
काठमाडौं, मंसिर २५ – पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा भएको आगलागीपछि सामाजिक सञ्जालमा फैलाइएको “नगद जलेको” दाबी निराधार रहेको स्पष्ट गरेकी छन्। आफूविरुद्ध परेको मुद्दाको जवाफ सुपुर्द गर्न सर्वोच्च अदालत पुगेकी राणाले अफवाहका आधारमा मानहानी गर्ने प्रयास भएको बताइन्।
उनका अनुसार केही सञ्चारमाध्यम र सामाजिक प्लेटफर्मले तथ्य नहेरी प्रचार गरे पनि वास्तविकता फरक छ। उनले लिखित जवाफमा उल्लेख गरेकी छन्, आफ्नो र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा रकम जलेको भन्दै गरिएको टिप्पणी प्रमाणविहीन छ र सो आरोपले भ्रम मात्रै फैलाएको छ।
राणासहित सुरक्षा परिषद्का सदस्यहरूले तत्काल बैठक नडाकेर सेना परिचालन गर्न ढिलाइ गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो। राणाले भने आन्दोलनको भीडबाट उच्छृङ्खल समूह घरमै पसेर तोडफोड र आगजनी गरेकाले आफूहरू घाइतेसम्म भएको भन्दै त्यो परिस्थितिमा तत्काल बैठक बस्न नसकिएको बताइन्।
उनले थप भनिन्, घरमा नगद जलेको भन्ने हल्लाबारे सरकारले छानबिन गरिसकेको छ र क्षतिको आधिकारिक विवरणसमेत तयार भइसकेको छ। त्यसैले आशंकामा आधारित र आरोप मात्र लागि परेको रिट खारेज गर्नुपर्ने मागसमेत उनले सर्वोच्चमा राखेकी छन्।