आज : २०२६-०७-०९, बिहीबार

लोकन्थलीमा सडक कुकुरको बहादुरी, चोरी रोक्दै ज्यान जोखिममा

भक्तपुर, भदौ ९ – भक्तपुरको लोकन्थलीमा एक सडक कुकुरले चोरीको प्रयास रोक्दा आफ्नो ज्यान जोखिममा पारेको छ। घटना २०८२ भदौ ७ गते मध्यरातको हो, जब नेपाल विद्युत् प्राधिकरणले राखेका महँगा तार चोरी गर्न चोरहरूको समूह त्यहाँ पुगेको थियो।

सडक कुकुरले चोरहरूको गतिविधि देख्ने बित्तिकै भुक्न थाल्यो। यसको आवाज सुनेर आसपासका अन्य कुकुर र स्थानीय बासिन्दा पनि जागेका थिए। चोरहरू तितरबितर भए तापनि, कुकुरले उनीहरूलाई पछ्याउन छाडेन। रिसाएका चोरहरूले कुकुरलाई धारिलो हतियारले घाइते पारे।

पशु कल्याण संस्था टी.एफ.सी नेपालका सञ्चालक तुलाराम राजवंशीका अनुसार, कुकुरको नशामा चोट लागेको र रगत बगिरहेको थियो। घाउ गहिरो नभएकाले समयमै उपचार सम्भव भयो। स्थानीयहरूले तुरुन्तै टी.एफ.सी नेपाललाई खबर गरे र उद्धार टोलीले कुकुरलाई अस्पताल पुर्‍यायो। अहिले कुकुरको स्वास्थ्यमा सुधार भइरहेको छ र स्थानीयले हेरचाह गर्दै आएका छन्।

राजवंशीले भने, “यो कुकुरले आफ्नो ज्यान जोखिममा राखेर समुदायलाई ठूलो नोक्सानीबाट जोगायो। सडक कुकुरहरूको योगदान प्रायः हाम्रा नजरमा आउँदैन, तर उनीहरूले हाम्रो सुरक्षा र सम्पत्तिमा महत्वपूर्ण भूमिका खेल्छन्।”

लोकन्थलीका बासिन्दाहरूले यस घटनापछि सडक कुकुरको हेरचाह, स्वास्थ्य र सुरक्षा प्रतिको ध्यान बढाउने प्रतिबद्धता जनाएका छन्। यस घटनाले समुदायमा सडक कुकुरप्रति सकारात्मक दृष्टिकोण र जागरूकता फैलाएको छ।