कुनै समय पुर्वको कर्णाली भनेर चिनिएको भोजपुर आज सुगम जिल्लाको सूचीमा पर्छ। सुगम हुनु र दुर्गम हुनु यहाँको जनताको कुनै दोष थिएन जे थियो राज्यको हातमा थियो। मैले थाहा पाउदा हप्तामा एक पटक काठमाडौ र एक पटक बिराटनगरबाट हवाईजहाज भोजपुर आउथ्यो। काठमाडौबाट जहाज आउँदा हाम्रो गाउँमाथीबाटै उडेर सदरमुकाम तिर जान्थ्यो। सदरमुकामदेखी अलि तल टक्सार भन्ने ठाउँमा छ विमानस्थल। त्यो बेला गाउँबाट ढाकर बोकेर चतरा नुन तेल बोक्ने चलन थियो। आखेहरु जवान हुँदा अक्करको बाटो खोलेको थिएन रे गाईघाट जानु हुन्थ्यो रे नुनतेल बोक्न। पछि अक्करको भिरमा बाटो खोलेपछि चतरा चल्तिमा आएको हो रे। जनयुद्धको अन्त्यसंगै खच्चडबाट भारी बोकाउने लहर चलेको थियो। अहिले सडक संजालले पुरै परिवर्तन भएको छ। भोजपुरमा सडक संजाल आएको हिजोअस्तिको कुरा हो।
हाम्रो गाउँबाट उमेर हुनेहरु बिहान चाडै सदरमुकाम पुगेर सानोतिनो काम सकेर रात अबेरसम्म गाउँ फर्किन सक्थे तर केटाकेटी र बुढाबुढीको लागि सदरमुकाम एक दिनको बाटो थियो।
सानैमा आबाको मृत्यु भएपछि घरमा आखेको आशा भरोसा म र आले (भाइ) थियौँ। आले सानै थियो। एक दिन किनमेल र अड्डा अदालत सरकारी कार्यालय चिनिराख्नु पर्छ भनेर आखेले मलाई सदरमुकाम साथि लिएर जाने हुनुभयो। बिहान ३ बजेको थियो आमा उठेर घर वरपर सरसफाइ गर्दै मतानको चुलोमा भैंसीलाई खोले पकाउदै हुनुहुन्थ्यो। मामले झोलामा एक घान भुटेको मकै, अलिकती काक्राको खल्पी र चाम्रे पकाएर ठिक पार्दिनु भएको रहेछ। म त्यो झोला बोक्ने परे, आखेले अर्को ठूलो झोलामा के-के बोक्नु भएको थियो थाहा पाईन। अघिल्लो बेलुका नै बासको भाटा फुटाएर अगेनामा सुकाएर राखेको एक मुठा राको बालेर आखे र म सदरमुकाम तिर हिड्यौ।
त्यो बेला टर्चलाईट बाल्दा माओवादी हो भनेर शाहिसेनाले दु:ख दिन्छ भन्ने हल्ला चलेको थियो। हुनेखानेहरुको घरमा १/२ वटा टर्चलाईट हुन्थ्यो नै तर आम जनतामा टर्चलाईट भन्दा शाहिसेनाको डर थियो। अधेरी रातमा राको बालेर हामी घर माथिको मानेडाडा कटेर मुलधारा तिर लाग्यौ, बाटो अलिक अफ्ट्यारो रछ लड्लास है ! हेरेर आईज ! आखेले मलाई बाटोको अवस्थाबारे जानकारी दिदै अगाडि अगाडि हिड्नुभयो, म आखेको पछिपछि लागे। ठुलाबारी नजिकै जङ्गलभित्र भिरमा देविथान छ, हामी देविथान मुनि पुग्दा माथि भिरतिर कोइली चरा कराउँदै थियो। बाटोमुनी मृगहरु बसेको रहेछ हामीपुगे पछि डरले एक जोडि मृग बाटोमाथी तिर निस्कियो।
अलि अगाडि छ्याम्पे खोलामा काठको साघु थियो, माओवादीहरु र गाउँले मिलेर बनाएको साघु हो यो। त्यही साघुको भित्तामा चौतारा र छेउमा धारा थियो। अलिक पहिला पान्धारेमा तृतियाबजार लाग्ने दिन आमा र म रक्सी पार्नु र बेच्नु यहीँ चौतारामा आउथिउ तर अचेल माओवादीले रक्सी बेच्न बन्द गरेकोले हामी आउन छोडेको धेरै भयो। आखे र म साघु तर्दै गर्दा साघु मुनि तिर केही कुदेको जस्तो आवाज आयो। बिहानै तर्सायो केटा काम हुन्छ हुदैन ! आखेको यस्तो कुराले मलाई अलिअलि डर लाग्यो छिटोछिटो आखेलाई पछ्याईरहे। गाउँमा त्यो बेला तर्साउने र भुतको ठुलो चल्ती थियो। अलि अगाडि नागीसम्म आईपुग्दा हाम्रो राको आधा सकिन लागेको थियो। मुलबाटो भएकोले हिँड्न त्यति असहज थिएन। अगाडि हिले खोला तरेर हिटिधारासम्म पुग्दा हाम्रो राको सकियो। राको सकिदा मिरमिरे उज्यालो भएकोले नजिकबाट बाटोहरु देख्न सकिन्थ्यो। ज्वाला निभेको राकोमा झिल्का र कोईरालाहरु बाकिनै थियो नजिकै जमेको पानीमा बचेको राको चोबेर हामी सदरमुकाम तिर लाग्यौं।
रचने गाउँ कटेर शिवालय पुग्दासम्म वारिपारी देख्न सकिन्थ्यो। म गाउँहरुको नाम सोध्दै आखेको पछिपछि हिडिरहे, हेर्दाहेर्दै हामी गोगने खोला तरेर उकालो निस्किन थाल्यौ। ओरालो बाटो हुँदासम्म त ठिकै थियो तर उकालोमा मेरो पाहिला चल्न मानेको थिएन। गोगने खोलाको भिरसंगैको उकालो बाटो, सल्लाको सिलिपिरको चिप्लोमाथि बल्लतल्ल असिनपसिन हुँदै नवमीडाडा पुग्दा घाम माथी टेम्केडाडालाई चुम्दै गाउँसम्म झरिसकेको रहेछ। नवमीडाडा अगाडि धारामा पुगेर हामिले मुख धोयौ, केही घुड्की पानी पिएर फेरि गफिदै आगाडि बढ्यौ। बाटोमाथीको घर देखाउदै “उ त्यो माथ्लो चै घर तेरो मीतबाउको घर हो चिनी राख्नु।” आखेले मलाई मेरो मीतबाउको घर देखाउनु भो मैले चिने भनेर मुन्टो हल्लाए।
ठाउको नामहरु बतासे, अलि तल ददिपुर अलि माथी कोटडाडा अलि अगाडि सिक्तेल खाल्डे, आहाले यस्तैयस्तै … हामी ठाउँठाउँमा पानी पिउदै अगाडि बढी रह्यौ खोलाको आवाज आउने ठाउँमा जोले आँपको ठुलोठूलो दुई वटा रुख रहेछ। त्यसैको फेदमा केही छिन बस्यौ। भोक लाग्न थालिसकेको थियो तर आखेले खाना खाने कुरा नै गर्नु भएन, अझै केही तल झरेपछि पिखुवाखोला आईपुग्यो। पिखुवाखोला छेउको खेतमा बाख्रा र गोरुहर चर्दै थिए, केही मानिसहरु खोलामा माछालाई जाल हान्दै थिए। हामी खेत छेउको बन्माराको सेतो फूल चुडेर झोलुङ्गे पुलमा चढाएर हात जोड्दै खोला तर्यौ। पुलको दुबैतिर पाती र फूल चढाएर थुप्रो परेको रहेछ। खासमा त्यो फूल पुललाई होइन