
काठमाडौं, असोज १२ – रास्वपा नेतृ तथा पूर्वराज्यमन्त्री डा. तोसिमा कार्कीले पार्टीभित्रको संस्थापन पक्षलाई कडा चुनौती दिएकी छन्। उनले आफूविरुद्ध साइबर बुलिङ र मिडिया ट्रायल भइरहेको दाबी गर्दै त्यसरी चरित्रहत्या गर्ने काम बन्द गर्न माग गरेकी छन्।
कार्कीले विज्ञप्ति जारी गर्दै पार्टीलाई सुदृढ बनाउन जिम्मेवारपूर्वक उठाएका मुद्दालाई अतिरञ्जित गरी प्रचार गर्ने प्रवृत्तिप्रति आपत्ति जनाएकी छन्। उनका अनुसार कहिले राजीनामा दिन लागेको हल्ला फैलाउने, कहिले प्रस्तुत पत्रको बुँदालाई तोडमोड गरी सभापतिको विकल्प खोजेको भनेर आरोप लगाउनेजस्ता गतिविधि संस्थापन पक्षबाट भइरहेका छन्।
उनले भनेकी छन्, “साइबर बुलिङ गर्ने र मिडिया ट्रायलमा रमाउनेहरूले खुला विशेष महाधिवेशनको सामना गर्ने हिम्मत गर्नुपर्छ। लाखौं कार्यकर्ता र शुभेच्छुकको विश्वास लिएर आएको जिम्मेवारी म साहसपूर्वक सम्हाल्न सक्छु।”
कार्कीले आफूलाई डर देखाउने प्रोपागाण्डा र हेपाहा व्यवहारबाट कहिल्यै पछि नहट्ने स्पष्ट चेतावनी दिएकी छन्।
