पौष-११, बुधबार/विराटनगर – कोशी प्रदेश सरकारले प्रदेश सञ्चार विधेयक प्रदेश सभामा पेश गर्ने तयारी गरेको छ। आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०८० प्रदेश सभामा पेश गर्ने निर्णय गरेका हुन्।
कोशी प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम समयमा नेकपा एमालेको अनिच्छाका कारण सञ्चार विधेयक तयार भए पनि अघि बढ्न सकेको थिएन। त्यसबेला सरकारले एकीकृत सञ्चार विधेयक तयार पारेको थियो।
विधायन समितिका तत्कालीन सभापति इन्द्रमणि पराजुलीले विधेयक संसदमा फिर्ता नपठाएका कारण त्यसमा छलफल नै हुन पाएको थिएन। प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सम्शेर राईका अनुसार मन्त्री परिषद् बैठकले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र संचालन कार्यविधि २०८० स्वीकृत गरेको छ।
आज बसेको मन्त्री परिषद्को बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्नका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता राईले बताए। त्यस्तै, प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौं वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।