ओली चुनावको मुख्य रोकावट बनेका छन् : भूसाल

काठमाडौं, कार्तिक २८ — पूर्वमन्त्री घनश्याम भूसालले आगामी प्रतिनिधिसभा चुनाव रोक्ने वास्तविक कारण एमाले अध्यक्ष केपी शर्मा ओली मात्रै भएको टिप्पणी गरेका छन्। उनका अनुसार सरकारको तयारीदेखि राजनीतिक वातावरणसम्म, कुनै पनि पक्षले चुनाव प्रभावित पार्ने अवस्था छैन।
भूसालले भने, अहिले देखिएको बाधा ओलीको राजनीतिक व्यवहार मात्र हो, तर दलहरू प्रचारमा उत्रिसकेपछि उनी पनि चुनावी प्रक्रियामा सामेल हुनै पर्नेछ। उनको भनाइमा, अन्तिममा परिस्थितिले ओलीलाई पनि अघि बढ्न बाध्य बनाउनेछ।
न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै भूसालले आफ्नो समूह नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग मिलेर चुनावमा जाने तयारी पूरा भएको जानकारी दिए। उनले स्पष्ट एजेण्डासहित प्रतिस्पर्धामा उत्रिने र जनमत सामना गर्न तयार रहेको बताए।
उनका अनुसार आकस्मिक प्राविधिक समस्या बाहेक चुनाव सार्नुपर्ने कुनै ठोस कारण छैन। सरकारले गरेका तयारी र समग्र राजनीतिक अवस्थालाई हेर्दा निर्वाचन निर्धारित मितिमै हुनुपर्ने उनले तर्क गरे।
भूसाल पछिल्लो समय विभाजनपछि कमजोर बनेको नेकपा एकीकृत समाजवादीलाई पुनर्गठन गर्ने प्रयासमा सक्रिय छन्।
















