News Portal

  • कांग्रेसको वडादेखि प्रदेशसम्मको अधिवेशन कार्यतालिकामा हेरफेर

    हिमाली संचार संवाददाता
    ६३२ पटक

    २०७७ असार १७, बुधबार
    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी फागुनमै १४ औं महाधिवेशन गर्ने गरी अन्य तहका अधिवेशन कार्यतालिका परिमार्जन गरेको छ।

    कोरोनाको विश्वव्यापी संक्रमणपछि कांग्रेसले पूर्वनिर्धारित तल्ला तहका अधिवेशनको कार्यतालिकामा केही हेरफेर गर्दै केन्द्रीय महाधिवेशनको मिति यथावत् राखेको हो। कांग्रेसले अगामी ७ देखि १० फागुनसम्म पार्टीको १४ औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको थियो।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमा नै हुने गरी अन्य तहका अधिवेशनका कार्यतालिकालाई केन्द्रीय समितिले केही परिमार्जन गरेको जानकारी दिए।

    ‘केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमा नै हुने गरी अन्य तहका अधिवेशनका कार्यतालिकालाई केन्द्रीय समितिले परिमार्जन गरेको हो। कांग्रेस अब महाधिवेशनमा होमियो,’ प्रवक्ता शर्माले भने।

    यसअघि गत आइतबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशनको मिति परिमार्जन गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई मंगलबार बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो।

    जसअनुसार १५ असारभित्र सक्ने भनिएको कांग्रेसको अन्तरिम संरचना समायोजनको सबै काम असार मसान्तसम्ममा सक्ने निर्णय भएको छ। यसअघि, कांग्रेसले गत फागुनमै संरचना समायोजनको काम सक्ने निर्णय गरेको थियो।

    क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकेर साउन मसान्तभित्रै अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने निर्णय बैठकले गरेको छ। यसरी नाम बुझाउँदा ७७ वटै जिल्लाबाट आएका नामलाई सभापतिले प्रमणित गरेपछि निर्वाचन समितिमा पठाइनेछ।

    कुन अधिवेशन कहिले ?

    गत पुस ७ मा देशभरका ७ हजार वडाको अधिवेशन गर्ने, ८ पुसमा ७ सय ५१ स्थानीय तहको अधिवेशन, ११ पुसमा प्रदेशसभा र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १३ पुसमा गर्ने निर्णय बैठकले गरेको हो।

    यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १६ पुसमा र सातै प्रदेशको अधिवेशन ६ माघमा गरिसक्ने निर्णय कांग्रेस केन्द्रीय समिति बैठकले गरेको हो।

    कांग्रेसले महाधिवेशनका लागि यसअघि सार्वजनिक गरेका क्रियाशील सदस्यता वितरण, सदस्यताको नवीकरण र छानबिनको प्रक्रिया कोरोना संक्रमणका कारण प्रभावित भएको थियो।

    कांग्रेसले गत ९ चैतबाटै कोरोना संक्रमणका कारण क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको थियो भने आफ्ना नेता कार्यकर्तालाई संक्रमणविरुद्ध सचेतनामा परिचालित हुन निर्देशन दिएको थियो।

    यसअघि महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दा कांग्रेसले गाउँ र नगर वडा अधिवेशन आगामी ९ मंसिर, गाउँ र नगरपालिका अधिवेशन ११ मंसिर, प्रदेशसभा क्षेत्रीय अधिवेशन १५ मंसिर, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १७ मंसिर, जिल्ला अधिवेशन २५ मंसिर, प्रदेश अधिवेशन १५ पुसका लागि तय गरेको थियो।

    कांग्रेसका विधान अनुसार केन्द्र देखि वुथ तहसम्म आठ तह छन्। कांग्रेसमा बुथ तह, ६ हजार ७ सय ४३ स्थानीय तहका वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्नेछ।

    तीव्र विवादबीच कार्यतालिका तय गरेको कांग्रेसले नयाँ संविधान अनुसार पार्टीको संगठन समायोजन गर्न नसक्दा यसअघि नै तालिका संशोधन गरेको थियो। गत फागुनमा नै कांग्रेसले संगठन समायोजन सक्नुपर्ने थियो।

    संशोधित कार्यतालिका अनुसार महाधिवेशनको प्रारम्भिक चरणको सदस्यता वितरण र नवीकरण सुरु गर्दै संगठन समायोजन काम सकेका ४० जिल्लामा नवीकरण र नयाँ वितरणका लागि पार्टी केन्द्रीय कार्यालयले सदस्यता रसिदसमेत पठाइसकेकोे छ।

    तर, कोरोननाका कारण त्यो प्रक्रिया अघि बढ्न सकेको छैन। बाँकी जिल्लामा अझै संगठन समायोजनको काम सकिएको छैन।

    कांग्रेस केन्द्रीय कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तोकिएका १ सय ६५ क्षेत्रमध्ये १ सय ३५ र प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये २ सय ७० को मात्र समायोजन काम सकिएको छ।

    पूर्वनिर्धारित कार्यतालिकाअनुसार समायोजनको काम गत फागुनमै सक्नुपर्ने भए पनि समायोजन नसकिएका जिल्लालाई अझैसम्म सदस्यता वितरण र नवीकरणको फाराम नै पठाइएको छैन।

    २०–२३ फागुन २०७२ मा सम्पन्न १३ औं महाधिवेशनबाट ४ वर्षका लागि सभापति निर्वाचित भएका देउवाले गत फागुनमा एक वर्षको कार्यकाल थप गरेर आगामी फागुनमा महाधिवेशन गर्ने कार्यतालिका ल्याएका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...

    भाग्य न्यौपानेले सामाजिक सञ्जालबाट विवादास्पद भिडिओ हटाए

    काठमाडौं, भदौ ३० – युट्युबर भाग्य न्यौपानेमाथि जेनजी प्रदर्शनको क्रममा भ्रामक र उत्तेजक सूचना फैलाएको...

    एनसेलको कार्यालयमा तोडफोड र आगजनी, कम्पनीले प्रहरीमा उजुरी दर्ता

    काठमाडौं, भदौ ३० – काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनापछि...

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

    मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

    मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा...