News Portal

पोखरा एयरपोर्ट निर्माणमा भारतको अवरोध, विस्फोटक पदार्थ किन्ने प्रक्रिया दूतावासमै अड्कियो

७३६ पटक

केशवशरण लामिछाने
पोखरा : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनिया ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झमेला ब्यहोर्नुपरेको गुनासो गरेको छ । बिस्फोटक पदार्थ किन्न ६ महिनाअघिदेखि सुरु गरेको प्रक्रिया अहिलेसम्म पूरा नभएको उसको गुनासो छ ।

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध उप–समितिका संयोजक माधव कुमार नेपाल नेतृत्वमा आएको अनुगमन टोलीसँगको भेटघाटमा ठेकेदार कम्पनीका अधिकारीले उक्त गुनासो सुनाए । ठेकेदार कम्पनी सीएएमसीईका प्रोजेक्ट म्यानेजर जेरी याङले बिहीबार संसदीय समितिको टोलीलाई एयरपोर्ट निर्माणको गतिविधिबारे ब्रिफिङ गरेका थिए ।

सीएएमसीईका जनसम्पर्क अधिकृत कृष्ण चापागाईंका अनुसार अहिले एयरपोर्टको धावनमार्गको स्वरुप तयार गर्ने लगायत काम भइरहेको छ । त्यही क्रममा जमिन खन्दा निस्केका ठूला ढुंगा र कडा भूगर्भ फुटाउन बिस्फोटक पदार्थ आवश्यक परेको हो । पोखराको सेती नदीपूर्वको भूगर्भ सिमेन्टले जमाएको जस्तो अवस्थामा छ । बालुवा गेग्रान जमेको भूगर्भ चट्टानजस्तै कडा छ ।

तालुकवाला निकाय नागरिक उड्डयन प्राधिकरण, उड्डयन मन्त्रालय हुँदै अर्थ, गृह रक्षा हुँदै प्रक्रिया भारतीय दूतावास पुगेको जानकारी चापागाईंले दिए । उनकै भनाइमा बिस्फोटक पदार्थ भारतबाट किन्नुपर्ने हुँदा दूतावास हुँदै प्रक्रिया पूरा गर्नुपर्छ । ‘त्यहाँबाट पनि स्वीकृति मिलेपछि खरिदका लागि हामी एलसी खोल्छौं’, उनले भने । विस्फोटक पदार्थजस्ता सामग्री अहिलेसम्म नेपालले चीनतिरबाट नल्याएको हुँदा भारतकै भर पर्नुपरेको उनले सुनाए । मेसिनले ड्रिल गरी जमिन खनेरमात्रै साध्य नहुने देखिएपछि विस्फोटक पदार्थ चाहिएको बताइन्छ ।

चापागाईंका अनुसार एयरपोर्टको अहिलेसम्म १७ प्रतिशत काम पूरा भएको छ । जमिन सम्याउने र धावनमार्गको स्वरुप तयार गर्ने काम भइरहेको उनले बताए । टर्मिनल भवनको जग पनि तयार भइसकेको छ ।

संरचनाको डिजाइन स्वीकृतिमा समेट ढिला भइरहेको ठेकेदार कम्पनीको अर्काे गुनासो छ । सीएएमसीईले संरचनाहरुको डिजाइन परामर्शदाता कम्पनीको सुझावअनुसार बनाएको तर अहिलेसम्म स्वीकृत नभएको प्रोजेक्ट म्यानेजर याङले सुनाएका थिए । ‘विस्फोटक पदार्थ खरिद, डिजाइन स्वीकृत लगायत सरकारी प्रक्रियाहरु छिटोछिटो हुने हो भने डेडलाइनभन्दा अघि नै विमानस्थल पूरा गर्छाैं’, याङको भनाइ थियो ।

नेपाल सरकारले चिनियाँ ठेकेदार कम्पनीलाई सन् २०२१ जुलाई १० भित्र सक्ने गरी ठेक्का लगाएको हो । आयोजना लागत २२ अर्ब रुपैयाँ छ । नेपाल सरकारले ठेकेदारलाई पेस्की स्वरुप २० प्रतिशत रकम उपलब्ध गराइसकेको  छ ।पूर्व प्रधानमन्त्रीसमेत रहेका सांसद नेपालले बिहीबार ठेकेदार कम्पनी, नागरिक उड्डयन प्राधिकरण र परामर्शदाता कम्पनीका अधिकारीहरुसँग छुट्टाछुट्टै भेटेका थिए । उनले विमानस्थल छिटो निर्माण गर्न निर्देशन दिए । नेपालले धेरैभन्दा धेरै पर्यटक पोखरा आउने हुँदा त्यसैअनुसार विमानस्थललाई चाहिने जमिन अहिल्यै अधिग्रहण गर्नुपर्ने पनि बताएका थिए ।

विमानस्थल निर्माण जारी रहँदा पनि कतिपय जमिन अधिग्रहणको काम पूरा भएको छैन । पोखरा विमानस्थल निर्माण पूरा भइसकेपछि आवश्यक हुने आकाशमार्गका लागि पनि भारतले अहिलेसम्म स्वीकृति दिएको छैन अन्नपूर्णमा समाचार छ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...