
काठमाडौं, भदौ ३१ – यस वर्षको बडादशैंमा टीका लगाउने शुभ साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा पर्ने भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको दुर्गा पक्ष अर्थात् नवरात्र असोज ६ गते सोमबार घटस्थापनासँगै सुरु हुनेछ। त्यस दिन बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको उत्तम साइत तोकिएको छ।
समितिका अध्यक्ष शम्भु प्रसाद ढकालका अनुसार विजया दशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गर्ने साइत छ। विसर्जनपछि दिनभर दुर्गा प्रसाद ग्रहण गर्न सकिने भए पनि टीका–प्रसाद ग्रहण गर्न चाहनेका लागि विशेष साइत ११:५३ बजे दिइएको छ।