News Portal

आज रक्षाबन्धन र जनैपूर्णिमा मनाइँदै

हिमाली संचार संवाददाता
१३४८ पटक

१० भदौ, काठमाडौं – आज रक्षाबन्धन तथा जनैपूर्णिमा, नाडीमा डोरो बाँधेर र नयाँ जनै लगाएर मनाइँदै छ ।

आज मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।

विगतमा रक्षा बन्धन अर्थात जनैपूर्णिमाको दिन देशभर सार्वजनिक विदा दिने गरिए पनि यस वर्ष भने विदा कटौती गरिएको छ । कतिपय प्रदेश सरकारले भने आफ्नो प्रदेशमा विदा दिएका छन् ।

रक्षा बन्धन बाँध्ने प्रचलन सत्ययुगदेखि नै चलिआएको मानिन्छ । पौराणिक कथनअनुसार सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए ।

यसै कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने प्रचलन छ ।

आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्छन् । जर्ने फेर्ने र डोरो बाँध्नेहरुको काठमाडौंका मन्दिर परिसरमा बिहानैदेखि घुइँचो छ ।

जनै फेर्नेहरुले हिजैदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ ।

कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीन वटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ ।

यस किसिमको महत्व भएकाले नै आज बिहानै यजमान आफ्ना गुरु पुरोहित कहाँ गई यज्ञोपवीत मन्त्रने गर्दछन् । आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिनुका साथै फेर्नलाई समेत उपयोग गरिन्छ । कुनै पनि धार्मिक कर्म गर्दा र जुठो, सूतकबाट चोखिँदा आजकै दिन मन्त्रिएको यज्ञोपवीत फेरेर शुद्ध भइन्छ भन्ने वैदिक मान्यता छ ।

आजकै दिन शरीर शुद्ध गरी देवता, ऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणी समेत भन्ने गरिएको हो । आज ११ थरिका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ४ गतेको राशिफल

आज चैत ४, २०८२ ( मार्च १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...