बाढीले गाउँ शोकमा, अध्यक्ष धादिङबेसीमा? गंगाजमुना गाउँ ,पालिकाकाे अध्यक्ष भूमिकामाथि आक्रोश ?

धादिङ । रसुवाको स्याफ्रुबेसी क्षेत्रमा भदौ १० गते बिहान आएको अप्रत्याशित बाढीपछि धादिङको गंगाजमुना गाउँपालिकाका करिब १४ जना स्थानीय अझै बेपत्ता रहेको बताइएको छ। बाढीमा परी केहीको मृत्यु भएको र केही घाइते भएको अवस्थामा बेपत्ताको खोजी कार्य भने अझै जारी रहेको छ।
बाढी तथा पहिरोका कारण आफन्त गुमाएका परिवारमा लामो समयदेखि पीडा र अन्योल कायम छ। बेपत्ता भएका पाँच जनाका परिवारले काठमाडौंमा १३औँ पुण्यतिथिसमेत सम्पन्न गरिसकेका छन्। तर, उनीहरूको अवस्थाबारे अहिलेसम्म स्पष्ट जानकारी भने छैन।
यसैबीच, विपद्को यस्तो संवेदनशील अवस्थामा गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाको भूमिकालाई लिएर स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ। स्थानीयका अनुसार बाढी प्रभावित परिवारको घरमा अध्यक्ष लामाको प्रत्यक्ष उपस्थिति नदेखिएको र गाउँपालिकाको कार्यालयमा समेत उहाँ नियमित रूपमा उपस्थित नभएको गुनासो छ।
स्थानीयले अध्यक्ष लामासँग सम्पर्क गर्न खोज्दा मोबाइल फोन सम्पर्कमा नआउने गरेको दाबी गरेका छन्। विपद्को समयमा जनप्रतिनिधिले पीडित परिवारसँग प्रत्यक्ष भेटेर राहत, उद्धार तथा खोजी कार्यमा समन्वय गर्नुपर्ने भए पनि अध्यक्षको उपस्थिति नदेखिएको भन्दै स्थानीय असन्तुष्ट बनेका छन्।
भदौ १० गतेको विपद्पछि विभिन्न स्थानीय तहका जनप्रतिनिधि उद्धार, राहत तथा पीडितको अवस्थाबारे स्थलगत अनुगमनमा सक्रिय भइरहेका बेला गंगाजमुना गाउँपालिकाका अध्यक्षको अनुपस्थितिले थप प्रश्न जन्माएको स्थानीयको भनाई छ।
यसैबीच, थाक्रे गाउँपालिका भएको सर्वदलीय बैठकमा समेत विभिन्न स्थानीय तहका प्रमुखहरूको सहभागिता रहेको अवस्थामा गंगाजमुना गाउँपालिकाका अध्यक्षको उपस्थिति नदेखिएको विषयमा पनि चर्चा भएको छ।
गाउँपालिका अध्यक्ष लामाको कार्यशैलीप्रति स्थानीयस्तरमा यसअघि पनि प्रश्न उठ्दै आएको स्थानीयको दाबी छ। उनी लामो समयदेखि गाउँपालिकाभन्दा धादिङबेसीमा बढी रहने गरेको र पालिकाको कामकाज तथा जनतासँगको प्रत्यक्ष सम्पर्क कमजोर बनेको स्थानीयको आरोप छ।
त्यस्तै, गाउँपालिकाबाट प्राप्त हुने पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी विषयमा पनि स्थानीयले प्रश्न उठाएका छन्। गाउँपालिकाको सवारीसाधन र चालकसमेत धादिङबेसीमा राखेर व्यक्तिगत निर्देशनमा प्रयोग भइरहेको भन्ने गुनासो स्थानीयबाट आएको छ।
यस विषयमा नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीसँग समेत टेलिफोन सम्पर्क गरी प्रतिक्रिया लिइएको लिदा अधिकारीले अध्यक्ष लामालाई उम्मेदवार बनाउने निर्णयप्रति आफूले पनि गल्ती गरेकाे प्रतिक्रिया नेपाली कांग्रेस धादिङका जिल्ला सभापति रामनाथ अधिकारीले हिमाली सचार अनलाइनसँगको कुराकानीका क्रममा गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामालाई उम्मेदवारका रूपमा टिकट दिने निर्णयमा आफूबाट गल्ती भएको स्वीकार गरेका छन्।
बाढीका कारण आफन्त बेपत्ता भएको लामो समय बितिसक्दा पनि अवस्था अज्ञात रहनु परिवारका लागि थप पीडादायी बनेको छ। यस्तो अवस्थामा बेपत्ताको खोजी, पीडितको उद्धार तथा राहत वितरणमा स्थानीय सरकारको प्रभावकारी समन्वय आवश्यक देखिन्छ।स्थानीयको मुख्य प्रश्न भने यही छ—विपद्को समयमा जनताको साथमा हुनुपर्ने गाउँपालिका अध्यक्ष कहाँ छन्?



















