाउन सम्बन्धित सबै निकायसँग विशेष पहल गर्न आग्रह गरेको छ। साथै, उनीहरू सकुशल भेटिऊन् भन्ने कामनासहित खोजी तथा उद्धार कार्यमा आवश्यक सहयोग र समन्वयका लागि सबैमा हार्दिक अपिल गरेको छ।
सम्पर्कका लागि:
📞 9851051658
📞 9851185928
📞 9851035239



