पिखुवा खोलालाई चढाएको हो रे ! आखेले भन्नू भएको। खोलालाई किन फूल चढाउने गरेको होला मनमा धेरै कुराहरु खेल्यो। पुलको छेउमा चढाएको फूल खोलालाई कसरी होला ! यस्तैयस्तै सोच्दै खोला तरेपछी अत्यास लाग्दो उकालो, सालको रुखहरु, सेतो बन्मारा घारिको बिचैबिच अप्ठ्यारो खोल्सै खोल्साको ढुङ्गे बाटोमा बेलाबेला मानिसहरु भेटिन थालियो। कसैसंग जम्काभेट हुने कसैले जितेर जाने। भेट्नेले आखेलाई सोध्ने कहाँबाट आउनुभयो दाई / काका/ बाजे ? अहिले कति बज्यो ? जवाफ हुन्थ्यो फुङ्ग्रेबाट आएको तर हाम्रो जवाफले मानिसहरूमा अर्को प्रश्न जन्माउथ्यो ! कहाँ पर्छ यो गाउँ ? कसैलाई गोगनेमा भन्थिउ, कसैलाई हिले पारिको गाउँ हो भन्थिउ त कसैलाई पान्धारे नजिकै।
पालुवा भन्ने गाउँ मुनिको उकालो जङ्गलमा मलाई हिड्न धेरै कठिनाइ भयो। बेलाबेला आखेले हातमा पक्रेर तान्दै हिडाउनुभयो। निक्कै कठिनाइ झेलेर बल्ल गाउँमा निस्कियौ। पालुवा गाउँमा तामाङ बस्ती रहेछ। पालुवाको मानिसहरूले आखेलाई चिने जानेको हुँदा बोलचाल गर्दै हामी उकालो निस्कियौ। निक्कै कठिनाइ पछि बल्ल अलि सजिलो बाटो आयो मुख्य उकालो सकिएछ। सानो धारा नजिकै ढुङ्गामा बसेर हामिले चाम्रे र काक्राको खल्पी खायौ ! घरमा आमाले नपोखी खा भन्दा आधि भुइँमा झारेर खाने बानी थियो मेरो तर त्यो दिन मैले एक सीता पनि झारिन। आमाले भन्नूहुन्थ्यो खाना फाल्नुहुन्न भोजन भन्दा भोक मीठो हुन्छ। सायद मलाई त्यो दिन भोजन भन्दा भोक मीठो भएको थियो।
हामी सदमुकामको एकदमै नजिक पुगिसकेको थियौ। डबलीबजारको एक छेउबाट माथी भोटेपसल तिर जाने बाटो रहेछ। हामी निस्किदै थियौ बाटोमा बसेको प्रहरीको एक टोलिले हाम्रो बाटो रोक्यो ! कहाँबाट आएको ? के छ झोलामा ? यस्तैयस्तै प्रश्नहरु प्रहरीबाट आयो। आखेले फुङ्ग्रेबाट आएको भन्नूभयो। जवाफ सुनेर प्रहरी मध्ये एउटाले भन्यो कहाँ छ यो हुङ्ग्रेगाउँ ? आखेले फुङ्ग्रे भनेको प्रहरीले हुङ्ग्रे सुनेछ ! पछि गोगने गाविस वडा नम्बर ६ मा पर्छ भनेपछि हाम्रो झोला खानतलासी गरेर हामिलाई बाजार तिर जान दिईयो।
मैले सोधे आखे किन यो प्रहरीले हामीलाई छेकेको ? माओवादी हो कि भनेर नि ! आखेको जवाफसंगै म मौन भएर आखेको पछिपछि लागे। शाहीसेना र प्रहरीले माओवादी चिन्छस भन्दा चिन्दिन भन्नुपर्छ नत्र मार्छन भनेर घरमा आमाले सुनाउनु भएको थियो। म गाउँ बस्ने केटाकेटी एकैठाउमा टासिएको घरहरू, जताततै फोहोर, सेना, प्रहरी र मानिसको भिड देखेर म चकित भए। मेरो लागि सदरमुकाम धेरै ठूलो शहर र नौलो थियो।
