पक्राउ परेका पत्रकारलाई ‘राक्षस’ भन्दै उपसभामुखको विवादित स्टाटस, चौतर्फी आलोचनापछि मध्यराति हटाइयो

काठमाडौं। वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेलगत्तै प्रतिनिधिसभाकी उपसभामुख रुवि कुमारी ठाकुरले सामाजिक सञ्जालमा गरेको विवादित टिप्पणी चौतर्फी आलोचनापछि मध्यराति हटाएकी छन्।
बुधबार राति ललितपुरको कुसुन्तीस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पत्रकार श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो। गोपनीयता भङ्ग तथा व्यक्तिगत चरित्र हत्या हुने गरी समाचार प्रकाशन गरेको आरोपमा परेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
श्रेष्ठ पक्राउ परेको खबर सार्वजनिक भएलगत्तै उपसभामुख ठाकुरले सामाजिक सञ्जालमार्फत उनलाई अत्यन्तै कडा र आपत्तिजनक शब्द प्रयोग गर्दै टिप्पणी गरेकी थिइन्। उनले श्रेष्ठलाई ‘पत्रकारको भेषमा राक्षस’ भन्दै महिलाहरूको चरित्र हत्या गरेको तथा आत्महत्यासम्मको अवस्था सिर्जना गरेको आरोप लगाएकी थिइन्।
उनको उक्त अभिव्यक्तिले अनुसन्धानकै क्रममा रहेको घटनालाई लिएर संवैधानिक पदमा रहेकी व्यक्तिबाट पूर्वाग्रही धारणा सार्वजनिक भएको भन्दै प्रश्न उठेको छ। विशेषगरी संसद्को उपसभामुखजस्तो गरिमामय र तटस्थ पदमा रहेकी व्यक्तिले प्रहरी अनुसन्धान र कानुनी प्रक्रियामाथि प्रभाव पार्ने खालको टिप्पणी गर्नु उचित नभएको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो।
आलोचना बढ्दै गएपछि उपसभामुख ठाकुरले मध्यराति आफ्नो फेसबुकबाट उक्त विवादित स्टाटस हटाएकी हुन्।
पत्रकार श्रेष्ठमाथि लागेको आरोपको सत्यता अनुसन्धान तथा कानुनी प्रक्रियाबाट टुंगो लाग्न बाँकी रहेकै अवस्थामा सार्वजनिक रूपमा व्यक्तिको चरित्रमाथि गम्भीर टिप्पणी गरिएको भन्दै उपसभामुखको भूमिकामाथि समेत बहस सुरु भएको छ।
घटनाले ‘कानुनी प्रक्रिया अघि बढिरहेको अवस्थामा संवैधानिक पदाधिकारीले सामाजिक सञ्जालमार्फत गर्ने अभिव्यक्तिको सीमा र जिम्मेवारी’ सम्बन्धमा समेत गम्भीर प्रश्न उठाएको छ।


















