~ श्रीराम बस्याल ‘स्वरुप’
अझै कति लिटर दूध बगाउनुपर्छ
ती शिबलिंगहरु चोख्याउन,
र पत्थरहरु कहाँ कहाँ ठोकाउनु पर्छ
ती आकृतिहरु कुद्न,
आफ्नो भविष्य कतिन्जेल राख्नुपर्छ
ती ज्योतिषीका हातहरुमा,
र अझै कति सल्काउनुपर्छ
ती बारुदका सलाईहरु अगर बत्तिहरुमा।
हे ईश्वर बोलिदेउ, मेरी आमा
अझै कति समय दौडिनु पर्छ शितहरुमा,
र कति पुकारि रहनुपर्छ तिम्रो नाउँ
चिसो पानी ठोक्दै तालुहरुमा,
अझै कहाँ कहाँ पुग्नुपर्छ
गोसाइँकुण्ड, मुस्ताङ, चन्दननाथ,
कि पूरा नहुने हुन नझुकुन्जेल
ती कुँदीएका पत्थहरुको माथ।
रजस्वला भएकी त्यो बहिनी
अझै कतिरात सिरेटोहरुमा बिताउनुपर्छ,
र नुहाईसकेपछि कति थोपा
चोखा तेलहरुले ती कपालहरुमा दल्नुपर्छ।
तँ पनि बोलिदे सरकार,
किन मेरो बुबालाई परदेशबाट भोट
हाल्नको लागि मात्र देश झिकाईन्छ,
र अझै कति दाजुहरुलाई देश भित्रैबाट
अयोग्य बनाई बिदेश पठाईन्छ।
साईन,कस र अल्फा, बिटाका किताबहरु
अझै कति समय रट्नुपर्छ,
र कति सन्तानले बुर्जुवा शिक्षा भन्दै
कहिलेसम्म बिरहका गित गाउनुपर्छ।
ए साहु आज तँ पनि बोल,
अझै कति बर्षसम्म जोतिसकेपछि
त्यो तेरो जमिन मेरो हुन्छ,
र मेरो पसिनाले उब्जाएको अन्नमा
मेरा छोराछोरीको पनि हक हुन्छ।।