हामीले आखेको चिनजान भएको एउटा नेवार साहुजिकोबाट केही थान कपडा किन्यौ, आखेले त्यहाँ आसपास सिडियो कार्यालय, अदालत, ठाना र नेपाल बैंक चिनाउनुभयो। हामी जिविस गयौ त्यहा मलाई बाहिर बस्दै गर भनेर आखे जिल्ला विकास कार्यालय भित्र जानूभयो म बाहिर बसे भित्र के-के काम भयो केही थाहा पाईन। त्यहाँ नजिकै ३ वटा मुर्ती थियो त्यसैको ठिक अगाडि बाटोमा कराई जस्तो टोपी लगाएर बन्दुक बोकेका शाही सेनाको समूहहरु बाटोमा हिडिरहन्थे। घोडा चडेर शाहीसेना हिडेको पहिलो चोटि देख्नु पाए। मन भित्रभित्र ठुलो भएर शाहीसेना बन्ने रहर जाग्यो।
निक्कै बेरमा आखे काम सकेर निस्कनुभयो। हामी बाटैबाटो भोटेपसल तिर जाँदै थियौ अचानक मानिसहरु बाटो खाली गरेर बाटोको छेउतिर लागेको देखेर हामी पनि बाटोको किनारा तिर लाग्यौ, उताबाट एउटा ठूलो कालो रङ्गको बोका आउदै रहेछ केही छिनमा बोका हाम्रो छेउमा आईपुग्यो। नमिठो गन्हाउने बोकाले मानिसले हातमा बोकेको खानेकुरा खोसेर खाईदिने रहेछ। धन्न हामीसंग हातमा केही थिएन। यो बोका सिद्धकाली मन्दिरमा बलि चढाउनु लाग्दा आँशु झारेकोले खुल्ला छोडेको भनिदो रहेछ। केहिछिनमा बोका आफ्नु बाटो लागेपछी हामी भोटेपसल पुगेर साबुन चिनी मट्टीतेल किन्यौ। ओरालो झर्नेबेला आखेले मलाई एक प्याकेट दालमोट किन्दिनुभयो। आले र नानालाई नरिवल चक्लेट ! हामी अब फर्किनुपर्ने थियो दिनको ३ बजि सकेकोले हत्तार गर्दै फेरि ओरालो झर्न थाल्यौ। डबलीबजार मुनि पुगेपछि सोधे, आखे हाम्रो घर कता छ ? आखेले उभिएर अगाडिको अग्लो पहाड देखाउनु भयो। पारिको अग्लो पहाड त हाम्रो घर माथिको टेम्के डाडा रहेछ, त्यही मुनि छ हाम्रो गाउँ हेर्दै अत्यास लाग्दो कहिले पुग्ने ! त्यो दिन पहिलो चोटि मैले टाढाबाट गाउँ माथिको टेम्केलाई हेरेको थिए। मनमा कहिले घर पुग्ने भनेर पिर लाग्यो।
पालुवाको ओरालो झर्दा धेरै समय लागेन फेरि पिखुवा खोलाको पुलमा बन्माराको सेतो फूल चढाएर पारी तर्यौ, बाटोमा सदरमुकाम आउने र फर्किनेको भेटघाट हुँदै थियो बल्लतल्ल जोलेआँपसम्म निस्किएर एकछिन बस्यौ, साझ पर्न लागेको थियो। पारीपट्टीको पालुवा गाउँलाई घामले छोडेर गईसकेको थियो। हामी बिस्तारै माथी आहालेसम्म निस्किदा झमक्क हुन लागेको थियो। अलि बल गरेर हिँड्नुपर्छ नत्र गोगने नै पुगिदैन। आखे भन्दै हुनुहुन्थ्यो म सकेसम्म पछ्याई रहेको थिए।
