
रुपन्देही, मंसिर २ – लुम्बिनी प्रादेशिक अस्पतालमा मृतक बिरामीको नाममा औषधि र खाना मागिएको घटना सार्वजनिक भएको छ। बुटवल-११ की ७३ वर्षीय खेमकुमारी मल्ल मिर्गौला रोगको उपचारका लागि अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन्। सोमबार उनको मृत्यु भइसकेको अवस्थामा पनि स्वास्थ्यकर्मीले बेड नम्बर नफेरेको कारण उनका नाममा औषधि र खाना माग्न थालेका थिए।
घटनाबारे आफन्त र बुटवल-११ का वार्ड सदस्य नकुल शाहीले अस्पतालमा भित्र गएर निरीक्षण गरेपछि सत्यतथ्य बाहिर आएको हो। शाहीले भने, “मृतक बिरामीको नाममा औषधि र खाना मागिनु गम्भीर लापरबाही हो। यस्तो अवस्था देख्दा बिरामीले उपचार पाउने अवस्था र सूचना प्रवाहको विश्वसनीयतामा प्रश्न उठ्छ।”
आईसीयुमा कार्यरत स्वास्थ्यकर्मीहरूले भने मृत्युको जानकारी आफन्तलाई दिइसकेको दाबी गरे। अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले मेसुको संयोजकत्वमा विभागीय प्रमुखहरूसहित छानबिन समिति गठन गर्ने र कमजोरी भेटिए कारबाही गर्ने प्रतिवद्धता जनाए।
घटनाले अस्पताल व्यवस्थापन र बिरामीको सूचना प्रणालीमा सुधारको आवश्यकता देखाएको छ।