स्थानीय निर्वाचन केन्द्रित संगठन विस्तारमा श्रम संस्कृति पार्टीको जोड, बागमती प्रदेश समितिको दोस्रो बैठक सम्पन्न

काठमाडौं । श्रम संस्कृति पार्टी नेपालको बागमती प्रदेश समितिको दोस्रो बैठक प्रदेश अध्यक्ष निमा मुक्तानको सभाध्यक्षतामा सम्पन्न भएको छ।
बैठकमा प्रमुख अतिथिका रूपमा पूर्व पर्यटनमन्त्री तथा पार्टीका वरिष्ठ नेता सुदन किराँती सहभागी हुनुभएको थियो। विशेष अतिथिका रूपमा केन्द्रीय उपाध्यक्ष लोकनाथ चुडाल, बागमती प्रदेश इन्चार्ज जनजित तामाङ, केन्द्रीय नेता हिरामान, बल मन्दिरा मुक्तान लगायत केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ता तथा श्रमदाताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि सुदन किराँतीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै वडा, पालिका र जिल्ला तहसम्म पार्टी संगठनलाई सशक्त रूपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले श्रम, संस्कृति र सुशासनमा आधारित वैकल्पिक राजनीतिक शक्तिका रूपमा पार्टीलाई जनतामाझ स्थापित गर्न सबै नेता–कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
उहाँले जनसेवा, श्रमदान, पारदर्शिता र जनउत्तरदायित्वलाई पार्टीको मुख्य अभियानका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै बागमती प्रदेशका सबै जिल्लामा संगठन विस्तार, सदस्यता अभियानलाई तीव्र बनाउने, स्थानीय तह निर्वाचनको तयारी तत्काल सुरु गर्ने तथा जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभयो।
बैठकमा प्रदेश समितिको संगठनात्मक अवस्था, आगामी कार्ययोजना, स्थानीय तह निर्वाचनको तयारी, प्रशिक्षण, सदस्यता विस्तार तथा जनपरिचालनका विषयमा विस्तृत छलफल भएको थियो। सहभागी नेताहरूले प्रदेशभर पार्टीलाई थप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
समापन समारोहमा सभाध्यक्ष निमा मुक्तानले बैठकबाट पारित निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बागमती प्रदेशभर संगठन विस्तारलाई तीव्रता दिने र आगामी स्थानीय तह निर्वाचनमा श्रम संस्कृति पार्टीलाई बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

















