आज : २०२६-०८-२७, बिहीबार

भोटेकोशीमा फेरि बाढीको जोखिम, तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता

रसुवा । भोटेकोशी नदीमा फेरि बाढी आउन सक्ने जोखिम देखिएपछि जल तथा जलस्रोत अनुसन्धान केन्द्रले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

केन्द्रले आज जारी गरेको सूचनाअनुसार चीनतर्फबाट प्राप्त भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा बुधबार आएको बाढीको उद्गमस्थल आसपासका क्षेत्रमा नयाँ ताल बनेको देखिएको छ। उक्त तालमा पानीको सतह बढ्दै गएर ताल विस्फोट हुन सक्ने जोखिम रहेको केन्द्रले जनाएको छ।

ताल विस्फोट भएमा भोटेकोशी नदीमा पुनः ठूलो बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म नदीको तल्लो तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन केन्द्रले अनुरोध गरेको छ।

केन्द्रले नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा नबस्न, सम्भव भएसम्म सुरक्षित स्थानमा रहन तथा नदीको बहावमा हुने कुनै पनि परिवर्तनलाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ। यात्रु, स्थानीय बासिन्दा, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई समेत उच्च सतर्कता अपनाउन भनिएको छ।

राष्ट्रिय समाचार समितिका अनुसार केन्द्रको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

बुधबार आएको बाढीका कारण भोटेकोशी आसपासको क्षेत्रमा ठूलो क्षति पुगेको अवस्थामा पुनः बाढीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दामा थप त्रास उत्पन्न भएको छ।

सम्भावित जोखिमबाट जोगिन नदी किनारबाट टाढा रहन र सुरक्षित स्थानमा बस्न सम्बन्धित सबैमा आग्रह गरिएको छ।