त्यो उकालो बाटो हामी भुटेको मकै खादै अगाडि बढ्यौ। मेरो खुट्टा धेरै दुखिरहेको थियो तर नहिडे घर पुगिदैन भन्ने भएकोले आखेको पछिपछि हिडिरहे। बाटोमा भेट्नेले आखेलाई कहाँ पुग्ने हो काका / दाइ / बाजे भनेर सोध्थे। फुङ्ग्रेसम्म भन्दा मानिसहरू कहाँ हो यो फुङ्ग्रे भन्थे। आखेले थप जानकारी दिदै गाउँ चिनाउनुहुन्थ्यो। मानिसहरु हिले, राउते , पान्धारेगाउँ चिन्ने तर मेरै गाउँ किन नचिनेको होला ? मनमनै म भित्र यस्तै प्रश्नहरु चलिरहे। हामिले मितबाउको घर नजिकैको घरमा राको माग्यौ। राको दिने घरको मानिसले पनि कहाँ पुग्नुपर्ने होला भनेर सोध्नुभयो आखेले फुङ्ग्रे भन्नूभयो। कहाँ हो यो गाउँ ? फेरि अर्को प्रश्न आयो ! आखेले राउते छेउमा भनेर भन्नूभयो। राउते भने पछि त्यो मानिसले आज पुगिन्छ त ! भन्दै राको बालेर दिनुभयो। माथी गोगनेको शिवालयसम्म पुगिन्छ कि भनेको ! आखेले जवाफ दिएपछि हामी राको बोकेर गोगने खोलापारिको ओरालो बडो मुस्किलले झरेर गोगनेको उकालो चढेर गाउँमा निस्कियौ।
थाकेर हैरान भईसकेको थिए तर पनि आखेलाई प्रश्न सोध्न छोडेको थिईन। हिन्दाहिन्दै हामी शिवालय आईपुग्दा राती १० बजि सकेको रहेछ त्यहाँ नजिकै आखेको आस्याङ(मामा)को छोराको घर थियो। हामी त्यहि पुग्यौ। म थाकेर हैरान थिए माम आखेले खाना पकाउनु थाल्नुभयो। चुल्हो नजिकै बसेर आखेहरुले आईराख खादै गफिदै हुनुहुन्थ्यो म भुसुक्कै निदाएछु पछि खाना खान उठ भन्दापो ब्युझिए। उठेर निन्द्रामै खाना खाएर भुसुक्क निदाएछु।
बिहान आखेले उठाउनु भो घाम झुल्किन लागेको रहेछ हामी उठेर घर तिर हिड्यौ। खुट्टा दुखेर हिड्न धेरै गाह्रो भएको थियो। जसोतसो म आखेलाई पछ्याउनु थाले। आखे हाम्रो गाउँलाई किन मानिसले चिन्दैन ? बाटोमा मैले आखेलाई सोधे। आखेले गम्भीर भएर भन्नूभयो, हाम्रो गाउँको पुरानो नाम फुग्रेन थियो रे मेरो आगुको पाला तिर आगुहरुलाई जिमुवालहरुले हेपेर गाउँको नाम नै फुङ्ग्रे राख्दिएको भन्ने सुनेको हु। हामी भोटेहरुलाई सबैले दमन गरेकोले यहाँ हाम्रो पहिचान मासिदिएको छ। पहिला मेरो आबा, आगुहरुले भाषा बोल्दा गाईखाने भाषा नबोल भनेर भाषा बोल्नै प्रतिबन्ध गरेको थियो रे त्यसैले हामिले पनि भाषा बोल्न अलिअलि गर्दै भुल्न थालियो। छोराछोरीलाई सिकाउन पनि पाएनौ अब झन तिमीहरुलाई कस्ले सिकाउने ! फुग्रेन भनेको हाम्रो भाषाबाट राखेको नाम भएको हुँदा हाम्रो गाउँको नाम नै बिगारेर फुङ्ग्रे बनाई दिएको भएर हाम्रो गाउँको नाम कसैले चिन्दैन। अझ इतिहासमा यहाँको तामाङहरुलाई फसाउने धम्काउने भारी बोकाउने र घरको कुलपुजा गर्न समेत प्रतिबन्ध गरेकोले म्हेमेहरुले राती कुलपुजा गर्नु थालेको भनेर मेरो आकुले भनेको हो। आखेको यस्तै कुरा सुन्दै हामी घर पुग्दा आमा र माम हामीलाई खाना खान पर्खेर बस्नु भएको रहेछ।
