
विराटनगर, भदौ १८ – विराटनगरका हार्डवेयर व्यवसायी सौरभकुमार बियानीलाई नक्कली भ्याट बिल प्रकरणमा आन्तरिक राजस्व कार्यालय विराटनगरले १ अर्ब ४० करोड बिगो जरिवाना र ६ महिना कैदको सजाय सुनाएको छ।
गत असार १६ गते पक्राउ परेका बियानीलाई सुरुवाती छानबिनमा १ अर्ब ३१ करोड जरिवाना तोकिएको थियो। तर विस्तृत अनुसन्धानपछि बिगो रकम थपिँदै अन्ततः १ अर्ब ४० करोड कायम गरिएको राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए।
‘न्यु सौरभ ट्रेडिङ’ र ‘बियानी एन्ड ब्रदर्स हार्डवेयर एन्ड मार्बल’ सञ्चालन गर्दै आएका बियानीलाई धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको हो। यससँग सम्बन्धित अन्य फर्महरूको समेत अनुसन्धान भइरहेको विभागले जनाएको छ।
विभागको यो निर्णयलाई अस्वीकार गर्न चाहने पक्षले २५ प्रतिशत धरौटी बुझाएर विभागमै पुनरवलोकन माग गर्न सक्नेछन्। त्यसपछि पनि चित्त नबुझे राजस्व न्यायाधिकरण हुँदै सर्वोच्च अदालतसम्म जाने कानुनी व्यवस्था छ।
नक्कली भ्याट बिल के हो ?
नक्कली भ्याट बिलमा वास्तविक रूपमा सामान वा सेवाको खरिद–बिक्री हुँदैन, तर कारोबार भएको देखाउने खालको कागजात तयार पारिन्छ। यस्तो झुटा विवरण खरिद र बिक्रीको विवरण मिल्दैन भन्ने ‘मिसम्याच’ बाट पत्ता लाग्ने गरेको कर अधिकारीहरूले बताएका छन्।
बियानी पक्राउको घटना पनि यही प्रक्रिया मार्फत खुलेको हो।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

