आज : २०२६-०९-०८, मङ्गलबार

राहत बोकेका गाडीलाई समेत अवरोध, रसुवा–नुवाकोटको सडक दुर्दशाले पीडित झन् पीडामा

रसुवा/नुवाकोट । रसुवाको नौकुण्डा गाउँपालिकामा स्थानीयले सडक अवरुद्ध गरेपछि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिनाइ भएको छ। यता नुवाकोटको सूर्यगढी गाउँपालिकामा समेत सडकको अवस्था दयनीय हुँदा सवारीसाधन बाटोमै बिग्रिएर अलपत्र पर्ने अवस्था देखिएको छ।
बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत सामग्री लिएर नुवाकोटतर्फ जाँदै गरेका सवारीसाधनसमेत सडक अवरोधका कारण समस्यामा परेका छन्। स्थानीयले लामो समयदेखि सडक मर्मत तथा स्तरोन्नति नभएको भन्दै राहत बोकेका गाडीलाई समेत रोक्ने र अवरोध सिर्जना गर्ने गरेको बताइएको छ।
रसुवाबाट हिमाली सञ्चार अनलाइन मिडियासँग कुरा गर्दै अमर परियारले राहत लिएर नुवाकोटतर्फ जाने क्रममा आफूहरूले स्थानीय अवरोधको सामना गर्नुपरेको बताए। उनका अनुसार स्थानीयको मुख्य गुनासो सडक निर्माण तथा मर्मतमा सम्बन्धित निकायले बेवास्ता गरेको विषयमा रहेको छ।
परियारका अनुसार, “बाढीपीडितका लागि राहत लिएर जाँदा पनि स्थानीयले सडक नबनाएको भन्दै राहत बोकेका गाडीलाई बाटोमै रोक्ने गरेका छन्।” सडकको दुरवस्थाका कारण राहत सामग्री बोकेका सवारीसाधन सहज रूपमा गन्तव्यसम्म पुग्न नसक्दा विपद्को मारमा परेका नागरिक थप समस्यामा परेका छन्।
यता सूर्यगढी गाउँपालिकातर्फको सडकमा हिलो, चिप्लो र खाल्डाखुल्डीका कारण सवारी सञ्चालन नै जोखिमपूर्ण बनेको छ। सडककै कारण गाडी बिग्रिएर बीच बाटोमा रोकिँदा यात्रु तथा राहतकर्मीले समेत घण्टौँसम्म सास्ती व्यहोर्नुपरेको अवस्था छ।
विपद्को समयमा राहत पुर्‍याउने बाटो नै अवरुद्ध हुनु र सडकको दयनीय अवस्थाका कारण राहत सामग्री बोकेका सवारीसाधन अलपत्र पर्नु गम्भीर विषय बनेको छ।

एकातिर बाढीपहिरोले जनजीवन प्रभावित बनाएको छ भने अर्कोतर्फ सडक अव्यवस्थाले उद्धार तथा राहत कार्यलाई थप चुनौतीपूर्ण बनाइरहेको छ।
स्थानीयवासीले सडक तत्काल मर्मत तथा सञ्चालनयोग्य बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्। साथै, राहत तथा उद्धारमा खटिएका सवारीसाधनलाई निर्वाध रूपमा आवतजावत गर्ने वातावरण बनाउन स्थानीय तह, प्रशासन र सरोकारवाला निकायले तत्काल पहल गर्नुपर्ने आवश्यकता देखिएको छ।
विपद्को घडीमा सडक विकासको माग जायज भए पनि राहत बोकेका सवारीसाधन रोकिँदा त्यसको प्रत्यक्ष असर पीडित नागरिकमै पर्ने भएकाले समस्या समाधानका लागि संवाद, समन्वय र तत्काल सडक सञ्चालनलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।