ब्रोड पिक दुर्घटनाले स्तब्ध युवा शक्ति कुवेत, दिवंगत आरोहीको सम्झनामा क्यान्डल प्रज्वलन र मौनधारण

कुवेत। युवा शक्ति कुवेतको नियमित मासिक बैठक आज सम्पन्न भएको छ। बैठक प्रारम्भ हुनुअघि पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित दिवंगत भएका नेपाली तथा विदेशी आरोहीहरूप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो। साथै क्यान्डल प्रज्वलन गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।

यस अवसरमा विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा भएको दुःखद घटनाले सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध बनाएको उल्लेख गर्दै आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको प्रतीक भएको धारणा व्यक्त गरिएको थियो। वक्ताहरूले निर्मल पुर्जा लगायत सम्पूर्ण दिवंगत आरोहीहरूको भौतिक यात्रा टुंगिए पनि उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणाको स्रोत बनेर जीवित रहने बताए।
बैठकले सम्पूर्ण दिवंगत आरोहीहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
श्रद्धाञ्जली कार्यक्रमपछि बसेको मासिक बैठकमा संस्थाको आगामी कार्यक्रम, संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने योजना तथा सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिने विभिन्न गतिविधिबारे विस्तृत छलफल भएको थियो। संस्थाका पदाधिकारी तथा सदस्यहरूले आपसी एकता, सहकार्य र सेवाभावलाई अझ सुदृढ बनाउँदै नेपाली समुदायको हितमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
युवा शक्ति कुवेतले आगामी दिनमा पनि सामाजिक सेवा, मानवीय सहयोग तथा नेपाली समुदायलाई लक्षित रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

















