News Portal

आन्तरिक र बाह्य रोजगारी ग्यारेन्टी छैन

हिमाली संचार संवाददाता
४८८ पटक
२०७७ जेठ १५, बिहीबार

काठमाडौँ — सरकारले प्रत्येक नागरिकलाई रोजगारीको ग्यारेन्टी गर्ने घोषणा गरे पनि आन्तरिक र बाह्य श्रम बजारमा नेपालीको रोजगारी खुम्चिँदै गएको छ । आन्तरिक श्रम बजारमा अवसर नपाएर विकल्प बनिरहेको वैदेशिक रोजगारीमा समेत श्रमशक्तिको मागअनुसार रोजगारी उपलब्ध हुन सकेको छैन ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको चालु वर्षको आर्थिक सर्वेक्षणअनुसार हरेक वर्ष श्रम बजारमा ५ लाख श्रमशक्ति आउने गरेको छ । तर पर्याप्त रोजगारी सिर्जना नहुँदा माग र आपूर्तिबीच ठूलो अन्तर रहेको सर्वेक्षणमा उल्लेख छ । बाध्यतामूलक बनेको वैदेशिक रोजगारीमा समेत चालु आर्थिक वर्षको ८ महिनामा १ लाख ९० हजार ३ सय ८८ जना मात्रै गएका छन् । अघिल्लो वर्षको तुलनामा ०.०३ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्ष प्रमुख गन्तव्य मलेसिया बन्द थियो । यो वर्ष सबैभन्दा बढी यूएई ४४ हजार, साउदी अरबमा ३९ हजार, मलेसिया ३८ हजार र कतार २७ हजार जना गएका छन् । सुस्त आर्थिक मन्दीका कारण प्रमुख गन्तव्य मानिएको खाडीमा विगतजस्तो अवसर जुरेन ।

वैदेशिक रोजगारीलाई विकल्प बनाउने निरन्तर घोषणा गरे पनि आन्तरिक रूपमा नयाँ रोजगारी सिर्जना झन् चुनौती बनेको छ । चालु आवको पछिल्ला महिनामा कोभिड–१९ को प्रकोपका कारण गरिबी र बेरोजगारीमा थप चाप परेको छ । सर्वेक्षणका अनुसार मुलुकका ठूला, मझौला र साना उद्योगमा २१ खर्ब १ अर्ब ४५ करोड रुपैयाँ लगानी हुँदा ६ लाख १४ हजार जनाले रोजगारी पाएका छन् । सहकारी क्षेत्रमा ६८ हजार ४ सय नयाँ रोजगारी सिर्जना भएको छ ।

 

उद्योग र कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्न नसकेपछि सार्वजनिक निर्माण क्षेत्रका लागि सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रममा १ लाख ८८ हजार जनालाई औसत १२.४३ दिन मात्रै रोजगारी दिइएको छ । तराई मधेसमा थप रोजगारी सिर्जना गर्न एकीकृत रूपमा सञ्चालन गरिएको तराई मधेस समृद्धि कार्यक्रम पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन ।

युवा तथा साना व्यवसाय स्वरोजगार कोषबाट ४ हजार ६ सय १६ जना स्वरोजगार बन्न ऋण लगानी भएको सर्वेक्षणमा उल्लेख छ । यसबाहेक ५ लाख रुपैयाँको दरले ४०४ युवा उद्यम समूह र शैक्षिक प्रमाणपत्रका आधारमा २ लाखका दरले ४५ युवालाई ऋण प्रवाह भएको छ । व्यावसायिक सीप तथा विकास तालिमबाट १ लाख ९० हजार जनालाई तालिम दिइएको छ, जुन तालिम बजारको बदलिँदो मागअनुसार नभई परम्परागत रूपमा भइरहेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याइएको रोजगारी नीति कृषि क्षेत्रबाहेक अन्यमा ठोस ढंगले केन्द्रित गरेको छैन ।

 

रोजगार नीतिले रोजगारीका अवसर विस्तार गर्न लक्षित कार्यक्रमदेखि उद्यम व्यवसायको पुनरुत्थानसम्मका धेरै विषयहरू छुने प्रयास गरेको भए पनि रोजगारीको समष्टि स्वरूपको एकीकृत तस्बिर दिएको छैन । ‘सरकारको रोजगार सिर्जनासम्बन्धी नीति, योजना तथा कार्यक्रम हेर्दा सामान्य समयमा ठानेर ल्याएको जस्तै लाग्छ । यो विषम परिस्थितिमा ल्याइएको नीति हो । अबको नीति पोहोर परार सालको जस्तै हुनु हुँदैनथ्यो,’ श्रम मामिलाका विज्ञसमेत रहेका नीति अनुसन्धान प्रतिष्ठानका पूर्वकार्यकारी अध्यक्ष डा. गणेश गुरुङले भने, ‘रोजगार सिर्जना गर्नका लागि परिणाम दिने प्रभावकारी कार्यक्रम नै छैन ।’

उनका अनुसार प्रभावकारी कार्यक्रम दिन कार्यान्वयन गर्ने संरचनासहितको नीति आउनुपर्दथ्यो । ‘पहिलो त नीति नै नयाँ देख्दिनँ । दोस्रो कार्यान्वयन गर्ने संरचना नभएर नीति फेल भइरहेको छ,’ राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहेका गुरुङले भने, ‘रोजगारी केमा दिने, कसरी दिने र कति दिने भन्ने प्रस्ट खाका छैन ।’

नीति जति खासखास विषयमा केन्द्रित भयो, त्यति नै बजेट तथा कार्यक्रम तर्जुमालाई निर्देशित गर्न सक्ने पूर्वसचिव पूर्णचन्द्र भट्टराईले बताए । ‘रोजगारसँग जोडिएका हरेक नीतिले रोजगारी सिर्जनामा कति योगदान दिन्छ ? थाहा हुने अवस्था छैन । नीतिले पनि वार्षिक कार्यान्वयनभन्दा लामो समयका इच्छा सूची प्रस्तुत गरेको छ ।

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...