आज : २०२६-०६-२१, आइतबार

धनगढी यातायातका पूर्वहाकिमसहित ३ जनाविरुद्ध मुद्दा

असार ८, २०८० धनगढी। यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन निमित्त प्रमुख लक्ष्मण शाहसहितका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमती पत्रको परीक्षामा सहभागी परीक्षार्थीको परिणाम फेरबदल गरेको दाबीसहित अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका केन्द्रीय प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा शाहले सवारी चालक अनुमती पत्रको लिखित परीक्षामा सहभागी १८० जना र प्रयोगात्मक परीक्षामा २८३ जना परीक्षार्थीहरुको परीक्षाको परिणाम फेरबदल गरेको देखिएको उल्लेख गरिएको छ।

शाहले लिखित परीक्षामा सहभागी १३ जनाको उत्तर पुस्तिकाहरूको नतिजा/प्राप्तांक र २३ जनाको नतिजा/प्राप्तांक सच्याएको पनि भनिएको छ।

शाहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको पुष्टि भएकाले सोही ऐनको दफा ११ र दफा १३ बमोजिम कैद र जरिवाना सजायको माग दाबी गर्दै आरोप पत्र विशेष अदालतमा दायर गरिएको अख्तियारले जनाएको छ।

यस्तै, सोही कार्यमा तत्कालीन करार सेवामा सहायक कम्प्युटर अपरेटरमा कार्यरत नरेन्द्रकुमार कठरिया र पवनकुमार रावलकोसमेत संलग्नता देखिएकाले उनीहरुविरुद्धसमेत सजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको छ।