आज : २०२६-०७-२८, मङ्गलबार

सर्वोच्चमा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

काठमाडौं, मंसिर ७ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदैछ। सुनुवाइ न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा तय भएको छ।

प्रसाईंलाई अघिल्लो आदेशअनुसार पक्राउ गर्ने कारण र अदालतमा उपस्थित हुन निर्देशन दिइएको थियो। उनका छोरा निराजन प्रसाईंले आफ्ना बुबा गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै रिट दायर गरेका हुन्।

रिटमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।

गत सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाटै प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो। उनी शान्ति विरुद्धको कसुरमा हिरासतमा रहेका छन्।

प्रसाईंले पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीमाथि प्रश्न उठाएका थिए र फेसबुकमा भिडियो सार्वजनिक गरी मंसिर ७ गतेदेखि आन्दोलनको तयारी रहेको जानकारी दिएका थिए।