युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर मध्यपुर थिमि–१ बस्ने ३१ वर्षीय राहुल पुन्जले आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै एक व्यक्तिसँग ४२ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि उनी सम्पर्कविहीन बनेका थिए।
घटनाबारे उजुरी परेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौँ महानगरपालिका–११ बाट पक्राउ गरेको हो।
प्रहरीले पुन्जलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाएको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनले वैदेशिक रोजगारीका नाममा ठगी गर्दै आएका थिए।

















