
रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि स्थानीय पाठ्यपुस्तक प्रकाशन गरेको छ। नगरपालिकाले प्रकाशन गरेका ती पुस्तकहरू नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि लागू गरिएको जनाएको छ।
नगरपालिकाले विगतदेखि नै स्थानीय विषयवस्तुबारे विद्यार्थीलाई जानकारी गराउँदै आए पनि अहिले पुस्तककै रूपमा सामग्री समेटेर अध्ययन–अध्यापन सुरु गरिएको हो। पाठ्यपुस्तकमा नगरभित्र रहेका मठमन्दिर, धार्मिक स्थल, विभिन्न हाटबजार, स्थानीय संस्कृति, सामाजिक गतिविधि, कला, भाषा तथा ऐतिहासिक पक्ष समावेश गरिएको छ।
स्थानीय परिवेश र पहिचानलाई पुस्तकमा समेटिएकाले विद्यार्थीहरूले आफ्नै गाउँठाउँबारे प्रत्यक्ष ज्ञान हासिल गर्न पाएको नगरपालिकाको विश्वास छ। स्थानीय विषयवस्तु समेटिएको पुस्तक अध्ययन गर्न पाउँदा विद्यार्थीहरू उत्साहित भएका छन्। आफ्नै समाज, संस्कृति र स्थानीय गतिविधिबारे किताबमार्फत अध्ययन गर्न पाउँदा सिकाइ प्रक्रिया अझ प्रभावकारी र व्यवहारिक बन्ने अपेक्षा गरिएको छ।
नगरपालिकाका शिक्षा अधिकृत लिला ओझाका अनुसार स्थानीय पाठ्यपुस्तक प्रकाशनले विद्यार्थीहरूको पठनपाठनमा थप सहजता ल्याउनेछ। उहाँले पुस्तकमा नगरभित्रका विभिन्न स्थान, गतिविधि तथा दृश्यहरूको रङ्गीन चित्रण समावेश गरिएकाले बालबालिकाहरू थप आकर्षित हुने र सिकाइ प्रक्रिया सहज बन्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार स्थानीय स्तरका हरेक गतिविधि, संस्कार, संस्कृति तथा ज्ञानलाई पुस्तकमा समेटिएकाले विद्यार्थीहरू आफ्नो समाजसँग अझ नजिक हुनेछन्। नगरपालिकाले शिक्षा क्षेत्रलाई स्थानीय पहिचानसँग जोड्दै गुणस्तरीय शिक्षाको विकासका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।