त्यही दिनदेखि म आफ्नु गाउँको नाम र वास्तविकता बारे खोजिरहेको छु। प्राचीन नाम फुग्रेनको बारे खोजी गर्दा यो आसपासमा सबैभन्दा पहिला जङ्गल फाडेर हाम्रै गाउँमा तामाङहरु बसोबास गरेको र यहीँ ठाउँमा घर बनाई चुलो बसाएकोले गाउँको नाम नै फुग्रेन राखिएको रहेछ। हाल यहि ठाउँ पुर्खाको बसोबास भएर यसको वरपर लेखर्क गोगने र खम्बुखासम्म र भोजपुर सदरमुकाम आसपास काठमाडौ, तराई धरान, इटहरी, दमकलगायतमा तामाङ(घिसिङ)हरुको बसाईसराइ हुँदै बसोबास फैलिएको पाहिन्छ।
तामाङ भाषामा फुग्रेन भनेको मुख्य चुलो वा मुल चुलो भन्ने अर्थ हुन्छ। इतिहासमा यहाँको तामाङहरुलाई दमन गरि अपमानित गरेर गाउँको नाम नै फुङ्ग्रे बनाइएको रहेछ। आज वर्तमानमा पनि त्यही अपमानित गरेर बनाएको नामलाई समेत आसपासको ठाउँको मानिसले मात्र होइन गाउँपालिकाको जनप्रतिनिधिलेसम्म चिन्दैन। यहाँको पानीको मुललाई आज पनि भोटेमुल भनेर चिनिन्छ। इतिहासको फुग्रेन गाउँमा वर्तमानमा बस्ती सकिएर जङ्गल हुँदै गएको छ बाकी रहेको केही घरमा राज्यको आखाले देख्दैन। आज फुग्रेन वर्तमानको सुगम भोजपुर जिल्ला भित्र परेर पनि पिछडिएको कर्णालीको भन्दा जर्जर स्थिती छ, गाउँ वरपर भएको जङ्गलमा पनि छिमेकी गाउँको हुकुम चल्छ, गाउँको लागि खानेपानीको दीर्घकालीन मुल नहुदा खानेपानीको अभाव खेपिरहनु परेपनि यहि गाउँको पुछारको भोटेमुलले तलको अरु गाउँका सयौ घरमा स्वच्छ खानेपानी दिएको छ। जुन गाउँले सयौ घरलाई पानी खुवाएको छ त्यही गाउँको मानिस काकाकुल हुनुको पीडा कस्ले बुझ्ने ! यहाँको केटाकेटीहरु स्कुल जादा वारीपारी खोला तरेर जङ्गलको अफ्ठ्यारो बाटो हिड्नु परेको छ। बालबालिकालाई भिटामिन खुवाउनसमेत अर्को वडाको गाउँमा जानुपर्ने बाध्यता छ। यहि बाध्यताले गाउँमा रहेको बस्ती आज ३/४ घरमा सिमित हुँदै गएको छ। यहाँको तामाङहरुलाई अन्यत्रको तामाङहरुले तामाङ नै होइन भन्नसम्म भ्याएको देख्दा मन अमिलो हुन्छ। मेरो गाउँको जस्तो नाम, इतिहास र भाषा तथा परिचय हराउने नेपालभरी कति गाउँहरु होलान् ! त्यस्ता गाउँहरुको अवस्था मेरो गाउँको जस्तै होला कि कस्तो होला ? यसैगरी गाउँसगै गाउँको इतिहास, नाम र पहिचानहरु हराउँदै जाने यहाँको जनताको भाषा रितिथिती मेटिदै जाने हो भने यसको जिम्मेवार राज्य हुन्छ कि यहाँको निर्दोष जनता ?