News Portal

चौरी पालनबाट मनग्ये आम्दानी

हिमाली संचार संवाददाता
६१७ पटक

सोमदाङ,धादिङ : तिप्लिङका दिनेश तामाङ चौरीको स्याहार गर्ने, दानापानी खुवाउने र चरन क्षेत्रसम्म पु-याउँदै हरेक दिनको जीविकोपार्जन गर्दै आइरहेका छन्। पुस्तौदेखि चौरीपालन व्यवसाय गर्दै आइरहेका तामाङ बाजे पुस्ताको व्यवसाय धानिरहेका छन्।

पुख्र्यौली पेसालाई निरन्तरता दिँदै गोठमा ३५ चौरी पालेको तामाङले बताए। ‘बाबुबाजेले धानेको व्यवसायबाट नै जीविका धानिरहेको छु,’ उनले भने, ‘चौरी पालेरै बच्चालाई पढाउन र घरपरिवार धान्न सजिलो भएको छ।’ चौरीलाई खर्कमा पु-याउने, स्याहार सुसार, दानापानीका लागि तामाङको परिवारका अन्य सदस्यले पनि सघाइरहेका छन्।

चौरीले बिहान र बेलुका दूध दिने गर्छ। उनीसँग भएका ३५ चौरीमध्ये १४ वटा चौरीले बाच्छाबाच्छी पाएका छन्। दिनेशका चौरीमध्ये बर्सेनि १० देखि १६ चौरीले दूध दिने गरेको उनले बताए। ‘खेतीपाती, अन्न उत्पादन त्यति नहुने र कृषियोग्य जनशक्ति पनि गाउँबस्तीमा नभएर काम गर्न विदेश जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘चौरी पालेर महिनामै एक लाख कमाउने गरेको छु।’ तामाङले पालेका चौरीले हरेक दिन २५ लिटरसम्म दूध दिने गर्छन्।

चौरीले दिएको दूध पाङसाङमा आफैंले निर्माण गरेको संकलन केन्द्रमा लैजाने गरिन्छ। यसबाट छुर्पी, चिज, पनिर, नौनीलगायत उत्पादन गरिन्छ। यसरी उत्पादित वस्तु छिमेकी जिल्ला रसुवाबाट चीनको व्यापारिक केन्द्र केरुङ, काठमाडौंलगायत ठाउँमा निकासी गरिन्छ। तामाङसँगै तिप्लिङ वरपरका साथी पनि चौरी पालेर जीविकोपार्जन गर्दै आइरहेका छन्।

धादिङ सदरमुकामबाट नुवाकोट र रसुवा हुँदै पुग्न सकिने तिप्लिङका स्थानीयको दैनिकी भनेकै खर्कमा चौरी चराउनु, बिहान बेलुका दूध दिनु र संकलन केन्द्रसम्म लैजानु हो। तिप्लिङका १७ जनाले व्यावसायिक चौरीपालन गरेका छन्। गाउँमा सबैको गरेर करिब चार सय चौरी रहेका छन्। पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको रुविभ्याली क्षेत्रको अवलोकनका लागि पुगेकाहरु चौरीको लस्कर देखेर आश्चर्यचकित हुने गर्छन्।

यतिबेला धादिङको पाङसाङ, नार्चेतमा तिप्लिङका चौरीपालक किसानले गोठ राखेका छन् भने सीमा जोडिएको रसुवाको गत्लाङवासीले सोमदाङमा चौरी गोठले भरेका छन्। सोमदाङमा रहेका करिब ५० चौरी गोठमा १८ देखि ३० वटासम्म चौरी रहेका छन्। उनीहरुले दैनिक ६ सय लिटर दूध दुग्ध विकास संस्थानको डेरीलाई बेच्छन्। डेरीले मौसमअनुसार ६० देखि ८० रुपैयाँ प्रतिलिटर खरिद गरेर चीज र छुर्पी उत्पादन गर्छन्। यहाँ उत्पादित चीज र छुर्पी स्वादिष्ट मानिन्छ।

तिप्लिङकै सोनाम लामा तामाङले पनि गोठमा २२ वटा चौरी पालेका छन्। बिहान उठेदेखि बेलुकासम्मको दिनचर्या चौरीको हेरचाहमै बित्ने गरेको उनले बताए। ‘बिहान उठेदेखि बेलुकासम्म चौरीसँगै हुन्छु,’ उनले भने, ‘चौरीको दूधबाट छुर्पी, पनिर, नौलीलगायत विभिन्न खाद्य पदार्थ उत्पादन गर्नमै दिन जान्छ।’ यसरी दिनरातको मिहेनतबाट महिनामा लाखौं कमाइ हुने उनी बताउँछन्।

चौरी गाईपालन तिप्लिङवासीको परम्परागत पेसा हो। उब्जनी नहुने र रोजगारीको अन्य विकल्प नभएपछि पुस्तौदेखि यसै पेसालाई निरन्तरता दिइरहेका छन्। यसले एकातिर धेरैलाई रोजगारी दिलाएको छ भने अर्कोतिर आर्थिक रुपमा सबल पनि बनाएको छ।

प्रत्येक चौरीपालक किसानले महिनामा ८० देखि एक लाखसम्म कमाउने गर्छन्। चौरीलाई छाडा छाडिने र चरन क्षेत्र भनेकै खर्क, वनजंगल भएका कारण भीरबाट लडेर मर्ने गरेका छन्। हिमपातले पनि चौरी मर्ने गरेको भन्दै किसानले बिमा गराइदिन माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...