प्रधानमन्त्री ओलीसहित १६ जनाविरुद्ध मानव तस्करी आरोपमा उजुरी

काठमाडौँ, साउन १४ – सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना उच्च पदस्थ व्यक्तिहरूमाथि मानव तस्करीको गम्भीर आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौँमा औपचारिक उजुरी दिएका छन्। उनले हुलाकमार्फत पठाएको उजुरीमा प्रधानमन्त्री, वर्तमान गृहमन्त्रीदेखि पूर्व गृहमन्त्रीहरू र पूर्व श्रममन्त्रीसम्मलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्न माग गरिएको छ।
उक्त उजुरीमा प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक, उपसभामुख इन्दिरा राना, पूर्व गृहमन्त्रीहरू बामदेव गौतम, कृष्ण सिटौला, भीम रावल, विजयकुमार गच्छदार, शक्तिबहादुर बस्नेत, विमलेन्द्र निधी, बालकृष्ण खाण, रवि लामिछाने, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र पूर्व श्रममन्त्री डोलप्रसाद अर्यालको नाम समावेश गरिएको छ। पौडेलले यी सबै व्यक्तिहरूले पदको दुरुपयोग गर्दै मानव तस्करीमा संलग्न रहेको दाबी गरेका छन्।
यसअघि पनि उनले प्रधानमन्त्री ओलीसहितकै विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए। तर, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीका अनुसार सो उजुरी दर्ता प्रक्रिया अघि बढाउन नसकिने जनाएको छ।
प्राप्त जानकारी अनुसार पौडेलले यस प्रकरणमा दोषीलाई कानूनी कठघरामा उभ्याउन र पीडितका लागि न्याय सुनिश्चित गर्न दृढ अभियान थालेका छन्।

















