News Portal

  • देउवाबाटै अवसर पाएका डा.स्वर्णिम वाग्ले देउवालाई नै दोष देखाएर निस्किए

    हिमालीसंचार संवाददाता
    २४३ पटक

    खेमराज थापा, काठमाण्डौं। २०७४ मा प्रधानमन्त्री भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय याेजना आयोगको उपाध्यक्ष बनाएपछि डा. स्वर्णिम वाग्ले चर्चामा मात्र आएनन्, संभावना बाेकेका अर्थविद्का रुपमा चिनिए । पाँच वर्षपछि उनै देउवालाई नै दोषकाे भारी बाेकाएर वाग्लेले विहीबार कांग्रेस परित्यागकाे घोषणा गरेका छन् ।

    देउवाबाटै अवसर पाएर राजनीतिक रुपमा स्थापित हुने मौका पाएका वाग्ले उनैसँग किन बिच्किए ? धेरैका लागि चासोकाे विषय बनेको छ । बालुवाटारमा मन्त्रिपरिषद् विस्तारकाे हाेमवर्क नटुंगिएका बेला वाग्लेकाे कांग्रेस बहिर्गमन विहीबार दिनभर राजनीतिक टिकाटिप्पणीकाे विषय बनेकाे छ । उनले राष्ट्रपति रामचन्द्र पाैडेलकाे आर्थिक सल्लाहाकारका लागि तीव्र पहल गरेकाे तर सफल हुन नसकेपछि कांग्रेस त्यागेकाे चर्चा पनि चलेकाे छ । शीतल निवास स्राेतहरूकाे दाबीअनुसार उनले विगत १५ दिनदेखि त्यसकाे पहल गरेका थिए । तर, डा चिरञ्जीवी नेपाल राष्ट्रपतिकाे आर्थिक सल्लाहाकारमा बुधबार मात्र नियुक्त भएका छन् । नेपाल नियुक्त भएकाे भाेलिपल्टै वाग्लेले पार्टी छाेडेपछि त्यसैकाे इगाेमा पार्टी छाेडेकाे हाे भन्नेहरूकाे तर्कमा बल पुगेकाे छ ।

    गोरखामा जन्मिएर चितवन स्थायी ठेगाना भएका वाग्ले संसदीय चुनाव लडेर संसद छिर्न चाहन्छन् भन्ने ४ मंसिरको चुनाव अगाडि नै देखिएको हो । त्यतिबेला कांग्रेस महामन्त्री गगन थापाले आफू चुनाव लड्दै आएको काठमाडौं ४ उनलाई छोडेर आफू सर्लाही जान तयार रहेकोसमेत सभापति देउवालाई बताएका थिए । तर, देउवाले वाग्लेलाई टिकट नदिने बताएपछि गगनले अन्तिममा काठमाडौं ४ बाटै चुनाल लड्ने निर्णय लिएका थिए । त्यसो त, डा. वाग्लेले सुरुमा चितवन १ बाट चुनाव लड्ने लविइङ गरेका थिए । तर, त्यहाँ देउवा शिविरबाट विश्व पौडेललाई टिकट दिइने भएपछि गगनले काठमाडौं ४ को विकल्प दिएका थिए । जुन सफल हुन सकेन ।

    लामो समय अमेरिका बसेर विश्व बैंकलगायतका संस्थामा काम गरेर अनुभव हासिल गरेर नेपाल फर्किएका वाग्ले २०७० सालमा कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा पहिलाेपल्ट राष्ट्रिय योजना आयोगमा इन्ट्री गरेका थिए । २०७३ मा उनी पुनः योजना आयोगको सदस्यमा दाेहाेरिएका थिए ।

    २०७४ मा देउवा प्रधानमन्त्री बनपछि उनी योजना आयोगको उपाध्यक्ष बने । राष्ट्रिय राजनीतिमा त्यसपछि उनी खास चर्चामा आएका हुन् । त्याे चर्चाकै कारण उनी प्रत्यक्ष राजनीतिमै भूमिका खोज्न थाले । त्यसपछि सभापति देउवाले उनलाई कांग्रेस महासमिति बैठक ताका २०७५ मंसिरमा महाधिवेशन तथा महासमिति सदस्य मनोनीत गरेर कांग्रेसको राजनीतिमा ल्याए । यसपछि उनी लगातार कांग्रेसमा सक्रिय भए । यहीबीच सन् २०१९ मा डा. वाग्लेले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को दक्षिण एसिया सल्लाहकार नियुक्त भएर अमेरिका गए ।

