
काठमाडौं, साउन १६ – गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषधको भयावहता मुक्त बनाउने स्पष्ट अभिमुखीकरणका साथ सुरक्षा संयन्त्रहरूलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी रूपमा अघि बढाउन निर्देशन दिएका छन्।
शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागू औषध नियन्त्रण ब्युरो (एनसीबी) को स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, भण्डारण र प्रयोग देशको लागि दिनानुदिन बढ्दो चुनौतीको रूपमा देखिएको उल्लेख गरे।
“लागू औषधको असरले सडक दुर्घटना, आत्महत्या, साइबर अपराधजस्ता घटनामा वृद्धि भएको छ,” गृहमन्त्री लेखकले भने, “एक वर्षअघि सुरु गरिएको लागू औषधविरुद्धको महाअभियानले ठोस परिणाम दिन थालेको छ, त्यसले हामीलाई अझ गहिरो र लामो लडाइँतर्फ डोर्याएको छ।”
गृहमन्त्री लेखकले पछिल्लो एक वर्षमा लागू औषध नियन्त्रणको क्षेत्रमा विगतको तुलनामा उल्लेख्य प्रगति भएको दाबी गरे। युवापुस्तालाई केन्द्रविन्दुमा राखेर सञ्चालन गरिएको सचेतना र कारबाही अभियानले जनस्तरमै चेतनाको लहर ल्याएको उनको ठम्याइ छ।
“देशको मेरुदण्ड हो– युवा शक्ति। तर, उनीहरू नै लागू औषधको दलदलमा फसेको चित्र चिन्ताजनक छ। त्यसैले यो लडाइँ केवल प्रहरीको मात्र होइन, सबै तह र तप्काका नेपालीको साझा जिम्मेवारी हो,” उनले भने।
गृहमन्त्री लेखकले लागू औषध नियन्त्रण ब्युरोलाई विभागको संरचनामा रूपान्तरण गर्न पूर्वाधार र कार्ययोजना तयार पार्न प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशनसमेत दिए।