
काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल” रहने भएको छ। आइतबार राति बसेको बैठकले यही नाम लिएर निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
पार्टी दर्ताका लागि पूर्वसचिव अनुपकुमार उपाध्यायलाई संयोजक तोकिएको छ। उहाँको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिने तयारी भइरहेको छ। प्रारम्भिक चरणमा भने कुनै पदाधिकारी तोक्ने निर्णय गरिएको छैन।
पार्टीको चुनाव चिन्ह ‘बिजुलीको चिम’ नै रहने सहमति भएको छ। दर्ता प्रक्रियाका लागि आवश्यक माइन्यूट र हस्ताक्षर संकलनको काम तीव्र रूपमा भइरहेको र आजभित्र दर्ता सम्पन्न गर्ने प्रयास भइरहेको संयोजक उपाध्याय नजिकका स्रोतले जनाएका छन्।
यसअघि पार्टीको नाम “नेपाल जनसेवा पार्टी” राख्ने प्रस्ताव भए पनि अन्ततः बैठकले “उज्यालो नेपाल” नामलाई नै आधिकारिक बनाउने निर्णय गरेको हो। अहिले केन्द्रीय कमिटीका सदस्यहरूको नाम अन्तिम टुंगो लगाउने छलफल जारी रहेको बताइएको छ।