    २०७८ मा नेपालमा राजनीतिक उथलपुथल भई देउवा फेरि प्रधानमन्त्री बनेपछि डा. वाग्ले १८ महिना जागिर खाएर फेरि स्वदेश फर्किए । र, राष्ट्रिय योजना आयोगको उपाध्यक्षका लागि पहल गर्न थाले । तर, यतिबेलासम्म डा. वाग्लेका कुनैबेलाका सबैभन्दा मिल्ने मित्र डा. विश्व पौडेलले देउवा क्याम्पमा ठाउँ अाेगटिसकेका थिए । पौडेल देउवापत्नी डा. आरजु राणाको निकट भइसकेका थिए । जसले गर्दा डा. वाग्ले उपाध्यक्ष बन्न सकेनन् । उनकाे सट्टा पौडेल उपाध्यक्ष नियुक्त भए । यतिबेलादेखि नै डा. वाग्लेलाई बुढानिलकण्ठले रुचाउन छोडेको चर्चा हुन थालेकाे थियाे । त्यति मात्र होइन, देउवानिकट नेता-कार्यकर्ता वाग्लेको कुरा काट्न थालिसकेका थिए ।

    देउवा वाग्लेसँग कति असन्तुष्ट थिए भन्ने ४ मंसिरको चुनावले देखाउँछ । चितवन, गोरखा, काठमाडौं तीन ठाउँमध्ये एक ठाउँबाट चुनाव लड्न खोजेका डा. वाग्लेले कतैबाट टिकट पाएनन् । याेजना अायाेगमा उपाध्यक्ष नियुक्त डा पाैडेललाइ राजीनामा गर्न लगाएर चितवन १ मा उम्मेदवार बनाइयाे तर वाग्लेलाइ बाइपास गरियाे । कांग्रेसभित्रकाे बाैद्धिक नेता मानिने डा गाेविन्द पाेखरेललाइ उनैगरी टिकटबाट बन्चित गरियाे । त्याे बुझेरै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरू उनलाई चुनाव लड्न अफर गरेकाे उनी अाफैले स्वीकारेका छन् । ओलीको त्यो अफर अस्वीकार गर्दै डा. वाग्लेले ४ मंसिरको चुनावमा कांग्रेसको घोषणापत्र लेखेर बसे ।

    अहिले तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त स्थानमा उपचुनाव हुँदैछ । ४ मंसिरमा टिकट नपाएका डा. वाग्लेले उपचुनावमा कांग्रेसबाट लड्ने आशा देखेर पहल थालेका थिए । तर, पौडेल राष्ट्रपति उम्मेदवार भएकै दिन देउवाले कांग्रेस केन्द्रीय सदस्य गोविन्दराज भट्टराईलाई चुनावका लागि तयार रहन भनिसकेका थिए । बिहीबार उनै भट्टराईलाई चुनाल लडाउने कांग्रेसले निर्णय गरेको छ ।

    बिहीबार कांग्रेसको निर्णय सार्वजनिक भएपछि डा. वाग्लेले कांग्रेस त्यागेको घोषणा गरेका छन् । पार्टी छाड्नुअघि उनले कांग्रेस नेता डा. शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र डा. गोविन्द पोखरेललाई चिठी लेखे । चिठीमा उनले स्पष्ट रुपमा देउवा-आरजु गिरोहका कारण कांग्रेसमा बस्न नसक्ने स्थिति आएको उल्लेख गरेका छन् । उनले पार्टी त्यागेको घोषणा गर्दै लेखेका छन्, ‘जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’

    डा. वाग्ले अब कुन पार्टीमा जाने भनेर उल्लेख नगरे पनि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने र तनहुँ १ बाट चुनाव लड्ने तयारी देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले उनलाई पार्टीको टिकट दिएर उम्मेदवार बनाउने तयारी भएको बताएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    कांग्रेस बैठकमा गृहमन्त्री लेखक : एमालेसँग मिलेर सरकार चलाउन अप्ठ्यारो छैन

    काठमाडौं, असार १७ – गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहकार्यलाई सहज भन्दै आगामी निर्वाचनसम्म...

    कुलिङ पिरियड प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने गगन थापाको माग

    काठमाडौं, असार १७ – निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको विवादका कारण प्रतिनिधिसभाको गरिमा र सांसदहरूको...

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो...

    कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

    काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल...

    तीन बालिका तस्करीको प्रयासमा चार जना पक्राउ

    बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान...